तानसेन : पाल्पा माथाँगढी गाउँपालिका पढ्ने उमेरमा केटाकेटी हुर्काउँदै किशोरी आमा

- नेपाली सन्देश

तानसेन : पाल्पा माथाँगढी गाउँपालिका–८ बहादुरपुरकी ठकुमाया जर्घा १५ वर्षकी पुगिन्। उनको काखमा एक वर्षको छोरा छ। विद्यालयमा कापी कलम लिएर पढ्न जाने समयमा ठकुमाया बच्चा स्याहार्दै घर व्यवहार चलाउँदै आएकी छन्।

कक्षा ५ मा पढ्दै गर्दा उनको विवाह भएको हो। १३ वर्षमा बिहे गरेकी उनी एक वर्षपछि आमा बनिन्। हाँस्दै खेल्दै पढ्ने उमेरमा ठकुमाया आमा बनिन्। परम्परा र सामाजिक संस्कारका कारण ठकुमाया जस्तै बहादुरपुरका धेरै किशोरी आमा बनेका छन्।

तराईमा व्याप्त रहेको भनिने बालविवाह पहाडी क्षेत्रमा पनि झन डरलाग्दो छ। पाल्पा बहादुरपुरका धेरै आमा किशोर अवस्थामै भए, पढाइ छाडे। १८ वर्षकै उमेरमा दुई सन्तान जन्माएकाहरूको संख्या पनि निकै छ। उमेर नपुग्दै हुने यस्तो विवाहलाई बहादुरपुरका मगर समुदायले सामान्य मान्दै आएका छन्।

पढ्ने उमेरका यी किशोरीको काखमा छोराछोरी, टाउकोमा सिन्दुर, गलामा पोते र हातमा राता चुराले भरिने गरेका छन्। अधिकांश बालिकाहरू विवाह गरेको एक÷डेढ वर्षमै गर्भवती हुने चलन बहादुरपुरका बालिकाको परम्परा नै बनेको छ।

‘१४÷१५ वर्षकै उमेरमा महिनावारि रोकियो, गर्भ जाचँ गरिदिनुस् न दिदी भनेर स्वास्थ्यचौकी आउने गरेका छन्’, अहेब मीना चौधरीले भनिन्। गाउँमा बालविवाह बढ्दो छ। कलिलो उमेरमै बालिकाहरू गर्भवती भएका छन्। स्वास्थ्यचौकीमा सुत्केरी सेवा छैनन्। गर्भवती भएका अधिकांश बालिका जोखिमपूर्ण अवस्थामा घरमै सुत्केरी हुने गरेको अहेब चौधरीले बताइन्। गाउँमा कार्यरत महिला स्वयंसेविकाहरूसमेत बालविवाहबाट अछुतो छैनन्।

स्वास्थ्य सेवाका खटिएका अधिकांश महिला स्वयंसेवीहरूको १४ देखि १६ वर्षमा विवाह भएको छ।

बहादुरपुर ताकातुङकी निसा ढेगा २० वर्षको उमेरमै दुई बच्चाको आमा बनेकी छन्। १५ वर्षको उमेरमा विवाह गरेकी निसाले १७ वर्षको उमेरमा पहिलो बच्चा जन्माइन्। कक्षा ७ मा पढ्दापढ्दै विवाह गरेकी निसाले साथीहरूले जिस्काउने र शिक्षकहरूसँग देखिन लाज लागेकोले पढ्न छाडेको बताउछिन्।

तराईमा व्याप्त रहेको भनिने बालविवाह पहाडी क्षेत्रमा पनि झन डरलाग्दो छ।

बालविकास आधारभूत विद्यालय बहादुरपुरमा कक्षा ७ मा पढ्दै गरेकी रिसिसरा रानाले १६ वर्षमै विवाह गरिन्। १७ वर्षमै पहिलो बच्चा जन्माइन्। ‘पढ्न छाडियो बच्चासँगै घरमा काम गरेकी छु’, रानाले भनिन्, ‘मैले पढ्न छाडें, बच्चा ठूलो भएपछि राम्रोसँग पढाउने हो।’

धारादेवी माध्यमिक विद्यालय बहादुरपुरमै कक्षा ७ मा पढ्दा पढ्दै हुमा ढेगाले १५ वर्षमै विवाह गरिन् र १६ वर्षमै बच्चा जन्माइन्। ‘समाजको प्रचलन यस्तै छ स्कुल पढ्दा पढ्दै केटासँग कुराकानी हुन्छ, दुवै जनाको मन मिल्यो भने घरसल्लाह नगरी भाग्ने र विवाह गर्ने प्रचलन हाम्रो मगर समुदायमा छ’, हुमा ढेगाले बताइन्।

बहादुरपुरको मगर समुदायमा विवाह गर्न दिन, समय र बार हेर्नु नपर्ने र केटाकेटीको मन मिलेपछि, जुनसुकै समय पनि विवाह हुने गरेको छ। बाआमा पनि यसैगरी विवाह गरे, हामीले पनि यसैगरी विवाह गर्ने हो भन्ने धारणा समाजमा विद्यमान हुँदा बालविवाह मौलाउँदै गएको छ।

बहादुर स्वास्थ्यचौकीको रिपोर्टले बालविवाहको डरलाग्दो अवस्था देखाएको छ। स्वास्थ्यचौकीमा गर्भमा रहेको पहिलो बच्चाको जाँच गर्न आएका शतप्रतिशत बालिका रहेका छन्। गत आर्थिक वर्षमा बहादुर स्वास्थ्यचौकीमा पहिलो बच्चाका लागि १८ जनाले गर्भ परीक्षण गराएका थिए। स्वास्थ्यचौकीमा गर्भ परीक्षण गराउन आएका १८ जनामध्ये, १५ देखि १८ वर्ष उमेरका बालिकाहरू रहेको बहादुरपुर स्वास्थ्यचौकी प्रमुख वेदपाल कुर्मीले बताए।

विद्यालयमा भर्ना भएका अधिकांश बालबालिकाको पढ्दा पढ्दै विवाह हुने गरेको छ। कक्षा ५ देखि विवाहको क्रम सुरु हुन्छ र कक्षा १० मा पुग्दासम्म अधिकांश छात्राको विवाह हँुदै आएको छ। ‘कक्षा ५ देखि छात्रछात्राले भाग्ने र विवाह गर्ने क्रम सुरु गर्छन्, विवाह गरेपछि लाज मानेर विद्यालय छोड्ने गरेका छन्’, धारादेवी माध्यमिक विद्यालयका शिक्षक केशवकुमार दर्लामीले भने। बालविवाह रोक्न विद्यालयले अभियान चलाए पनि संस्कार नै बसेकाले परिवर्तन हुन कठिन भएको उनले बताए।

बालविवाह हटाउन गाउँपालिकाले पनि अभियान चलाउन सुरु गरेको वडाध्यक्ष दिलबहादुर ढेगाले बताए। तर, जनचेतनामूलक कार्यक्रमले मात्र बालविवाहमा कमी नआएको वडाध्यक्ष ढेगाले बताए। पाल्पाको मगर, कुमाल, दलित तथा अल्पसंख्यक समुदायमा परम्परा र संस्कारको नाममा बालविवाह कायम छ। २० वर्ष उमेर नपुगी केटा वा केटीबीच विवाह गरे तथा गराएमा कानुनी कारवाही हुने व्यवस्था भए पनि व्यवहारमा कार्यान्वयन भएको छैन।

 

Mon-Jun-2018, 03:31 am मा प्रकाशित, 23 जनाले हेर्नुभयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *