रिङरोड विस्तारका नाममा चार वर्षदेखि धूलोधुवाँको भट्टी’

- नेपाली सन्देश

रिङरोड विस्तारका नाममा चार वर्षदेखि धूलोधुवाँको जुन सकस हामी झेल्दैछौं, बल्खु त्यसको उत्कर्षमा छ।

काठमाडौंलाई कीर्तिपुर, चोभार र दक्षिणकालीसँग जोड्ने यो व्यस्त चोक एक महिनादेखि धूलोले कुइरीमण्डल छ। घरबाट सफाचट निस्केकाहरू बल्खु कट्दासम्म धूलोमा लडिबुडी खेलेर आएजस्ता बिरुप देखिन्छन्।

कीर्तिपुरकी लीलादेवी शर्मा भुक्तमान हुन्।

उनी सीतापाइलाको एउटा कलेजमा पढाउँछिन्। आउजाउ गर्दा कम्तिमा दिनको दुईचोटि बल्खु नाघ्नुपर्छ। हरेकदिन लुगा नफेरी धर हुन्न। कलेज पुग्दासम्म उनी यति लखतरान परिसकेकी हुन्छिन्, कहिलेकाहीँ त कक्षामा बोल्नधरि मुश्किल हुन्छ।

‘बल्खु–कलंकी पार गरेर सीतापाइला पुग्दा म मान्छे नचिनिने गरी धूलोले पुरिन्छु,’ स्कुटरमा आउजाउ गर्ने शर्माले भनिन्, ‘आँखा, नाक, घाँटी पोलेर बोल्नै सकिन्न।’

पछिल्लो समय हावाहुरीले धूलो बेस्कन उडाउँदा र बेला—बेला वर्षाले बाटो हिलाम्मे हुँदा कष्ट झनै बढेको उनी बताउँछिन्।

केही दिनअघि १६ चक्के ट्रक बीच बाटोको गजगज हिलोमा फसेको थियो। मध्यरात फसेको ट्रकलाई अगाडिबाट एउटा डोजरले तान्दै, पछाडिबाट अर्कोले घचेट्दा पनि अर्को दिन १० बजे मात्र बाटो खुल्यो। त्यतिञ्जेल सवारी जामले लगभग आधा घन्टा बल्खुमै अलपत्र परेको उनको अनुभव छ।

‘राति फर्किंदा झनै कठिन हुन्छ,’ शर्माले भनिन्, ‘धूलोले ढाकेर एक मिटर अगाडि के छ पत्तो हुन्न। खाल्डा–खुल्डी र ढुंगामा ठोक्किएर स्कुटर सम्हाल्न गाह्रो पर्छ। कतिपटक गाडीमै ठोक्किएलाजस्तो हुन्छ।’

सडक विभागका अनुसार यहाँको निर्माण सकिन कम्तिमा दुई महिना लाग्छ।

त्यतिञ्जेल सर्वसाधारणलाई कमभन्दा कम सास्ती दिनेतर्फ विभागको पहल देखिन्न।

प्राविधिकहरूले कोटेश्वर–कलंकी आठलेन रिङरोड निर्माणमा दुइटा गल्ती भएको औंल्याउँदै आएका छन्।

पहिलो, सडकको डिजाइन नै ‘प्राविधिक रूपमा गलत’ थियो भन्ने इञ्जिनियरहरूको भनाइ छ। यसले ल्याएको दुर्घटना जोखिमबारे हामीले आइतबार चर्चा गर्यौं।

 

दोस्रो गल्ती हो, दस किलोमिटरको यो खण्ड एकैचोटि खन्नु, जसले रिङरोड आसपास क्षेत्र चार वर्षदेखि बुङ्बुङ्ती धूलोले ढाक्यो। बल्खु त्यसैको निरन्तरता हो।

आज हामी यही दोस्रो गल्तीबारे चर्चा गर्दैछौं।

गल्तीबाट सडक विभागले पाठ सिक्यो कि सिकेन, त्यो पनि जान्ने कोशिस गर्नेछौं।

डिजाइन गलत थियो भन्ने विभागले स्विकारेको छ। दुईतर्फी सडकको बीचमा बाटो छुट्टयाउने ‘मिडियन’ छैन। दोस्रो चरणमा बन्ने ८.२ किलोमिटरको कलंकी–महाराजगन्ज खण्डमा यो गल्ती सच्याइँदैछ।

अब बन्ने खण्डमा मिडियनसहित नयाँ डिजाइन गरिएको विभागका उप–महानिर्देशक तथा रिङरोड आयोजना प्रमुख सञ्जय श्रेष्ठले जानकारी दिए।

उनका अनुसार एक मिटरसम्म अग्लो र डेढदेखि साढे तीन मिटर फराकिलो हुने गरी मिडियन डिजाइन गरिएको छ। मिडियनसहित सडकको चौडाइ ३१ मिटर हुनेछ। यो मिडियन पनि मापदण्डभन्दा सानो हो। आठ लेन सडकमा तीनदेखि पाँच मिटर हुनुपर्ने मापदण्ड छ।

डिजाइनको त्रुटि सुधारिने भए पनि निर्माण तरिकामा भने यसपालि पनि पहिलेकै गल्ती गरिँदैछ — पूरै सडक एकैचोटि खोतलखातल पारेर वातावरण धुलाम्मे बनाउने।

कलंकी–कोटेश्वर खण्ड एकैचोटि खन्दा सहर कुइरीमण्डल भएको हामी सबैले भोग्दै आएका छौं। गाडीका टायरले रिङरोडबाट बोकेर लैजाने धूलोले सहरका अन्य भाग पनि धुलाम्मे छन्।

तीन महिनाअघि विभागका उप–महानिर्देशक श्रेष्ठसँग सोधेका थियौं, ‘के दोस्रो चरणको निर्माणमा पनि जनताले यसैगरी धूलो खानुपर्ने हो?

उनको जवाफ थियो, ‘दोस्रो चरणमा एकैपटक नखनी, पाँच–पाँच सय मिटरका दरले निर्माण गरिनेछ। यसले धूलोको समस्या धेरै हल हुन्छ।’

हामी अब रिङरोड विस्तारको दोस्रो चरण प्रवेश गर्ने क्रममा छौं। मंसिरसम्म कोटेश्वर–कलंकी खण्डको काम सकेपछि चिनियाँ ठेकेदारले सरकारलाई हस्तान्तरण गर्नेछ।

दोस्रो चरणको काम भने त्योभन्दा अगाडि नै सुरु हुन्छ। लगभग भदौदेखि कलंकी–महाराजगन्ज सडक विस्तार गर्न थालिने विभागले जनाएको छ। यस निम्ति चिनियाँ पक्षसँग सम्झौता भइसकेको छ।

यही सन्दर्भमा उप–महानिर्देशक श्रेष्ठलाई फेरि त्यही प्रश्न सोध्यौं, ‘के दोस्रो चरणका निर्माणमा पनि जनताले यसैगरी धूलो खानुपर्ने हो?

यसपालि उनको जवाफ छ, ‘हामी सडक दायाँबायाँका घर, टहरा, बिजुली र टेलिफोन खम्बा एकैपटक खाली गर्छौं। त्यसपछि जुन ठाउँमा आवश्यक छ, त्यहीअनुसार काम अघि बढाउँछौं।’

उनले अगाडि भने, ‘पूरै सडक एकैपटक त बन्न सक्दैन, विस्तारै बन्ने हो। पाँच सय मिटर खाली गर्ने, बनाउने, त्यसपछि फेरि अर्को पाँच सय मिटर खाली गर्ने र बनाउने चाहिँ कुरा आउँदैन। ठेकेदारलाई त्यसो गर्न सम्भवै हुन्न।’

यहाँ श्रेष्ठले भनेजस्तो पूरै सडक एकैचोटि खन्दा धूलोको समस्या फेरि उस्तै हुनेछ।

 

सडक निर्माणको अन्तर्राष्ट्रिय विधि यो होइन। आधुनिक इञ्जिनियरिङ युगमा ‘धूलो नउडाई सडक खन्न सम्भव’ रहेको इञ्जिनियरहरू बताउँछन्। विकसित देशहरूमा रिङरोडभन्दा ठूल्ठूला सडक बन्छन्। त्यहाँ हामीकहाँ जस्तो धूलो उड्दैन।

‘सडक बनाउनु भनेको धूलो उडाउनु होइन,’ सडक इञ्जिनियर पार्थ पराजुली भन्छन्, ‘रिङरोड विस्तारका नाममा यतिका वर्षदेखि बुङ्बुङ्ती धूलो उडाएर राज्यले जनतामाथि पाप गरिरहेको छ।’

उनका अनुसार एकैचोटि काम सुरु नगरी चरणबद्ध बनाउँदै जाने हो भने धूलोको समस्या हल हुन्छ।

लामो समय सरकारी सेवामा रहेका पराजुली अस्ट्रेलियामा कार्यरत छन्। केहीअघि नेपाल आउँदा सडक सुरक्षासम्बन्धी अन्तक्रियामा उनले रिङरोड विस्तारमाथि टिप्पणी गर्दै भनेका थिए, ‘हामी मध्यसहरमा आठलेनको रिङरोड बनाएर मृत्युको पासो थापिरहेका छौं।’

‘पाँच सय मिटरका दरले खन्दै, बनाउँदै जानुपर्ने अन्तर्राष्ट्रिय मान्यता छ,’ उनले सेतोपाटीसँग भने, ‘पहिलो पाँच सय मिटरमा कालोपत्रे सकेर आवागमन सुरु भएपछि बल्ल अर्को खण्ड खन्न थाल्नुपर्छ। यसो गर्दा थोरै ठाउँमा मात्र धूलो उड्छ। बाँकी जस्ताको तस्तै रहन्छ।’

लामो खण्ड एकैचोटि खन्दा जति धूलो उड्छ, पाँच सय मिटर खन्दा कम हुने उनी बताउँछन्। यसरी उड्ने धूलो नियन्त्रण गर्न सहज हुन्छ। यस निम्ति बनिरहेको खण्डमा बाक्लो प्लास्टिकले छेकबार लगाइन्छ। त्यति ठाउँको धूलो न हावाले उडाउँछ, न त गाडीका टायरले बोकेर लैजान्छन्। वरिपरि प्लास्टिक बारेर बनाउँदा बाहिरबाट देख्दा पनि देखिँदैन।

पाँच सय मिटर पनि एकैचोटि खन्ने र बनाउने होइन। एउटा लेनको काम सकिएपछि मात्र अर्को लेनमा हात हाल्ने हो।

पराजुलीका अनुसार सबभन्दा पहिला दुवैतर्फका सर्भिस लेन बारेर काम गर्न सकिन्छ। त्यहाँ काम भइरहँदा बीचको मूलसडकमा सवारी निर्वाध चलिरहन्छ। सर्भिस लेन कालोपत्रे गरेर धूलो नउड्ने बनाएपछि आवागमन खुला गरिन्छ। त्यसपछि बीचको चारलेन बारेर निर्माण सुरु हुन्छ। यसरी पालैपालो आठै लेन पूरा हुन्छ।

‘रिङरोडजस्तो अर्को विकल्प नभएको व्यस्त सडकमा लेन छुट्टयाएर काम हुनुपर्थ्यो,’ उनले भने, ‘एउटा लेनको काम सकेर मात्र अर्कोमा हात हालेको भए सवारी चालकले दुःख पाउँदैनथे। पैदलयात्रुलाई पनि सुविस्ता हुन्थ्यो।’

धूलो नियन्त्रणको अर्को विधि पनि पराजुलीले सुझाए।

‘अगाडि डोजरले खन्दै, पछाडिबाट ट्यांकरले पानी छर्कंदै जाने हो भने धूलो उड्न पाउँदैन,’ उनले भने।

यसअघि बेलाबेला पानी छर्केको देखिएको थियो। बल्खुमा त्यही पनि छैन। त्यसमाथि आठ–दस किलोमिटर खण्ड एकैचोटि खन्दा जति पानी खन्याए पनि धूलो साम्य हुँदैन।

राति सवारी आवागमन कम हुने समयमा काम गर्ने र बिहान पानी छरेर धूलो साम्य पारेपछि बल्ल आवागमन सुरु गराए धेरै हदसम्म प्रदूषण रोकिने उनले बताए।

 

सडक बनाउँदा आवागमनमा बाधा पार्दिनँ, वातावरण प्रदूषित गर्दिनँ, सामाजिक–आर्थिक अवस्था खल्बल्याउँदिनँ भनेर निर्माण कम्पनीले कबुल गर्नुपर्छ। नेपालमा पनि यो अपरिहार्य हुनुपर्ने उनले बताए।

‘कुनै पनि सडक बनाउँदा वा खन्दा त्यसले आवागमन, वातावरण र सामाजिक–आर्थिक अवस्थामा कुनै प्रभाव पार्नु हुँदैन,’ उनले भने, ‘प्रभाव पर्यो भने बुझे हुन्छ, हाम्रो इञ्जिनियरिङ विधिमा त्रुटि छ।’

फेरि पनि सडकलाई ‘धूलोको भट्टी’ नबनाउने हो भने सडक विभागले चिनियाँ ठेकेदार कम्पनीसँग यससम्बन्धी सम्झौता गर्नुपर्ने उनको सुझाव छ।

‘सडक इञ्जिनियरिङमा चीन अगाडि छ। अरू विकसित देशले पनि चीनसँग माथ खान्छन्। त्यस्तो देशको कम्पनीलाई धूलो उड्न नदिन के गर्ने थाहा नभएको होइन,’ पराजुलीले भने, ‘हाम्रा अधिकारीले जनसरोकारको मुद्दामा चिनियाँ पक्षसँग आफ्ना कुरा राख्न सकेनन्। उनीहरूसँग छलफल गरेर सम्झौता गर्न सकिन्छ नि।’

कलंकी—महाराजगन्जको निर्माण अवधि तीनदेखि साढे तीन वर्ष हुने विभागले जनाएको छ। त्यो पनि भनेकै समयमा पूरा हुन्छ भन्ने ग्यारेन्टी छैन।

कोटेश्वर–कलंकी खण्ड तीन वर्षमा सक्ने लक्ष्य थियो। सन् २०१३ देखि निर्माण सुरु भएको खण्ड २०१६ सम्म सक्ने भनिएको थियो। भुइँचालो र भारतीय नाकाबन्दीलाई कारण देखाउँदै २०१८ जुलाईसम्म म्याद थपिएको छ।

अन्तिम चरणमा जारी बल्खु–कलंकीको काम सकिँदासम्म मंसिर लाग्ने उपमहानिर्देशक श्रेष्ठ बताउँछन्। उनका अनुसार अहिले कालोपत्रे गरिसकेका केही ठाउँमा वर्षापछि फेरि दोहोर्याएर गर्नुपर्ने हुन्छ।

यसको कारण के भने, बल्खु–कलंकी खण्ड र अरू दुई–तीन ठाउँमा माटो भरेर अग्लो बनाइएको छ। वर्षामा माटो थिचिँदा कालोपत्रे गरिएको सडक चर्किन, भत्किन वा उबडखाबड हुनसक्छ। एक वर्षा सकिएपछि ‘सेटल’ भएको ठाउँमा पछि फेरि ‘फाइनल’ कालोपत्रे गरिन्छ।

यस्तै समस्याहरू कलंकी–महाराजगन्ज खण्डमा पनि नआउलान् भन्न सकिन्न।

पुरानै विधि अपनाउने हो भने दोस्रो चरणको निर्माणमा धूलोधुवाँको थप सास्ती खेप्नुपर्नेछ। त्यो तीन–साढे तीन वर्षभन्दा धेरै समय रहनसक्छ।

चार वर्ष कुइरीमण्डल धूलोले काठमाडौंवासी र काठमाडौं दुवैको स्वरुप बिगारिसकेको छ। यही गल्ती दोस्रो चरणमा नहोस् भन्ने शर्माको आग्रह छ।

‘अब पनि धूलो आतंक मच्चाइरहने हो भने रिङरोड वरपरका मान्छेलाई ठाउँ छाडेर जाओ भन्दिए हुन्छ,’ शर्माले भनिन्, ‘अझै तीन—चार वर्ष काठमाडौंलाई धूलोमा गुम्स्याए यहाँ सास फेर्न लायक ठाउँ नै रहँदैन।’

Mon-May-2018, 03:42 am मा प्रकाशित, 70 जनाले हेर्नुभयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *