गाउँपालिका अध्यक्ष जसले गाउँपालिकाको लागी गाडी किन्न आएको पैसा स्काभेटर र टिपर किनेर जनतालाई सेवा दिए !

- नेपाली सन्देश

रामेछाप / पोहोरको बर्खामा खिम्ती खोलाको बाढीले सदरमुकाम र राजधानी तथा तराईबाट रामेछापको उमाकुण्ड र गोकुलगंगा गाउँपालिका जाने सडकमा ठूलो क्षति पुर्यायो । बाटो बगाएपछि उमाकुण्ड र गोकुलगंगा गाउँपालिका पूरै नाकाबन्दीमा परे । तर, सडक डिभिजन कार्यालयले ६ महिनाभन्दा पहिले बाटो बनाउन नसकिने बतायो । कसैले बनाउन सकिँदैन भनेको त्यो बाटो उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेरबहादुर सुनुवारले गोकुलगंगा गाउँपालिकाका अध्यक्ष खड्ग सुनुवारलाई साथ लिएर आफैले ढुंगा पल्टाएर एक हप्ताभित्रै खुलाए ।

‘सबैभन्दा ठूलो कुरा लालच रहेछ । सबैले लालच छाडिदिने हो भने विकास आफै हुने रहेछ ।’

सादगी जीवन होस् वा दिगो विकास, शेरबहादुर सुनुवारको दृष्टिकोण उदाहरणीय छ । रामेछापका अन्य प्रमुख एवं अध्यक्ष आफ्नै नगरपालिका र गाउँपालिकाको नयाँ गाडी टल्काएर हिँड्दा उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेरबहादुर सुनुवार भने सार्वजनिक गाडीमा धुलो खाँदै हिँड्छन् । उमाकुण्डबाट सदरमुकाम आउँदा गाडीमा ६/७ घण्टा लाग्छ ।

‘गाउँका अरु सर्वसाधारण त्यही गाडीमा चढ्छन् । भोलि गाउँपालिका अध्यक्षको पद सकिएपछि मैले चढ्ने पनि त्यही गाडी हो, अहिले कसलाई सान देखाउनु त ?’ सुनुवारले सहज तर मार्मिक जवाफ दिए, ‘नेपालको राजनीति सान, मान र दामले बिगार्यो । त्यसैले म यी तीनै चिजबाट टाढा रहन चाहन्छु ।’

गाडी नकिनेर डोजर र टिपर
अन्य गाउँपालिका विकास योजनामा अलमलिइरहँदा उमाकुण्डले भने विकासको पूर्वाधार र आधारस्तम्भ तयार पारेको छ । ७ वटा वडा रहेको सो गाउँपालिका रामेछापको सबैभन्दा विकट र दुर्गम क्षेत्र समेटेर बनेको छ । सडक सञ्जालले समेत सबै वडामा छोएको छैन । उनकै कारण अहिले ३ वटा वडा बाह्रै महिना सडक चल्न सक्ने अवस्थामा छन् । बाँकी वडालाई पनि यस वर्षबाट नियमित यातायात चल्ने बनाउने योजनाका साथ काम भइरहेको सुनुवारको भनाइ छ ।\

‘गाउँका अरु सर्वसाधारण त्यही गाडीमा चढ्छन् । भोलि गाउँपालिका अध्यक्षको पद सकिएपछि मैले चढ्ने पनि त्यही गाडी हो, अहिले कसलाई सान देखाउनु त ?’

‘गाउँपालिकालाई गाडी किन्न आएको पैसाले एउटा स्काभेटर र एउटा टिपर किनेँ,’ उनले भने, ‘जहाँ बाटो बन्द हुन्छ, त्यहीँ गएर खोल्छ । मैले गाडी चढेर के हुन्छ ? स्काभेटर र टिपर भयो भने सडक त नियमित चल्छ ।’

कृषि, वन, जल र पर्यटनलाई गाउँपालिकाको समृद्धिको आधार देखेका उनले सोही अनुसार योजना बनाएका छन् । ‘कृषिका लागि मैले बजेट छुट्याएको छु । अब जग्गा बाँझो राख्नेलाई ३ गुणा बढी कर लगाउने नीति ल्याउँदै छु । अनि आलु, अलैंची, चिया र जडीबुटी खेती गर्नेलाई अनुदानसहित सहयोग गर्ने कार्यक्रम ल्याएको छु,’ उनले सुनाए, ‘अब सके व्यक्तिले गर्छ, नसके प्राइभेट कम्पनीले आएर आलु, चिया, र जडीबुटीको खेती गर्छ । तर, जग्गा बाँझो रहन दिन्नँ ।’

पर्यटनको विकास
गौरीशंकर संरक्षण क्षेत्र र सगरमाथा आधारशिविरको प्रवेशद्वार समेत रहेको उमाकुण्ड गाउँपालिकामा पर्यटकहरुलाई विविधताको अनुभूति दिने योजना उनको छ । त्यसैले प्रितीको तामेमा भ्यू टावर र प्याराग्लाइडिङ स्पट बनाउने योजना छ । ‘त्यहाँ त एक सय मिटरभन्दा लामो चिप्लेटी खेल्ने ठाउँ पनि छ । हामी त्यसलाई व्यवस्थापन गर्छौं, त्यसको प्रचार भएपछि पर्यटकहरु आइहाल्छन् नि,’ उनले ढुक्कका साथ सुनाए ।

‘गाउँपालिकालाई गाडी किन्न आएको पैसाले एउटा स्काभेटर र एउटा टिपर किनेँ,’ उनले भने, ‘जहाँ बाटो बन्द हुन्छ, त्यहीँ गएर खोल्छ । मैले गाडी चढेर के हुन्छ ? स्काभेटर र टिपर भयो भने सडक त नियमित चल्छ ।’

विकासमा पछाडि भए पनि स्रोत र सम्पदामा धनी छ उमाकुण्ड । नेपालमा नै धेरै गुम्बा भएको गुम्देल यही गाउँपालिकामा पर्छ, प्राकृतिक रुपमा बनेको कावा गुम्बा पनि यहीँ छ । नुम्बुर हिमाल, विभिन्न पोखरी तथा चौंरीपालन क्षेत्र पनि यही गाउँपालिकामा पर्दछ । यिनै सम्पदाको सम्बर्धन र प्रचार गरी ५ वर्षभित्र गाउँपालिकाका हरेक नागरिकलाई विकासको पूर्वाधार तयार गरेरै छाड्ने सुनुवारको लक्ष्य छ ।

माइक्रोहाइड्रोहरुलाई करको दायरामा ल्याउने र नयाँ बनाउँदा त्यहीँका श्रमिक प्रयोग गरी उनीहरुले पाउने पारिश्रमिकको आधा पारिश्रमिक कटाएर त्यहीँ राखी सेयरका रुपमा लगानी गर्ने गरी गरिबलाई मालिक बनाउने नीति उनले गाउँपालिकाबाटै नै पास गर्दैछन् ।

किसानलाई अनुदान र काम
सुनुवारले किसानलाई कृषिमा आकर्षित गर्न गाउँपालिकाबाट अनुदान दिन बजेट छुट्याएका छन् । किसानले आलु, चिया, जडीबुटी, तरकारी लगायतमा यस्तो अनुदान पाउने छन् । यो अनुदानबाट उत्पादन गरेको उपज सहकारीमार्फत गाउँपालिकाले खरिद गरी बजारसम्म पुर्याइदिने छ । ‘बिचौलियालाई किन खान दिनु ? किसानको उत्पादन सोझै बजारमा पुगोस् न । अलिअलि बचेको त्यही किसानहरुले नै बनाएको सहकारीमा बसोस्’, आफ्नो योजना सुनुवारले राजनीतिक र सामाजिक क्षेत्रमा काम गरेको सुनाए, ‘सबैभन्दा ठूलो कुरा लालच रहेछ । सबैले लालच छाडिदिने हो भने विकास आफै हुने रहेछ ।’

चौंरी महोत्सवको तयारी
चौंरी नेपालको हिमाली क्षेत्रको गहना मात्र हैन, आयआर्जन र पर्यटन प्रवर्धनको बलियो आधार पनि हो । त्यसैले चौंरी र चौंरीपालन व्यवसायलाई प्रबर्धन गर्ने योजनामा छन् सुनुवार । त्यसका लागि यस वर्ष मात्रै २२ लाखभन्दा बढी रकम विनियोजन गरेका छन् । यसबाट किसानलाई चौंरीपालनका लागि अनुदान दिने, चौंरी र यसको दूधजन्य उत्पादनको महत्वबारे जानकारी दिई पर्यटन र व्यवसाय प्रवर्धनका लागि सहयोग पुग्ने उनको अपेक्षा छ ।

स्थानीय तहका जनप्रतिनिधिले चाहेमा अहिलेकै अवस्थामा पनि धेरै काम गर्न सकिन्छ भन्ने मान्यता राख्छन्, शेरबहादुर सुनुवार । नेतृत्वले सान, मान र दाम छाड्नैपर्छ । आफूलाई सर्वसाधारणभन्दा फरक हैन, उनीहरुकै बीचमा राखेर हेर्ने हो भने समुदायलाई धेरै माथि उठाउन सकिन्छ । शेरबहादुरको मन्त्र सबैले ह्रदयंगम गरौं, ‘लालचले आफूलाई त बिगार्छ, बिगार्छ, समाज र देशलाई पनि बिगार्छ ।’(-उज्यलो मिडिया बाट साभार )

Fri-May-2018, 11:05 am मा प्रकाशित, 41 जनाले हेर्नुभयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *