मेसीलाई संन्यास फिर्ता लिन दबाब

असार १५, २०७३- अर्जेन्टिनाका महान डिएगो म्याराडोना र राष्ट्रपतिले लियोनल मेसीलाई अन्तर्राष्ट्रिय फुटबलबाट लिएको संन्यासको बारेमा पुनर्विचार गर्न आग्रह गरेका छन् । अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा सोमबार चिलीसँग पेनाल्टी सुटआउटमा ४–२ ले पराजय भएसँगै २९ वर्षे मेसीको निर्णय तत्काल आएको थियो ।

बार्सिलोनाका स्ट्राइकर मेसीले राष्ट्रिय टोलीबाट फाइनलमा भोगेको ९ वर्षमा त्यो चौथो पराजय थियो । ‘जसले मेसीले खेल्न छाड्नुपर्छ भनेर भनिरहेका छन्, तिनीहरू अर्जेन्टिना शक्तिशाली नहोस् भन्नेहरू हुन्,’ म्याराडोनाले अर्जेन्टिनी समाचारपत्र ला नासियनमा भनेका छन्, ‘मेसीले खेलिरहनुपर्छ ।’

अर्जेन्टिनालाई एकल प्रयासमा १९८६ को विश्वकप उपाधि दिलाउनुका साथै २०१० को विश्वकपमा प्रशिक्षण गरेका म्याराडोनाले भने, ‘मेसीले खेललाई निरन्तर दिनुपर्छ । किन भने उनी रुसमा जानेछन् र २०१८ को विश्वकपमा खेल्नेछन् ।

रुसको कन्डिसन यस्तो छ, जहाँ अर्जेन्टिना विश्व च्याम्पियन बन्न सक्छ । अर्जेन्टिनी टिमलाई अझ अगाडि बढाउन उनलाई अझ सहयोगको जरुरी छ ।’

चिलीसँग पाएको पराजयपछि मेसीले राष्ट्रिय टोलीका लागि खेल्न अब छाडिएको र अर्जेन्टिनालाई उपाधि दिलाउन नसकेकोमा पीडा रहेको बताएका थिए । फ्रान्सेली समाचार संस्था एएफपीका अनुसार अर्जेन्टिनी राष्ट्रपति माउरिसिओ माक्रीले मेसीलाई टिमले जुन प्रदर्शन गर्‍यो त्यसबाट आफू गौरवान्वित रहेको बताए । उनले मेसीलाई आलोचना नसुन्न भने । स्पेनिस क्लब बार्सिलोनाबाट मेसीले ८ लिग र ४ च्याम्पियन्स लिग उपाधि जितेका छन् । तर अन्तर्राष्ट्रियमा उनको प्रमुख उपलब्धि भनेको २००८ को ओलम्पिकमा अर्जेन्टिनालाई फुटबलमा स्वर्ण जिताउनु मात्र हो । अर्जेन्टिनाका स्ट्राइकर सर्जियो अगुइरो र गोलरक्षक सर्जियो रोमेरोले मेसीले आफ्नो
निर्णयमा पुनर्विचार गर्न सक्ने सम्भावना रहेको जनाएका थिए ।

‘उनले जति खेर यस्तो निर्णय लिए, त्यो आवेगमा थियो । किन भने हामीले राम्रो मौका गुमाएका थियौं,’ रोमेरोले भने, ‘मेसीबिना म राष्ट्रिय टोलीको कल्पना समेत गर्न सक्दिनँ ।’ अगुइरोले मेसीसँगै हाभियर मास्केरानो, गोन्जालो हिगुइनलगायत खेलाडी राष्ट्रिय टोली छाड्ने मनासयमा रहेको जनाएका थिए ।

अर्जेन्टिना लगातार दोस्रो वर्ष कोपा अमेरिकाको फाइनलमा चिलीसँग पेनाल्टी सुटआउटमा पराजित भएको हो । २०१४ को विश्वकपमा पनि अर्जेन्टिना फाइनलमा जर्मनीसँग पराजित भएको थियो । मेसीले अघिल्ला साता मात्र ग्याब्रियल बाटिस्टुटाको ५४ गोललाई उछिन्दै अर्जेन्टिनाबाट सर्वाधिक गोल गर्ने खेलाडी बनेका थिए ।

चिलीलाई उपाधि दिलाएका प्रशिक्षक जुवाँ एन्टोनिओ पिजीलाई खेल सकिएपछि पनि मेसीको निर्णय थाहा थिएन । उनले सो क्रममा भनेका थिए, ‘मलाई लाग्छ मेसी फुटबल इतिहासकै उत्कृष्ट खेलाडी हुन् । हुन सक्छ मेरो पुस्तामा त उनी नै उत्कृष्ट हुन् । उनको डिएगो म्याराडोनासँग तुलनै हुन सक्दैन । किन भने म्याराडोनाले जे गरे त्यो सबै छर्लङ छ । तर पनि मलाई लाग्छ मेसी नै उत्कृष्ट हुन् ।’
५ पटक बालेन डी’ओर जितिसकेका मेसी २००७ को कोपा अमेरिकाको फाइनलमा ब्राजिलसँग पराजित भएको अर्जेन्टिनी टोलीका सदस्य हुन् ।

२०१८ को विश्वकप छनोट यात्रामा अर्जेन्टिना अंक तालिकामा तेस्रो स्थानमा छ । शीर्ष स्थानको उरुग्वेभन्दा अर्जेन्टना २ अंकले मात्र पछाडि छ । दक्षिण अमेरिकी क्षेत्रबाट शीर्ष ४ टोली रुसमा हुने विश्वकपमा छनोट हुन्छन् । पाँचौं हुने टोलीले ओसियानिआको उत्कृष्ट टिमसँथ दुई लेगको प्लेअफमा प्रतिस्पर्धा गर्न पाउनुपर्ने प्रावधान छ । मेसीको संन्यासले अर्जेन्टिनाबाट प्रकाशित हुने समाचारहरूमा ठुलो प्रभाव पारेको छ । केही छापाहरूले मेसीले संन्यास फिर्ता लिनु पर्ने भन्दै सोसल मिडियामा अभियान नै चलाएका छन् । यो अभियानमा १० लाख भन्दा टविट गरिएका छन् । त्यसमा एक अर्जेन्टिनाका राष्ट्रपति माक्रीको ट्विट नै छ ।

 

 

3total visits,1visits today

Leave a Reply

Your email address will not be published. Required fields are marked *