के जादु छ इन्द्रचोकको लस्सीमा ? बाटै जाम हुनेगरी ग्राहकको भिड

- नेपाली सन्देश

मध्यन्ह ३० डिग्री सेन्टिग्रेटमा रापिएको छ काठमाडौं । हामी इन्द्रचोकमा छौं, जहाँ सधै झै भिडभाड छ । कोलाहाल छ । अग्ला-अग्ला घरहरुको चेपबाट साँघुरो गल्लीमा प्रकाश छिरेको छ । त्यही प्रकाशमा प्रष्टसँग देखिन्छ, धूलाको कणहरु मडारिरहेका ।

अब कल्पना गर्नुहोस्, यस्तो राप र तापले गलेको बेला चिसो लस्सी घुट्काउन पाए कस्तो हुन्छ ?

 

पक्कैपनि आँत भरिन्छ । मन तृप्त हुन्छ । स्वादिलो दहीलाई बेस्सरी घोलेर त्यसमा चार/पाँच दाना किसमिस, आधा चम्चा खुवा पनि मिसाउन पाए ? अहो काइदा हुन्छ ।

यस्तै काइदाको लस्सी पिउनेहरुले घेरिएको छ, मिठो लस्सी घर । यो घर होइन । मन्दिरको साँघुरो चेप हो । गुँठीद्वारा सञ्चालित यही चेपमा सुनिलमान सिंहले लस्सी दोकान चलाएका छन् । उनले चलाएको के भन्नु, स्वतस्फूर्त चलेको छ । मध्यन्ह तपाईं त्यहाँ पुग्नुभयो भने, लस्सी साहु सनिलमानसँग बात गर्ने मौका नमिल्न सक्छ । किनभने उनलाई पैसा सम्हाल्नै फुर्सद भए पो !

लस्सी पिउनेको मेला

हामी हालैको मध्यन्ह इन्द्रचोक पुग्दा मन्दिरको आडमा उभिएर लस्सी पिउनको ठूलो झुन्ड थियो । उनीहरु प्लाष्टिकको डिस्पोजल ग्लासमा उभिएरै लस्सी घुट्काइरहका थिए । यसरी लस्सी पिउनेहरुको भिड कतिसम्म बढ्दै जान्थ्यो भने, त्यही अघिल्तिरबाट कुद्ने साइकल, मोटरसाइकल, रिक्सालाई समेत बाटो मोड्नुपर्ने हुन्थ्यो ।

बिस्तारै भिड जम्मा हुन्थ्यो । पातलिन्थ्यो । फेरि उस्तै भिड जमिहाल्थ्यो । यो उपक्रम मध्यन्ह १२ बजेदेखि ४ बजेसम्म चलिरहने रहेछ । लस्सी साहु सुनिलमान भन्दै थिए, ‘बात मार्ने भए, भोलि बिहानै आउनुहोस् है ।’ बिहान ९ बजेदेखि सुरु हुने उनको यो ‘बिजनेस’ राती आठ बजेसम्म जारी रहने रहेछ ।

यतिबेला उनको साँघुरो दोकानलाई पनि ‘वल्र्डकप’ लागेको छ । सिलिङमा देश-देशका झन्डा टाँगिएको छ । बाहिर पनि झन्डा झुन्ड्याइएको छ । लस्सी बनाउने र सर्भ गर्ने केही युवाहरु छन्, जो पहेंलो जर्सीमा ठाँटिएका छन् । भनौं, उनीहरु ब्राजिलका समर्थक हुन् ।

आखिर जे भएपनि, उनीहरु अघिल्तिर आइपुग्ने आगन्तुकलाई लस्सी सर्भ गर्नै भ्याइ-नभ्याइ छन् । मझौला आकारको भड्डुमा दही र पानी घोल्दैछन् । दुई भिन्न आकारको डिस्पोजल गिलासमा त्यही लस्सी भरिन्छ । त्यसमाथि केही किसमिस राखिन्छ । त्यसपछि खुवा । अब, लस्सी तयार भो । सानो साइजको ४० रुपैयाँ, ठूलोको ७० ।

तोकिएको पैसा बुझायो । लस्सीको गिलास टिप्यो । उभिएरै घुट्क्यायो ।

उखरमौलो गर्मीमा परम्परागत दक्षिण एशियाली पेय लस्सी पिउनु पाउँदा आँत कम्ता रसाउँछ ? तन्नेरीहरु ‘ये दिल मागे मोर’ शैलीमा चिसो-चिसो लस्सी घुट्काइरहेका हुन्थे ।

दिनमै ८ सय गिलास

त्यसो त सुरजमानलाई पैसा लिने, फिर्ता गर्ने फुर्सद थिएन । यस्तै धपेडीका बीच उनी हामीसँग कुरा गरिरहेका थिए ।

हामीले सोध्यौं, ‘दिनमा सरदर कति गिलास बेचिन्छ ।’

जवाफ उनको ओंठमै थियो, ‘८, ९ सौ गिलास ।’

उनको भनाईलाई नपत्याउने कुरा के छ र ? लस्सी खान पालो पर्खेर बसेका भिड देख्दा पनि मोटामोटी अनुमान लगाउन सकिन्छ । त्यस हिसाबले उनले दिनमै औसत ४० हजारको त लस्सी बेच्छन् । यत्तिका लस्सी बेच्नका लागि उनलाई चार जना सहयोगी भए पुग्छ । तर, यो मूख्य सिजनको हिसाबकिताब हो । उनको भनाई अनुसार यस्तो सिजन ६ महिना रहन्छ । बाँकी ६ महिना त रमिता हेर्दै पनि दिन कटाउनुपर्ने हुनसक्छ । तर, रमिता हेर्ने दिनपनि सामान्य कारोबार त भइहहाल्छ ।

केही बर्षअघिको विनासकारी भूकम्पले उनको व्यवसाय चौपट भएको थियो । त्यसबेला उनीकहाँ लस्सी खोज्दै आउने ग्राहकहरु कहाँ गए, कहाँ । तर, पछि क्रमस भिड बढ्दै गयो । र, अहिले त त्यो भिड यस्तो छ, लस्सी सर्भ गर्दागर्दै हात गोडा थाक्छ ।

लस्सीमा स्वाद

मन्दिरको साँघुरो ठाउँमा मुश्किलले खुट्टा तन्काउन मिल्ने ठाउँ छ । त्यही ठाउँमा उनको दोकान छ । त्यही दोकानले उल्कै ग्राहक लोभ्याएको छ । त्यहाँ लस्सी पिउने आउनेको भिड देख्दा अनौठो लाग्छ । जिज्ञासा पनि उठ्छ, आखिर किन यहाँको लस्सी भनेपछि यत्ति मरिहत्ते ?

‘गर्मी छ, यस्तो बेला लस्सी पिउनेहरु जतिपनि भइहाल्छन्’ सुनिलमान भन्छन्, ‘तर, लस्सी स्वादिलो चाहि हुनुपर्छ । सफा पनि ।’

उनले सर्भ गर्ने लस्स स्वादिलो छ, सफा पनि । एउटै ग्राहक पटक-पटक आइपुग्छन् । बुढाबुढी, तन्नेरी, किशोरकिशोरी सबै एक पटक रोकिएर लस्सी घुट्काउँछन् । यसो हुनुमा उनले लस्सीको स्वाद र गुणस्तरमा ध्यान दिएका छन् । सर्भिसमा पनि ।

दही उनले बाहिरबाटै झिकाउँछन् । खुवा बनेपाबाट । ‘क्वालिटी मेन्टेन गर्छु’ सुनिलमान भन्छन्, ‘यहाँको लस्सीले पेट दुख्ने केहीपनि हुँदैन । ढुक्कले खानुभए हुन्छ ।’

हुन त लस्सीको विभिन्न भेराइटी हुन्छ । यसलाई अनेक फ्लेबरमा सर्भ गर्न सकिन्छ । तर, इन्द्रचोकको यो दोकानमा भने एकैथरीका लस्सी पाइन्छ । तर, त्यही लस्सी सम्झदा धेरैको जिब्रोमा पानी आउँछ ।

सानो लगानी, सजिलो काइदा

९ बर्षअघि सुनिलमान सिंहको मनमा एउटा बिचार फुर्‍यो, लस्सी बेच्ने । इन्द्रचोकका रैथाने उनी पूख्र्यौली व्यापारमै थिए । पूख्र्यौली कारोबार थियो, चकलेटको ।

सुनिलमानले चकलेट मात्र बेचेनन् । अरु व्यापार पनि गरे । तर, जे गरेपनि चित्त बुझेन । उनले आफ्नो टोलको माहौल नियाले । अहो, यहाँ लस्सी बेच्न पाए चल्थ्यो होला । यस्तै सोचें । सोचेका थिए, दिनमा तीन/चार सय गिलास लस्सी बेच्न पाए पनि जिन्दगी त चल्छ ।

अन्ततः डीप फ्रिज खरिद गरे । दुई वटा । मोटामोटी लगानी यत्ति हो । दुई वटा डीप फ्रिजका लागि त्यस्तै एक लाख रुपैयाँ खर्च भयो । दुई जनालाई सहयोगी राखे । दहीको जोहो गरे । खुवाको व्यवस्था गरे । किसमिस ल्याए ।

गुठी अन्र्तगत सञ्चालित मन्दिरको कुना भाडामा लिए । दोकान थापे । सुरुका दिन केही ग्राहक आए । लस्सी पिए । जतिले लस्स पिए, उनीहरुले नै उनको प्रचार गरिदिए । किनभने लस्सीको स्वाद गजब थियो । यसरी एकान, दोकान, मैदान भयो । व्यापार अपार भइदियो । सोचेका थिएनन्, दिनहुँ ८ सय जनालाई लस्सी सर्भ गरौला । नसोचेको भइदियो । ‘जे होस्, खुसी लागेको छ’ यसो भन्दै गर्दा उनी असिन-पसिन भइसकेका थिए, ‘राम्रै छ भनौं, अरु के भन्नु र ?’ ग्राहकका भिडले उनलाई छोपिहाल्यो ।

Thu-Jun-2018, 11:36 am मा प्रकाशित, 34 जनाले हेर्नुभयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *