आईनाको अभियानलाई एनआरएनको साथ स्कुल बस किन्न १३ लाख सहयोग

कोपेनहेगन । बौद्दिक अपांगता भएका वा मानसिक पक्षघात भएका वालवालिकाहरुको सहयोगार्थ एनआरएनए अभियन्ताहरुले १३ लाख रुपैयाँ सहयोगको घोषणा गरेका छन्। फेमिलिया दे हेटौडाको संचालन गरेको परियोजनामा स्कुल बस किन्नका लागि उक्त सहयोगको घोषणा गरेका हुन्।

स्पेनिस युवती आईना बार्काले तिनै बालबालिकाको लागि हेटौडामा संचालन गरेको एक शैक्षिक परियोजनामा रहेका बालवालिकाहरुलाई स्कुल ल्याउन र लैजान कठिन देखिएपछि सहयोगको अपिल गरेकी थिइन्। डेनमार्कको कोपेनहेगनमा शनिबारदेखि सुरु भएको युरोपेली बैठकमा आईनाले आफ्नो परियोजना बारे जानकारी गराएकी थिइन्।

गैरआवासीय नेपाली संघका केन्द्रीय अध्यक्ष शेष घलेले ६ लाख रुपैयाँ, संस्थापक अध्यक्ष डा.उपेन्द्र महतोले ३ लाख रुपैयाँ, संघका उपाध्यक्ष कुमार पन्तले १ लाख, उपाध्यक्ष भवन भट्टले १ लाख, युरोप संयोजक कुल आचार्यले १ लाख, एनआरएनए ईटलीका अध्यक्ष र क्षेत्र कुमार श्रेष्ठले १ लाख रुपैयाँ सहयोग घोषणा गरेका छन् । एनआरएन अभियन्ताको  सहयोग घोषणा पछि आईना भाबुक बनेकी थिइन्। आँखा भरि आँशु लिँदै उनले भनिन्, ‘सहयोगका लागि धेरै धेरै एनआरएनलाई धन्यबाद, स्कुल बसमा एनआरएनको नाम उल्लेख गर्नेछु।’

को हुन् आईना बार्का ?

आईना बार्का अहिले २४ बर्षकी भइन्। स्पेनिस एक युवतीले यति सानो उमेरमा नै  नेपाल पुगेर सुस्तमनस्थिति भएका बालबालिकाहरुका लागि हेटौडामा दुई कोठे स्कुल खोलेर शिक्षाको ज्योती बाँडेकी छन्। हेटौडाली परिबार नामक गैरसरकारी सँस्थाकी संस्थापक समेत रहेकी उनले, नेपालमा आशा नामको एक स्कुल पनि संचालन गरेर बालबालिकाहरुलाई शिक्षा प्रदान गरेकी हुन्।

सोही स्कुलमा अहिले १८ जना सुस्तमनस्थिति भएका असाधरण बालबालिकाहरुले शिक्षा पाइरहेका छन्। फिजियोथेरापिष्ट र शिक्षिकाहरु सहित पाँच जना कर्मचारीहरु समेत त्यस स्कुलमा छन्।

पहिलो पटक नेपाल यात्रा बारेमा

आईना सन् २०१२ को जुलाईमा पहिलो पटक नेपाल घुम्न निस्केकी थिइन्। त्यो समयमा उनी बार्सिलोना युनिभर्सिटिमा सामाजिक कार्यकर्ताको रुपमा काम गर्थिन्। युनिभर्सिटीमा काम गर्दै गर्दा, बाँकी केहिँ समय(पार्ट टाईम ) भने सुस्त मनस्थिति भएका बालबालिकाहरु रहेको स्कुलमा काम गरेको बताउँछिन्।

त्यसैले उनि नेपाल भ्रमण बारे यसो भन्छिन्, “यात्रा एक समर भ्याकेसन थियो, तर जानु अघि बिभिन्न संघ सस्थाहरुको बारेमा गुगलबाट जानकारी लिएकी थिएँ। नेपाल पुगेर केहिँ समय भए पनि त्यस्तै बालबालिकाहरु जान्न र सेबा गर्न चाहन्थेँ।”

आईना भन्छिन्, ‘त्रिभुबन अन्तराष्ट्रिय विमानस्थलमा पहिलो पटक पाइला राख्दैमा मलाई एउटा छुट्टै किसिमको अनुभूति भयो। यानेकी मैले नेपालमा पाईला टेक्ने बित्तिकै एक सहज महशुस गरेँ ।’

मेरो पहिलो नेपाल यात्रा न त हिमालय, पोखरा, चितवन, भक्तपुर, न कि काठमाडौमा नै थियो। मेरो यात्रा हेटौडा तिर डोरीयो ।” हेटौडामा एक बालगृह पुगेको बारे यसो भनिन्, “४५ जना बालबालिकाहरु थिए, कोहि भौतिक रुपमा अपाङ्ग, कोहि गरिब असाहय त कोहि सुस्तमनस्थिति भएका बच्चाहरु थिए।”

स्पेनको सरकारले त्यस्ता बालबालिकाहरुलाई थुप्रै  सुबिधा र स्कुलको राम्रो व्यबस्था गरेको देखेकी आईनाले ति बालबालिकाहरुलाई भेटेपछि, मन देखि नै सहयोग गर्ने ईच्छा पलाएर आएको बताउँछिन्। करिब १ महिना त्यतै  बिताएकी उनले सन्ध्या,कुमार र माईलालाई पनि भेटिन्। उनीहरु सुस्त मनस्थिति तथा असाधरण क्षमता भएका बालबालिकाहरु थिए,तिनीहरु कै माया,ममता र भाबना बोकेर आईना पुन: बार्सिलोना फर्किएको बताउँछिन्।

फ्यामिलिया दे हेटौडा (हेटौडाली परिबार)

आफ्नो कलिलो उमेरमा पनि आईनाले तिनै बालबालिकाहरुको भविष्य बारे चिन्ता ब्यक्त गर्दै एक स्कुल खोल्ने संकल्प बोकेर स्पेन फर्केकी थिइन्। यता आए लगत्तै धेरै पटक तिनीहरुको भविष्य बारे गम्भीर रुपमा सोचेको बताउँदै भनिन्  “मैले महशुस गरे,ति बच्चाहरुलाई न अब छाड्न नै सक्छु न त भुल्न नै। किनकी तिनीहरु छोटो समयमा नै परिबारका सदस्यहरु बनिसकेका थिए।”

आफ्नो सपना पुरा गर्न स्पेनमा फ्यामिलिया दे हेटौडा र नेपालमा हेटौडाली परिबार नामक गैर सरकारी संस्थाको रुपमा  दर्ता गराइन्। जसले बालबालिकाहरुको भबिष्य सुनिश्चित गर्नको लागि आशा नामक स्कुल खोल्नको लागि बाटो खुल्ला भयो। उनले नेपाल घुम्न जाँदा र बालगृहमा रहँदा परिबार जस्तै लागेकाले सँस्थाको नामको पछाडी पनि परिबार जोडेको बताउँछिन्।

यसरी सुरु गरिन् स्कुल

स्कुल खोल्ने संकल्प गरे पनि उनि आँफै सँग भने पैसा थिएन। नेपालबाट फर्के लगत्तै उनका संघर्षका दिनहरु सुरु भए। उनको योजनाको बारेमा आफ्नो परिबार र साथीभाईहरुलाई सम्झाइन् र सुनाइन्। महिनाको १० युरो, १५ युरो, २० युरो उनीहरुले सहयोग गर्दै गए।

सुरुवातमा जम्मा भएको रकम सोहि बालगृहलाई खाना र उपाचारमा खर्च हुने गरि पठाएको सुनाउँछिन्। तर उनले खोल्ने भनेको स्कुलकोलागि भने ठुलै रकमको जरूरी थियो। आईनाले भनिन्, ‘मैले त्यसैको लागि सहयोगका थुप्रै कार्यक्रमहरु चलाए, ति मेरा जीवनका कठिन पलहरु थिए। तर मैले प्राप्त गरे र सन् २०१३ को जुलाईमा नेपाल फर्किएँ।’

उनले  अगष्ट २०१३ देखि नै हेटौडामा दुई कोठे पक्की भवन बनाउँन सुरु गरिन्। जनवरी २०१४ देखि आशा स्कुल पनि संचालनमा आयो। आईनाले सुनाइन्,”स्कुल खोले पछि स्टाफहरुलाई तालिम दिन सुरु गर्दै, फिजियोथेरापीको बारेमा पनि प्रशिक्षण दियौँ।”

यो निकै महत्व पूर्ण पनि थियो किनकी फरक ढंगका बालबालिकाहरुलाई कुन स्तरले सिकाउँने ज्यादै महत्व कुरा हो। बालबालिकाहरुले राम्रो स्तरको शिक्षा पाउँन् भन्नका खातिर हरेक तबरवाट मेहनत गर्यौ। राम्रो तरिकाले शिक्षा दिन सकियो भने धेरै कुराहरु सिक्न सक्छन्,जसले उनीहरुको भविष्यमा धेरै कुराहरुको स्वतन्त्रता पाउने छन्।”

स्पेनमा रहेको फ्यामिलिया दे हेटौडाले यस्तै मासिक सहयोग, स्पोन्सर र कार्यक्रमहरुबाट रकम संकलन गर्ने गरेको छ। यही सँस्थाले नेपालमा रहेको गैर सरकारी सँस्था हेटौडाली परिबारलाई रकम पठाए पछि आशा स्कुल लगायत सम्पूर्ण खर्चहरु चल्दै आएको छ। कतिले निशुल्क तालिम दिएर,कतिले रकम दिएर र कतिले कार्यक्रमहरु तयार गर्दै ,साथीहरुले आईनालाई सहयोग गर्दै आएका छन्।

नेपालमा स्कुल खोलेर नै सेबा गर्दाको अनुभव

अपाङ्गता भएका बालबालिकाहरुको काम भनेको, “खाने र सुत्ने मात्र हो” भनेर समाजले सोच्नु हुँदैन। अन्य बालबालिका सरह समाजले माया,ममता र शिक्षा दिन सकियो भने मात्र परिबर्तन हुन सम्भव छ आईनाले भनिन्। ” नेपालमा पुगेर काम गर्न पाउँदा  धेरै खुशी छु। किनकी कसैलाई उपयोग हुने काममा सघाउँने अबसर पाएकी छु। मलाई लाग्छ अपाङ्गता भएका बालबालिकाहरुले पनि संसारलाई राम्रो सँग बुझ्न सक्छन् जति सामन्यले बुझ्ने गरेका छन्।

नेपाली समाजमा एक बिदेशी नागरिक जाने बित्तिकै कस्तो सोच राख्छन् भन्ने प्रश्नमा आईनाले जवाफ यसरी दिइन्,” एक त उमेरमा सानी,फेरि एक्ली अबिबाहित। म “गोरी” यसको मतलव धेरै मानिसहरुको बुझाई रहेछ म सँग धेरै पैसा छ। कतिपयले म क्रिचीयन भएकाले, मानिसहरुको आस्था परिबर्तन गर्न आएको पनि, भने तर सुरु-सुरुमा अलि गार्ह्रो भए पनि बिस्तारै सबैले राम्रै ढंगले बुझे र सहयोग गरे। एक त मेरो कम उमेरको कारणले पनि धेरैले गंभीरता पुर्बक नलिएका हुन्।”

स्पेनमा र नेपालमा आईनालाई हेर्ने दृष्टिकोण

धेरै नेपालीहरुले बुझ्दैनन्,र प्रश्न गर्छन्, म २४ बर्षकी युवती, अबिबाहित, परिबार, साथीभाई, काम सबै छाडेर प्राय: नेपालमा धेरै समय बिताउँने यो कसरी सम्भव छ भनेर ? आईनाले यो बारे प्रष्ट पार्दै भनिन्, “धेरै स्पेनिसहरुले पनि मलाई बुझ्दैनन् र भन्छन् ,निश्चित काम गर, पैसा जम्मा गर, एउटा अपार्टमेन्ट र राम्रो कार किन र ५-६ बर्ष पछि बिहेको योजना बनाउ ।”

तर यी दुवै प्रश्नहरुमा मेरो फरक मत छ। म जीन्दगी भर काम गरेर पैसा जम्मा गरेर त्यही खर्च गर्न चाहन्न। ति सबै चिज मलाई चाहिदैन तर म एउटा समाजको खुशी देख्न चाहन्छु। अरुलाई सहयोग गर्ने तागत भएकाले जीवनमा अझ धेरै गर्न चाहन्छु। हेटौडामा बच्चाहरुलाई खुशी दिन र अझै ज्ञान बाड्न कोशिस गर्ने छु।” उनीहरुको खुशी नै मेरो सबै थोक हो।

5total visits,1visits today

Leave a Reply

Your email address will not be published. Required fields are marked *