अब नेकपाले के काम दिन्छ ? पाँच लाख कार्यकर्तालाई

- नेपाली सन्देश

काठमाडौँ– कहिले आन्दोलनमा त कहिले चुनावको बेला सडकमा कार्यकर्ता उतार्ने नेपालका राजनीतिक पार्टीको परम्परा हो । यसको पुष्ट्याइँ उनीहरूले ‘राजनीतिक क्रान्ति’का लागि कार्यकर्ताको परिचालन भनेर गर्थे ।

नेपालका ठूला राजनीतिक दल नेकपा र काङ्ग्रेसका अनुसार संविधानसभाबाट संविधान जारी र तीन तहको चुनावपछि देशमा ‘राजनीतिक क्रान्ति’को काम सकिएको छ । अर्थात उनीहरूकै भाषामा देशका राजनीतिक स्थिरता सुरु भएको छ । शक्तिशाली सरकार आएको छ र समृद्धिको युग सुरु भएको छ ।

त्यसो भए के अब सडकमा नारा धन्काउने कार्यकर्ताहरूको भूमिका बदलिन्छ ? ठूला राजनीतिक पार्टीले कार्यकर्ता परिचालनको यस्तो नीति बनाउलान् ? वा  गफ गरेर खाने र चन्दा उठाएर जीवन चलाउने कार्यकतालाई विकास र समृद्धिको काममा खटाउलान् ?

नयाँ बहस सुरु भएको छ । हुन पनि लामो समयसम्म त्यस्तो भयो जहाँ पार्टीका कार्यकर्ता हातमा झण्डा बोकेर सडकमा जिन्दावाद र मुर्दावादका नारा घन्काउँदै हिँड्थे । ती कार्यकर्ता एक अर्का पार्टीलाई गाजिगलौैजमा उत्रिन्थे । सडकमै कार्यकर्ताको ‘विजनेस’ थियो । सत्तामा हुँदा काम नगर्ने र विपक्षी हुँदा सडकमा आउने धेरैजसो दलको चरित्र छ ।

हुन त विभिन्न कालखण्डमा भएका राजनीतिक आन्दोलन होस् वा सिङ्गो पार्टी परिचालनमा कार्यकर्ताको नै महत्वपूर्ण भूमिका हुन्थ्यो । राजनीतिक परिवर्तनसँगै देशको मुद्दा बदलियो तर कार्यकर्ता अझै बदलिएका छैनन् । कुनै पनि पार्टीले देशको विकासका लागि कार्यकर्ता परिचालनको योजना ल्याएका छैनन् ।

नयाँ संविधानअनुसार तीन तहकै चुनाव सकिएका छन् । हजारौँ राजनीतिक नेता–कार्यकर्ताले जनप्रतिनिधिको भूमिका पाएका छन् । राजनीतिक स्थिरतातर्फ देश अगाडि बढेको छ । विपक्षी काङ्ग्रेस सडकमा छ, नेकपा सत्तामा ।

 

तत्कालीन एमाले र माओवादी मिलेर एकीकृत पार्टी बनेको छ । यस्तोमा उसँग सबैभन्दा धेरै जनमत मात्र होइन, नेता–कार्यकर्ता पनि छन् । यस्तोमा अब प्रश्न उठ्छ, नेकपाले आफ्ना कार्यकर्तालाई झन्डा मात्रै बोकाउने ‘विजनेस’ दिन्छ कि उसले भनेको समृद्धिका लागि केही काममा लगाउँछ ? नेकपकाले अहिले समृद्धिको नारा बेचिरहेको छ ।

फरक–फरक आन्दोलनबाट आएका दुई ठूला कम्युनिस्ट पार्टीबीच जेठ ३ मा एकता भयो । तत्कालीन एमालेको दाबी अनुसार झन्डै तीन लाख पार्टी सदस्य ऊसँग छन् । त्यस्तै तत्कालीन माओवादी केन्द्रका अनुसार दुई लाखभन्दा बढी पार्टी सदस्य ऊसँग छन् । यी दुई पार्टी एकतापछि बनेको नेपाल कम्युनिस्ट पार्टीमा अब भन्डै ५ लाख कार्यकर्ता छन् । यो आफैमा ठूलो शक्ति हो । यसमा युवाहरू नै धेरै छन् ।

विगतमा यी पार्टीका कार्यकर्ता पार्टी काममै हुन्थे । चन्दा उठाएर जीवन चलाउँथे । पार्टीले नेतृत्व गरेका विभिन्न आन्दोलनमा वा चुनावी कार्यक्रममा कार्यकर्ता खटेका हुन्थे ।

 

जनयुद्धबाट आएको तत्कालीन माओवादीको ठूलो सङ्ख्यामा कार्यकर्ता पार्टीमा पूर्णकालीन छन् । घरवारै छाडेर नेताका पछाडि हिँड्नेको जमात पनि कम छैन ।

चन्दा सङ्कलन, पार्टीसदस्यको लेबी वा सहयोग रकम सङ्कलनबाट विगतमा कार्यकर्ताको भरणपोषण हुने गथ्र्यो । धेरै कार्यकर्ताले कमाइ खाने माध्यम पनि बनाए राजनीतिलाई ।

तर विगतमा पार्टीको झण्डा बोकेर जिन्दावाद र मूर्दावाद गर्दै हिँडेका कार्यकर्ता अब के गर्छन् ? विकल्प खोज्छन् वा पुरानै परिपाटीबाट चल्छन् ? अझै पार्टीले झण्डा मात्रै बोकाउँछ वा रचनात्मक काममा लगाउँछ ?

यी र यस्ता प्रसङ्गको चर्चा अहिले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकर्तामा छ । भन्डै पाँच लाख कार्यकर्ता रहेको नेकपाले यो शक्तिलाई कसरी सदुपयोग गर्छ ?

 

अब नेकपामाझ देशलाई समृद्धिको बाटोमा लग्नु पर्ने चुनौती छ । आफ्ना कार्यकर्तालाई समायोजन गर्नुपर्ने अवस्था छ ।

झण्डा बोकेर हिँड्दै पार्टीलाई जीवन गुजाराको माध्यम बनाएका कार्यकर्ताको बानी बिग्रिएको छ ।

राजनीतिक कार्यक्रम कम र समृद्धिका कार्यक्रममा समय खर्चिनुपर्ने बाध्ययता नेताहरूलाई छ ।

यस्तोमा कार्यकर्ता व्यवस्थापन नेकपाको मुख्य चुनौती बनेको छ ।

आर्थिक विकास र समृद्धिको माध्ययम हुँदै समाजवादको बाटोमा अघि बढ्ने नारा नेकपाको छ ।

र्यकर्तालाई समृद्धिका काममा प्रयोग गर्छ वा अन्य विकल्प सोच्न लगाउँछ ? जवाफका लागि त केही समय कुर्नुपर्ने नै हुन्छ ।

कार्ययोजना बनाएर कार्यकर्तालाई आत्मनिर्भरताको बाटोमा लग्ने दाबी नेकपाका नेताहरूको छ भने कार्यकर्ता पार्टीको आशमै देखिन्छन् ।

अन्तरिम विधान र मस्यौदामा कार्यकर्ता परिचालनबारे के छ ?

नेकपाको अन्तरिम विधान २०७५ को अध्याय चौधमा ‘पार्टी कोष र सम्पत्तिको व्यवस्था’ शीर्षकको धारा ६७ मा पार्टी कार्यकर्ताका लागि एउटा संरक्षण कोष हुनेछ भनिएको छ ।

यसको सञ्चालनका लागि एक छुट्टै विनियम अनुसार गरिने उल्लेख छ । केन्द्रीय कमिटीको अनुमति लिएर यस्तो कोष प्रदेश र जिल्ला कमिटी तहसम्म पनि स्थापना गर्न सकिनेछ भनिएको छ ।

यसबाहेक राजनीतिक प्रतिवेदन मस्यौदामा पनि कार्यकर्ता परिचालन बारे उल्लेख छ । त्यसमा भनिएको छ,‘ पार्टीले विभिन्न जनसंगठनहरू निर्माण र सञ्चालन गरेको छ । विभिन्न समुदायमा पार्टीलाई स्थापित गर्न पार्टी कार्यकर्ता तयार गर्ने नर्सरीका रूपमा विकास गर्न र विभिन्न समुदायका मागलाई पार्टीको आम आन्दोलनसँग आबद्ध गर्न जनसङ्गठनहरूको भूमिका विशेष हुन्छ । विगतमा विशेष गरेर पार्टी भूमिकालाई पुनरपरिभाषित गर्नु जरुरी छ । अब उनीहरू राजनीतिक भूमिका भन्दा आफ्नो समुदायको सरोकारका विषयमा बढी केन्द्रित हुनुपर्छ र समुदायको सही प्रतिनिधि बन्ने हिसाबले अघिबढ्नु पर्छ भनिएको छ ।’

मस्यौदामा थप भनिएको छ, ‘सत्तामा रहेको पार्टीभित्र भ्रष्टाचार, विचलन, नोकरशाही शैली, व्यक्तिवाद, पदीय अहंकार, नैतिक र चारित्रिक स्खलन साथै जनताबाट अलगावको प्रवृत्ति देखापर्ने खतार अन्य वेलामा भन्दा प्रबल हुन्छ । यस्ता प्रवृत्तिहरूलाई सच्याउन व्यापक रूपमा अभियान सञ्चालन गर्नुपर्दछ । त्यसैले पार्टी नेता कार्यकर्ताहरूको जीवनशैलीको निरन्तर अनुगमन गर्ने, सार्वजनिक रूपमा उठेका प्रश्नहरूको जवाफदेहिता कायम गर्ने र पार्टी नेता कार्यकर्ताहरूलाई पार्टी विधान र राज्यको कानुन दुवैतिर उत्तरदायी बनाउनुपर्छ । कार्यकर्ताको जीवनशैली जनताबाट अलगावमा पर्ने खालको हुनुहुुँदैन । कार्यकर्तालाई नयाँ कार्यभारका बारेमा प्रशिक्षित गर्नुपर्छ र नयाँ जिम्मेवारी सम्हाल्न सक्ने विषय विज्ञ र विशेषज्ञहरूलाई पनि ठूलो सङ्ख्यामा पार्टीमँ सङ्गठित गर्नुपर्छ भनिएको छ ।’

पार्टी नेताहरू के सोच्दैछन् ? 

योगेश भट्टराई, स्थायी कमिटी सदस्य नेकपा

पहिलो कुरा त हामीले एकतापछि सबै पार्टी कार्यकर्ताको जिम्मेवारी व्यवस्थापनमा लाग्दैछौँ । सबै तहका कमिटी जनसङ्गठनको मर्ज गर्दैछौँ । अहिले पार्टी र सरकारको मुख्य ध्येय आर्थिक विकास, समृद्धि, उत्पादनमा जोड दिने भनेका छौँ । गाउँपालिका वडा तहमा पार्टीले त्यो ठाउँको उत्पादन वृद्धि गर्ने, रोजगारी सिर्जना गर्ने, त्यो ठाउँमा विकास निर्माणका काम गर्ने कुरामा पार्टीको पूरै ध्यान त्यता जानुपर्छ । त्यसैले त्यो खालको अभियानहरू हामी ल्याउँछौँ ।

 

केन्द्रदेखि गाउँ तहसम्मका सबै कार्यकर्ताहरूलाई विकास निर्माण, मुलुक निर्माणका काममा परिचालन गर्ने भन्ने छ । पार्टी कार्यकर्ता सबैलाई व्यावसायिक बनाउन काम गर्ने वातावरण बनाउने योजना अभियानका रूपमा हामी ल्याउने छलफलमा छौँ, त्यो छिटै आउला । हरेक गाउँपालिकाको पार्टी कमिटीलाई लक्ष्य निर्धारण अनुरूप लेखा जोखा गर्छौं । पाँच वर्षमा कति रोजगारी सिर्जना भए, गाउँपालिकाले कति बजेट परिचालन  ग¥यो, कति किलोमिटर बाटो बन्यो, शैक्षिक अवस्था, स्वास्थ्यको अवस्था, लैङ्गिक असमानता हट्यो हटेन, छुवाछूत हट्यो कि हटेन यी सबै कुराको जवाफदेहिता गाउँपालिकाको पार्टी कमिटीले लिन्छ । युवा, विद्यार्थीलगायतका सङ्गठनहरूलाई पार्टीले जिम्मा दिन्छ तर पनि उहाँहरू आफै योजना बनाएर लाग्नुपर्छ ।

अग्नि सापकोटा, स्थायी कमिटी सदस्य नेकपा

पार्टीमा धेरै लेयरका सङ्गठन बन्दै छन् । राजनीतिक जिम्मेवारीको हकमा केन्द्रदेखि गाउँ तहसम्म विभिन्न कमिटी बन्दैछन् । विभिन्न विभाग, जनवर्गीय जङ्गठन हुन्छन् । अझै कामका शाखाहरू बढ्छन् । त्यसैले कहीँ न कहीँ कार्यकर्ता जोडिन्छन् ।

 

समृद्धिका लागि विभिन्न योजनाहरू सरकारले ल्याउँदै छ । कार्यकर्ता सबै त्यसमै जोडिन्छन् । पहिला एउटा त्यस्तो परिवेश थियो, सबै कार्यकर्ता पूर्णकालीन थिए । अहिले पनि निश्चित सङ्ख्यामा पूर्णकालीन हुन्छन् बाकीँ सबै उद्योगधन्दा कलकारखाना अझ खासगरी उद्यममा लाग्छन् । केन्द्रदेखि सबै तहका कार्यकर्ता व्यवस्थापन मुख्य चुनौती पनि हो र प्राथमिकतामा पनि छ । सबै कार्यकर्तालाई कहीँ न कहीँ जोड्न पार्टीले कार्ययोजना बनाउँछ र जोड्छ ।

युवाहरूले के सोचेका छन् ?

युवा सङ्घ नेपालका अध्यक्ष रमेश पौडेल

मुलुकको समृद्धिका लागि युवाहरूलाई परिचालन गरिनु आवश्यक छ । संविधानको प्रस्तावनाले समाजवाद उन्मुख हाम्रो अर्थतन्त्र हुने छ, भनेको छ । पार्टीले चुनावमा जाँदा ‘समृद्ध नेपाल सुखी नेपाली’ भन्ने मूल नारा बनाएर लग्यो । अहिले मुलुकको मूल नारा ‘समृद्ध नेपाल सुखी नेपाली नै’ छ । प्रत्येक वर्ष नेपालको श्रमबजारमा ५ लाख युवा आउँछन् । तर ४ लाख पचास हजार युवा पासपोर्ट बोकेर विदेशिन्छन् । रहन्छन् ५० हजार तर यीमध्ये २० हजार जतिले रोजगार पाउँछन्, ३० हजार बेरोजगार हुन्छन् । युवाहरूको अवस्था कहाली लाग्दो छ । यही मनोदशाबाट पार्टीका युवा कार्यकर्ता गुज्रिरहेका छन् । मुलुकलाई समृद्ध बनाउन सबैभन्दा ठूलो सङ्ख्यामा रहेका युवालाई परिचालित गरिनुपर्छ ।

 

मुलुकलाई समृद्धि बनाउने गोल, आमजनतालाई खुशि बनाउने अभियानमा सिङ्गो पार्टीका कार्यकर्ता पङ्क्ति परिचालन गरिनुपर्छ भन्ने लाग्छ । पहिले हाम्रा अधिकारका लागि लोकतन्त्र जिन्दावाद, गणतन्त्र जिन्दावाद पार्टीले त्यो भन्यो, हामी त्यसैमा लाग्यौँ । पार्टीका यी नाराबाट हामी आकर्षित भयौँ र त्यसमा लड्यौँ । तर अधिकार प्राप्तीका आन्दोलन, संविधान बनिसकेपछि एक तहसम्म संस्थागत भएको छ । अब समृद्धिको आन्दोलन हो । हाम्रा कार्यकर्ता, हामीलाई परिचालन गर्ने दिशामा पार्टी गयो भने हामी पनि र पार्टी पनि बचेर जान्छ भन्ने लाग्छ ।

समृद्धिका लागि युवाको परिचालनको जिम्मा हामीलाई दिए कार्यसम्पादन कुशलतापूर्वक दिए गर्न सक्छौँ । सहकारीमा युवाहरूलाई जोडेर लान सकिन्छ । मुलुकको उद्योग कलकारखानामा युवाहरूलाई जोडेर लान सकिन्छ । पर्यटन, हाइड्रो लगायतका क्षेत्रमा युवाहरूलाई रोजगारीमा जोडेर लान सकिन्छ । सबै कार्यकर्तालाई केही न केही व्यवसाय वा रोजगारीमा जोड्नुपर्छ ।

रामप्रसाद सापकोट वाइसीएल अध्यक्ष

युवाहरूको बारेमा दुई तरिकाबाट सोच्नुपर्छ । पहिलो पार्टीभित्रका युवा र दोस्रो बाहिरका युवा । बाहिरका युवाहरूका हकमा विदेश जान नदिनका लागि सर्टिफिकेट धितो राखेर ७ लाख रिन र विदेश गएकाहरूलाई फर्केर आउँदा १० लाख रिन दिने भनेर सरकारले निर्णय गरिसकेको छ । त्यसैले केही न केही हिसाबले बाहिरका युवालाई सम्बोधन भएको छ ।

 

अब पार्टीभित्र राजनीति गर्ने युवाहरूलाई दुई कोणबाट सोच्नुप¥यो । एउटा पार्टीभित्रका युवाहरूलाई आत्मनिर्भर बनाउने । जस्तो राजनीति गरेर बाँच्न सकिन्छ भनेर बाटो देखाउने त्योसँगै कुनै व्यवसाय रोजगारमूलक काममा इन्गेज गराउनुपर्छ । दोस्रो, युवाहरूलाई काम दिने । राजनीतिक काम त छँदै छ । हामी समृद्धिको सपना देखिराखेका छौँ भने युवा सङ्गठनहरूलाई पार्टीले माग गर्नुप¥यो । कति हजार इन्जिनियरहरू दिने हो, कति हजार ओभरसियर उत्पादन गर्ने हो । यसरी अलि महत्वाकाङ्क्षी योजना बनाउनुपर्छ जस्तो लाग्छ । अब पहिलो जस्तो चन्दा उठाएर कार्यकर्ता पालिने क्रम रोकिनुपर्छ, अब यसरी राजनीति चल्दैन ।

राजनीतिक सङ्गठनभित्रका नेता कार्यकर्ताहरूले आफ्नो जीवनलाई पारदर्शी बनाउने गरी पार्टीले योजना ल्याउनु पर्छ । जनताले त कसरी बाँचेको छस् भनेर प्रश्न गर्दा यो यो ठाउँबाट मेरो आम्दानी हुन्छ भनेर बताउन सक्ने बनाउन प¥यो । आत्मनिर्भरताको नीति ल्याउनु प¥यो पार्टीले । जस्तो कि म वाईसीएलको अध्यक्ष हुन्छु भने म बाच्ने कसरी हो । पार्टीले दिने हो वा चन्दा उठाउने हो वा व्यापार व्यवसायमा जोड्ने हो । मेरो भनाइको अर्थ युवाहरूलाई आत्मनिर्भर हुनेतिर लग्ने गरी पार्टीले योजना बनाउनुपर्छ । अब सङ्घर्षका मुद्दा सकिए । युवालाई आर्थिक विकास र समृद्धितिर लग्ने गरी पार्टीले सोच्नुपर्छ ।

विद्यार्थी के चाहन्छन् ? 

नवीना लामा, सांसद तथा विद्यार्थी नेता

देशमा समृद्धि ल्याउने हो भने युवा, विद्यार्थीलगायतका आफ्ना कार्यकर्तालाई उत्पादनमूलक काम, व्यवसाय वा रोजगारी कहीँ न कहीँ जोड्नुपर्छ । जसले कार्यकर्ता चल्न सहज होस् । हिजो घरबार छाडेरै राजनीतिका लागि हिँडियो । अब समृद्धि मुखले भनेर मात्रै त हुँदैन, त्यसैले पार्टीले सबै कार्यकर्ताहरूलाई श्रम रोजगार सँग जोड्नुपर्छ । राजनीति त छँदैछ, त्योसँगै आर्थिक सपोर्ट हुनेखालका काममा जोड्नु पर्छ ।

 

पहिले जस्तो चन्दा सहयोग मागेर कार्यकर्ता पालिने अवस्था अहिले छैन । त्यसैले पार्टी र यो सरकारले सबै तहका कार्यकर्तालाई व्यावसायिक वा आत्मनिर्भर बनाउने योजना सोच्नुपर्छ । पहिला–पहिला हक अधिकारका लगायत परिवर्तनका लागि भएका आन्दोलनमा कार्यकर्ता झण्डा बोकेर हिँडेकै हुन् । धेरै कार्यकर्ता पूर्णकालीन छन् । आर्थिक अवस्था राम्रो छैन । त्यसैले अब पार्टीले कार्यकर्तालाई झण्डा मात्र बोकाउने होइन, उत्पादनमूलक काममा पनि जोड्नुपर्छ ।

विद्यार्थी, युवा, महिलालगायत जसको जे क्षमता दक्षता छ, त्यो अनुरूप रोजगारी, व्यवसाय, उत्पादन लगायतका क्षेत्रमा जोड्नुपर्छ । तब मात्रै आर्थिक विकास र समृद्धिका काममा कार्यकर्ता परिचालन गर्न सहज हुन्छ ।

रन्जित तामाङ, विद्यार्थी नेता

माओवादी छुट्टै आन्दोलन र प्रक्रियाबाट आएको हुनाले माओवादीसँग ठूलो सङ्ख्यामा पूर्णकालीन कार्यकर्ता थिए र छन् । राजनीतिक क्रान्ति पूरा भएसँगै पूर्णकालीन कार्यकर्ताहरूको भूमिका, जिम्मेवारी, दायित्व, व्यवस्थापन त्यो अनुरूप मिलाउन बाकीँ छ । त्यसमा पनि अलि जटिल देखिएको पार्टीका पूर्णकालीकन कार्यकर्ताको व्यवस्थापन नै हो । तर पार्टी पटक पटक सरकारमा गएको समयमा कार्यकर्ताहरूको व्यवस्थापनसम्बन्धी योजनाहरू बनाएको छ । कार्यकर्ताहरूलाई कहीँ न कहीँ उत्पादन, रोजगारमूलक काममा जोड्ने । क्षमता, दक्षता अनुसारको जिम्मेवारीमा जोड्ने योजना बनाएको थियो । तर सम्पूर्ण रूपले त्यसको कार्यान्वयन भएको छैन । सबै कार्यकर्ताको व्यवस्थापकीय आधारबाट हेर्दा त्यसको केही प्रतिशत मात्र कार्यान्वयन भएको छ । ठूलै सङ्ख्या अझै पनि भौतारिइ राखेको छ । कार्यकर्ताले विकल्प खोजिराखेका छन् ।

 

अहिलेको समयमा चन्दा उठाएर सहयोग लिएर कार्यकर्ताको भरणपोषण गर्ने वा कार्यकर्ता व्यवस्थापन गर्ने कुरा अब सम्भव छैन । त्यसैले पार्टी सरकारमा भएको बेला क्षमता दक्षताको आधारमा पूर्णकालीन कार्यकर्तालाई कुनै न कुनै उत्पादनमूलक काममा व्यवस्थापन गरिनुपर्छ ।

विद्यार्थीमा क्रियाशील भएको दुईथरी जनशक्ति छ । एउटा राजनीतिक नेतृत्वबाट रूपबाट आएको जनशक्ति छ । अर्को शैक्षिक नेतृत्वबाट आएको जनशक्ति छ । तर शैक्षिक नेतृत्वबाट आएको जनशक्तिलाई व्यवस्थापन गर्न गाह्रो छैन । उनीहरू शिक्षित छन् । उनीहरूमा दक्षता, क्षमता र योग्यता छ । त्यसैले उनीहरूलाई जता पनि व्यवस्थापन गर्न सकिन्छ । खासगरी केन्द्रीय समितिको सिनियर सचिवालयका साथीहरू र पदाधिकारीमा रहेका केही सिनियर साथीहरूलाई पार्टीले योजना बनाएर कहीँ न कहीँ व्यवस्थापन गरिदिनुपर्छ । श्रीमान् पूर्णकालीन कार्यकर्ता भए पनि श्रीमतीलाई कतै व्यवसाय वा रोजगारीमा जोड्ने वातावरण पार्टीले गर्नुपर्छ ।

Wed-Jun-2018, 12:25 pm मा प्रकाशित, 22 जनाले हेर्नुभयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *