कलंकीचोकमा सारंगीमा जीवन खोज्दै गन्धर्व दाजुभाइ

- नेपाली सन्देश

कलंकीचोकमा बिहानैदेखि भीड लागेको थियो। राजधानी भित्रिने र बाहिरिने गाडीको भीड उस्तै थियो।स्कुल, कलेज जाने मानिसको भीड पनि उस्तै थियो। बस, ट्रक, ट्याक्सी र मोटरसाइकलहरू आउने जाने गरिरहेका थियो।यस्तै भीडैभीड भएको सडकको छेउमा दुई बालक उभिरहेका थिए। उनीहरूले आफूभन्दा ठूलो एकएकवटा झोला पनि बोकेका थिए।

उनीहरू कहिले गाडीको धुवाँमा त कहिले धुलोमा हराउँथे। घरी आँखा मिच्थे, घरी खोक्थे पनि। उनीहरूलाई धुवाँ फ्याँकेर जाने गाडी टाढाटाढा पुगिसकेको हुन्थ्यो तर उनीहरू भने त्यही उभिरहेका हुन्थे।किन होला ? को होला उनीहरू ? मलाई जिज्ञासा लाग्यो। त्यसपछि उनीहरूको नजिक गएँ।उनीहरूको झोलामा त सारंगी पो रहेछ ! गाडी जाम होला कि भनेर कुरेर बसेका रहेछन्, उनीहरू।

त्यसपछि उनीहरूलाई नजिकैको चिया पसलमा लगेर नाम सोधें। उनीहरू दाङ मजगईबाट आएका एउटै बाआमाका तेह्रवर्षे जनक गन्धर्व र एघारवर्षे विराज गन्धर्व रहेछन्। जनक माइलो र विराज कान्छो छोरा रहेछन्। जब गाडी जाममा रोकिन्छ, त्यसपछि दुई दाजुभाइ सारंगी बोकेर गाडीमा पस्छन् अनि सारंगी रेट्दै गीत सुनाउँछन्। यात्रु खुसी भए १०/२० रुपैयाँ दिन्छन्।

उनीहरू सारंगी बोकेर कलंकी चोकमा त्यसैगरी गीत गाउँन थालेको एक वर्ष बितिसक्यो। बुवाले उनीहरूलाई सात वर्षको हुँदा नै सारंगी सिकाएका थिए। बुवा पनि गाउँमै सारंगी बजाउने काम गर्छन्। आमा घरमै बस्छिन्। जनक र विराज गाउँमै स्कुल पढ्दै थिए।

बाख्रा चराउने, गुलेली बोकेर हिँड्ने, फिस्टे चरो मार्ने गर्थे। साँझ साथीसँग मोजाको बल बनाएर खेल्थे। त्यसबेला जनक कक्षा ३ र विराट कक्षा २ मा पढ्दै थिए। फुटबल खेलेर आएपछि बुवाले सारंगी बजाउन सिकाउँथे।

 

एकदिन जनक र विराट बाख्रा चराएर घर आउँदा काठमाडौंको दोहोरी साँझमा काम गर्ने उनको ठूलो दाइ घरमा आएका थिए। चकलेट खाए। साथीलाई पनि बाँडे। त्यसै दिनको राति ठूलोदाइ र बुवाले दुई भाइलाई पनि काठमाडौं लैजाने कुरा उनीहरूले सुने।

केही दिनपछि ठूलो दाइसँगै उनीहरूलाई पनि काठमाडौं लैजाने भइयो। उनीहरूको पढाइ छुट्ने भयो। तर काठमाडौं जान पाउने भएपछि जनक र विराट रमाए। बिहानै दुईवटा झोलामा दुईवटै सारंगी अनि कपडा, भुटेको मकै र गुन्दु्रक पोको पारेर आमाबाले बिदा गरे। त्यसपछि उनीहरू जेठो दाइ हेमराज गन्धर्वसँगै नाइट बस चढेर जागिर खान काठमाडौं आए।

अहिले उनीहरू दाइसँगै नैकाप बस्छन्। बिहानै उठ्छन्। झोलामा सारंगी पोको पार्छन्। अनि कलंकी चोकमा हिँडेरै आउँछन्। जनकले भने, ‘हामी बिहान ७ बजेतिर कलंकी आइपुग्छौं। त्यसपछि दिनभरि यतै हुन्छौं।’ सडक किनारामा गाडी जाम हुने मौका कुरेर बस्छन्। जाम हुनेबित्तिकै बसमा चढेर सानासाना औंलाहरूले सारंगी बजाउन थाल्छन्।

उनीहरूले गाउने गीत धेरै छन्। बुवाले गाउँमा सिकाएको गीत उनीहरूलाई याद छ। दाइले सिकाएको नयाँ गीत पनि उनीहरू सुनाउँदै हिँड्छन्। उनीहरूले सबैभन्दा धेरै सुनाउने गीत हो, ‘खोटाङ जिल्ला दिक्तेल बजार, सम्झनामा आउँछ्यौ हजार। क्याम्पस पढ्न आउनी, सरले उता पढाउनी, हाम्ले आँखा जुधाउनी चित्त बुझाउनी।’

बीचबीचमा उनीहरू हात बाङ्गोबाङ्गो बनाउँदै र्‍याप पनि यसरी गाउँछन्।

सात दुना चौध घर मेरो बौद्ध
धेरै तिमी मोटायौ ब्यानब्यान दौड।

दिउँसो १२ बजेतिर कलंकी छेउको एउटा होटेलमा खाना खान्छन्। मासुभात खाएको एक सय र सादा खाना खाएको ६० रुपैयाँ लिन्छिन् साहुनीले। कहिलेकाहीँ त खाना खानेबेलासम्म पैसा कमाइ हुँदैन। त्यसबेला भोकै बस्छन् उनीहरू। पैसा धेरै भयो भने मासुभात टन्न खान्छन्, थोरै भयो भने सादा भातमै चित्त बुझाउँछन्।

बेलुकी घाम नडुबेसम्म त्यसैगरी सारंगी बोकेर कलंकीचोक वारिपारि गरिरहन्छन्। जब घाम डुब्छ, त्यसपछि सारंगी झोलामा हालेर नैकापतिर लुखुरलुखुर हिँड्दै जान्छन्।

कहिलेकाहीँ त थाकेर होटेलको कुर्सीमै निधाउँछन्। उनीहरूले दिनभरिमा तीनदेखि पाँच सयसम्म कमाउँँछन्। बेलुकी घाम नडुबेसम्म त्यसैगरी सारंगी बोकेर कलंकीचोक वारिपारि गरिरहन्छन्। जब घाम डुब्छ, त्यसपछि सारंगी झोलामा हालेर नैकापतिर लुखुरलुखुर हिँड्दै जान्छन्।

कोठामा पुग्दा खाना पकाइ सकेर दोहोरी साँझमा जान हिँड्न ठिक्क परेका हुन्छन् उनीहरूको दाइ।जनक र विराजले सबैभन्दा धेरै पैसा कमाएको दिन उनीहरूलाई अझै सम्झना छ। दिल्ली जाने बसमा जब उनीहरू सारंगी बोकेर चढे, यात्रुहरू छक्क पर्दै गीत गाउन लगाए।

दाजुभाइले कलंकीको जाममा निकै बेर गीत गाए। अन्तिममा बसका यात्रुले एक हजार भारु पैसा दिए। त्यो पल उनीहरू कहिल्यै बिर्सन सक्दैनन्। अरू यात्रुले पनि १०, २०, ५० र एक सयका नोटहरू दिएका छन्।

उनीहरू कलंकीचोकमा बस्दाबस्दा अल्छी लाग्यो भने कहिलेकाहीँ वरपरका गल्ली र चोक पनि घुम्दै पुग्छन्। कहिलेकाहीँ स्कुलको नजिक पनि पुग्छन्। आफू जस्तै उमेरका साथीहरू स्कुलको कम्पाउन्डभित्र खेलिरहेको, पढिरहेको, बस चढेर आइरहेको पर्खाल वारिबाट हेरिरहन्छन्।

कसैकसैले सारंगी बोकेको देखेर रमाइलो मान्दै हेर्छन् र उनीहरू पनि हाँसिदिन्छन्। आफू स्कुल पढ्दाको सम्झन्छन् उनीहरू। अनि एकआपसमा कुरा गर्दै भन्छन्, ‘हाम्लाई पनि नाम त लेख्न आउँछ।’

Tue-Jun-2018, 08:56 am मा प्रकाशित, 41 जनाले हेर्नुभयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *