दिल्लीले आईपीएलमा किन खेलाएन नेपाली सन्दिप लामिछानेलाई ? बाहिरियो भित्री रहस्य

- नेपाली सन्देश

पुने : इन्डियन प्रिमियर लिग आईपीएलको ३० खेलमा दिल्ली डेयर डेभिल्स र चेन्नई सुपर किंग्ससँग प्रतिसप्रर्धा हुने छ । खेल नेपाली समय अनुसार सवा ८ बजेबाट चेन्नईको घरेलु मैदान पुनेमा सुरु हुने छ ।

आईपीएलमा पहिलो नेपाली खेलाडी भएर प्रतिनिधित्व गरेका सन्दीप लामिछानेले खेल्न पाउँछन् कि पाउँदैन भन्ने चासो नेपालमा मात्र होइन भारतमा पनि उत्तिकै रहेको देखिन्छ । स्वदेश र विदेशमा रहेका सबै नेपालीको ध्यान सन्दीप प्लेइङ सेटमा कहिले पर्छन् भन्नेमा छ । सामाजिक सञ्जालका टिप्पणीहरू पनि त्यसैमा केन्द्रित हुने गरेका छन् ।

गत सोमबारको म्याचका क्रममा सन्दीप मैदान छिरेका थिए तर, ड्रिंक्स ब्रेकमा मात्र । दिल्लीको खेलाडीको सूची र सन्दीपको अनुभव हेर्ने हो भने जारी सिजनमा उनको खेल्न पाउन सम्भावना निकै कम देखिन्छ । ‘एक पटकमा विदेशी खेलाडी बढीमा चार खेलाइने नियमले पनि सन्दीपको सम्भावना कम देखिन्छ, किनकि अन्य विदेशी खेलाडी उनीभन्दा निकै खारिएका र अनुभवी छन्,’ क्रिकइन्फोका सिद्धार्थ मोन्गाले भने । मोन्गा तिनै पत्रकार हुन् जसले जारी आईपीएलमा दिल्लीबाट खेल्ने सम्भावित खेलाडीको खेल र अनुभव विश्लेषण गरी सम्भावित प्लेइङ एलेभेनको सूची प्रकाशित गरेका छन् । जसमा सन्दीप अटाएका थिएनन् ।

दिल्लीमा आयोजित एक कार्यक्रममा सन्दीपले आईपीएल खेल्न पाउँलान् ? भन्ने कान्तिपुरको प्रश्नमा प्रतिभावान भए पनि सन्दीपलाई आईपीएलजस्तो प्रतियोगिताका लागि निखारिन समय लाग्ने भन्ने प्रशिक्षक पोन्टिङको जवाफले पनि यस सिजन खेल्ने सम्भावना कम रहेको संकेत गर्छ ।

विगत करिब चार दशकदेखि खेलपत्रकारिता गर्दै आएका राव पनि दिल्लीको आईपीएलको हालसम्म नतिजा हेर्दा खेल्ने सम्भावना नरहेको बताउँछन् । उनी त सन्दीपले खेल्न पाउनु नपाउनु भन्दा पनि आईपीएलमा अनुबन्ध हुनुलाई नै नेपाली क्रिकेटजगतले ठूलो अवसरका रूपमा लिनुपर्ने सुझाव दिन्छन् । ‘विश्वस्तरीय खेलाडी र कोचहरू कसरी बोल्छन्, कसरी खेल्छन् भन्ने कुरा थाहा पाउनु पनि उनी जस्ता युवा खेलाडीका लागि सुनौलो अवसर हो,’ रावले भने, ‘सन्दीपको अनुभवबाट पूरै नेपाली क्रिकेट भविष्यमा लाभान्वित हुनसक्छ ।’

त्यसो त बेन्चमा बस्ने उनी एक्ला खेलाडी भने होइनन् । गत फेब्रुअरीमा यू–१९ विश्वकप जित्ने भारतीय टोलीका कप्तान मन्जोत कार्लाले पनि अहिलेसम्म अवसर पाएका छैनन् । विश्वकप विजेता टोलीका अर्का सदस्य अभिषेक शाहले पनि अवसर पाउन कति म्याच कुर्नुपर्ने हो निश्चित छैन । त्यसैले क्रिकेटका हस्तीहरूसँग भारतभर घुम्न पाउनु र सँगै उठबस गर्न भाग्यले मात्र पाइने हुँदा सन्दीपले बेन्चमा बस्नुपर्‍यो भनेर नबुझ्न सबै क्रिकेट नेपालीलाई रावले अनुरोधसमेत गरे ।

‘हेर्दै जानुस् सन्दीपले हासिल गरेको अनुभवले नेपाली क्रिकेटलाई बेग्लै उचाइ दिनेछ,’ रावले विश्वास जगाउँदै भने, ‘एक सिजनमा खेल्न पाइन भनेर निरास भइहाल्नुपर्दैन । उनको आईपीएल प्रवेशले अन्य नेपाली खेलाडीका लागि पनि ढोका खुलेको छ । दिल्लीले हारे पनि सन्दीप र नेपाली क्रिकेटको जित सुनिश्चित छ ।’

Tue-May-2018, 11:26 am मा प्रकाशित, 33 जनाले हेर्नुभयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *