बच्चाहरूले ओछ्यानमा पिसाब फेर्छन्? यस्तो छ उपचार

- नेपाली सन्देश

बच्चाहरूले राती नचाहेर पिसाब फेर्ने समस्या (नक्चुरनल एन्युरेसिस) यो उनीहरूमा देखि नै सबैभन्दा प्रमुख समस्या मध्ये एक हो। पाँच वर्ष माथिका बच्चाहरूले राती ओछ्यानमा र दिउँसो लुगा भिजाउने गरी हप्तामा कमसेकम दुई पटक पिसाब गर्दछन् भने यसलाई नचाहेर पिसाब गर्ने समस्या (नक्चुरनल एन्युरेसिस) भएको मानिन्छ।

बच्चाहरूमा देखिने यो समस्याले एकातर्फ परिवार र आफन्तलाई नकारात्मक प्रभाव पार्नुका साथै बालबालिकाको आत्मविश्वासलाई समेत कम गराउने र लजाउने जस्ता मनोबैज्ञानिक असर पनि पर्न सक्छ। अर्कोतर्फ समाजमा यसका बारेमा ज्ञान नभएर बालबालिकाको मनोविज्ञानसँग समबन्धित विभिन्न समस्याहरू उत्पन्न हुनसक्छ। बच्चाहरूलाई तर्साउने, धम्क्याउने तथा दण्डदिने जस्ता कृयाकलापहरुले आजीवन नबिर्सने किसिमको असर पर्नसक्छ।

पाँच वर्ष माथिका बच्चाहरूमा १५ देखि २५ प्रतिशतमा यो समस्या देखिएको छ। बालिकाहरूको तुलनामा बालकहरूमा यो समस्या दुईगुणा बढी छ।

यसका कारणहरू:

    • जेनेटिक्स (वंशाणुगत): नचाहेर ओछ्यानमा राती पिसाब फेर्नुको कारण मध्ये वंशाणुगत कारण प्रथम स्थानमा आँउदछ। आमा बाबुको बाल्य अवस्थामा यो समस्या थियो भने बच्चाहरूमा यो समस्या हुने सम्भावना ५० देखि ७७ प्रतिशत निश्चित हुन्छ।
    • साइकोलोजिकल (मनोबैज्ञानिक): शौचालय शिक्षा (दिसा पिसाव गर्ने आदत बारे बालबालिकालाई शिक्षित गर्ने ) समयभन्दा पहिले शुरु गर्नु, यसबारे कडा नियमहरु लगाउनु , घरमा नयाँ बच्चाको जन्म तथा आगमन हुनु , नयाँ घर सर्नु, धेरै माया गर्नु , धेरै हेला र घृणा गर्नु लगायतका कारणहरूले यो समस्या उत्पन्न गर्न सक्छ।
    • विसुत्ने समस्याहरू : मानसिक बकास उचित रुपमा नभएको कारणले बच्चाहरू गहिरो निन्द्रामा सुत्ने भएकाले पनि यो समस्या देखा पर्दछ।
    • पिसाबको थैलीको समस्या : पिसाब जम्मा हुने थैलीको क्षमता कम भएको खण्डमा पनि यो समस्या देखा पर्दछ।
    • पिसाबको संक्रमण, परजीविहरूको संक्रमण, स्नायु समबन्धि (न्युरोलोजिकल) समस्या, स्वास प्रश्वासमा अवरोध लगायतका विभिन्न कारणले गर्दापनि यो समस्या देखा पर्दछ।
    • खानपिनको कारण : राती धेरै खाना खाने तथा पानी पिउने बच्चाहरूमा पनि यस समस्या देखिन्छ।

उपचार :

यसको उपचारमा सबैभन्दा महत्त्वपूर्ण कुरो लाज र डरको अनुभूतिलाई कम गराउने, परिवार तथा नजिकका आफन्तहरूले बच्चाहरूसँग आफ्ना अनुभवहरू सुनाउने,बच्चालाई ढाडस दिने र उनीहरुको आत्मबल बढाइदिने लगायतका कामहरू गर्नुपर्ने हुन्छ।

    • बानीजन्य उत्प्रेरणा (विहेभियरल मोटिभेसन) : बच्चालाई जहिलेपनि सकारात्मक प्रतिकृया दिनुपर्छ। बच्चा राती सुत्नु अघि र सुतसुकेको दुइघण्टापछि पिसाब फेराउने। बिहान स्कुल जानुअघि, स्कुलमा र स्कुलबाट फर्केपछि फेर्न लगाउनुपर्छ। बच्चाको साँझको खाना र खानापछि पानी कम पिउन दिनुपर्छ। चिया कफी र क्याफिनयुक्त खानेकुरा बढी नुन बढी चिनी भएका खानेकुराहरू खान दिनु हुँदैन।
    • कब्जियतको समस्या छ भने त्यसको निदान तथा उपचार गर्नुपर्छ। धेरै समय टिभि तथा कम्प्युटरमा बसेर खेल्न दिनु हुँदैन। पिसाब गर्दा बच्चाहरुको गोडाले भुँइमा छोएको हुनुपर्छ। राति पिसाब फेर्न जाँदा सजिलो बनाइदिनका लागि बत्ति, चप्पत लगायतका ब्यवस्था गरिदिनुपर्छ। घरमा पारिवारिक कलह बच्चाको अगाडि नगर्ने ठूलो स्वरमा बोल्नु हुँदैन।
    • पिसाब फेरेकै कारण बच्चालाई दोष लगाउनु हुँदैन। बच्चालाई सजाय दिनु हुँदैन। यसो गर्दा उसको समस्या थप बिग्रेर जान सक्दछ। टिभिको भोल्युम कम गर्नु पर्दछ। बच्चालाई उमेर अनुसारको फिल्म हेर्न दिनु पर्दछ। बच्चा घरमा हुँदा डरलाग्दा तथा युद्धका फिल्म हेर्नु हुँदैन। राति पिसाब गरेमा पानी परेको फोटो वा स्टिकर भित्तामा टाँसिदिने र पिसाब नफेरेमा घमाइलो दिन वा स्माइलिङ फेसको स्टिकर हरेकदिन टाँसिदिनुपर्छ। पिसाब फेरेको ओछ्यानलाई सर सफाइ गर्न बच्चालाई पनि सहभागी गराउँदा उसलाई राम्रो अनुभुति हुन्छ।
    • अलार्म उपचार : पिसाब फेर्नु भन्दा पहिले अलार्म बजाउने विधिबाट पनि उपचार गर्न सकिन्छ।
    • पिसाबलाई नियन्त्रण गर्ने विभिन्न अभ्यासबाट पनि उपचार गराउन सकिन्छ।

यी विधि अपनाएमा यस रोगको निदान हुने संभावना ७० प्रतिशत भन्दा बढी छ। यदि यी विधिहरू अपनाउँदा पनि समाधान भएन भने उपचारका लागि बालरोग विशेषज्ञसँग सल्लाह गर्नुपर्ने हुन्छ। बच्चाले नचाहेर पनि राति पिसाब फेर्नु कुनै दोष हैन। यो साधारण समस्या हो जसलाई बच्चा परिवार समाज र परेमा डाक्टर समेत मिलेर समाधान गर्न सकिन्छ।

(बालरोग विशेषज्ञ डा. साह टर्कीको आंकारा स्थित लोकमान हेकिम अस्पतालको बालरोग विभाग प्रमुख हुन्।)

Sat-Jun-2018, 03:09 am मा प्रकाशित, 111 जनाले हेर्नुभयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *