किनमेलको नयाँ स्वाद

- नेपाली सन्देश

काठमाडौं : भवन बाहिरबाट ट्रली गुडाउँदै छिरिरहेका ग्राहकको संख्या उल्लेख्य देखिन्छ । गह्रौँ झोला बोकेर बाहिरिनेहरू पनि उत्तिकै छन् । बाहिर आँगनछेउमा फोहोराबाट पानी बर्सिरहेको मोहक दृश्य छ । साना केटाकेटी वरपर दगुरिरहेका देखिन्छन् । परिवारसँग सेल्फी खिच्नेहरू नहुने कुरै भएन । अर्को छेऊमा खाजाका स्टलमा तातो मम खानेको घुइँचो छ । पार्किङ सुविधा भएकाले सवारी साधनसहितका ग्राहक सोझै पार्किङ लटमा पुगिरहेका छन् । भवनभित्र उस्तै झिलिमिलि छ– एकपछि अर्काे स्टल चहार्दै आवश्यक सामान बकेटमा हाल्न भ्याईनभ्याई ग्राहक देखिन्छन् । काउन्टरमा बिल तिर्नेहरू जसरी पंक्तिबद्ध छन्, त्यसरी नै ग्राहक सेवामा तत्पर छन् सफेद पहिरनमा सजिएका कर्मचारीहरू ।

कलंकीस्थित भाटभटेनी सुपरमार्केटको नियमित दृश्य हो यो ।

आवश्यक सामान खोजी गर्दै गरेकी कलंकी, खसीबजारकी रमिला मानन्धर त्यहीँ भेटिइन् । आधा घण्टादेखि स्टोर चहारिरहेकी उनले सुनाइन्, ‘घरका लागि खत्राकखुत्रुक सामान किन्न आएको । चाहिएको सामान त किनेँ, अर्थाेक पनि हेरौँ भनेर घुमिरहेको ।’ उनको हातमा पहिल्यै एउटा भरिभराउ झोला थियो । घरमा जरुरी भाँडाकुँडा किनेर फर्किने तरखरमा थिइन् रोजिता भण्डारी । हाँस्दै भनिन्, ‘सामान छानीछानी किन्न पाइन्छ, केही नकिनी यसै घुम्न पनि रमाइलो हुन्छ ।’

सामान खरिदसँगै समय व्यतित गर्न र रमाइलो गर्न पनि सुपरमार्केट धाउने चलन सहरमा बढ्न थालेको छ ।

काठमाडौंवासीले सामान खरिद गर्ने कामलाई उत्सवका रूपमा मनाउन थालेको धेरै भएको छैन । २०५० सालमा विशालनगर भाटभटेनी मन्दिर छेऊ, मन्दिरकै नाममा यस्तो स्टोर खुल्दा किनमेल संस्कृतिको अंग बनिसकेको थिएन । अहिले भने भाटभटेनी नामले मन्दिर होइन, यस्तै बजार बुझिन्छ ।

पछिल्लो दुई दशकमा काठमाडौं, ललितपुर र राजधानीबाहिरका सहरमा समेत शाखा विस्तार गरेको भाटभटेनी स्टोरका सञ्चालक मीनबहादुर गुरुङ भन्छन्, ‘परम्परागत ढंगले चलिरहेको किरानाजस्तो व्यापारलाई आधुनिक बनाउन खोजेको मात्र हो । विश्वबजारमा चलेका रिटेल स्टोरकै अनुकरण गरेको हो मैले ।’ अहिले दैनिक ४० हजार ग्राहक आफ्नो स्टोरमा आउने गरेको भाटभटेनीको दाबी छ ।

काठमाडौं रजिस्ट्रारको कार्यालयको तथ्यांकअनुसार भाटभटेनीबाहेक यहाँ २३ वटा डिपार्टमेन्ट स्टोर सञ्चालनमा छन् । आफ्नो स्टोरबाट दैनिक ३५÷४० हजारसम्मको कारोबार हुने बताउँछन्, माया बजार चावहिलका राजन चक्रधर । उनको परिवारले करिब २० वर्षअघि यो स्टोर सुरु गरेका थिए । राजन भन्छन्, ‘बेलुकीपख ग्राहकको भीडले सामान दिन पनि भ्याइँदैन ।’ काठमाडौंका अनेक ठाउँमा शाखा विस्तार गरिरहेको बिग मार्टका स्टोरहरूमा पनि साँझपख उस्तै भीडभाड हुन्छ ।

काठमाडौंबाहिर धरान, विराटनगर, इटहरी, दमक, धनगढी, चितवनजस्ता सहरमा समेत डिमार्टमेन्ट स्टोरहरू सञ्चालनमा रहेको कम्पनी रजिस्ट्रार कार्यालयको तथ्यांकले बताउँछ । ०५० सालपछिको अढाइ दशकमा देशभरि ४५ वटा डिपार्टमेन्ट स्टोर दर्ता भएको देखिन्छ । यद्यपि मार्ट वा ग्रोसरीजस्ता नाम राखेका सबै स्टोरहरूले डिमार्टमेन्ट स्टोरका रूपमा आफूलाई दर्ता नगराएका हुन सक्छन् ।

फरक स्वादको आकर्षण

नेपालका सबै ठाउँमा अधिक संख्यामा देखिने किराना पसलभन्दा डिपार्टमेन्ट स्टोर फरक हुन्छन् । स्टोरको सजावट र सामानको व्यवस्थित रखाइका लागि नै अतिरिक्त लगानी गर्ने गरेको स्टोर सञ्चालकहरू बताउँछन् ।

ग्राहकबीच ब्रान्ड स्थापित गर्न स्टोरले आफूलाई चिनाउन खास रङको चयन गरेका हुन्छन् । जस्तो, भाटभटेनी स्टोर भन्नासाथ आकासे रङको भवन सम्झना आउँछ भने बिग मार्ट भन्यो भने सुन्तला रङमा सजिएको चौडा पसल । स्टोरभित्रको सरसफाइ, घरमा चाहिने सबै सामान एकै ठाउँमा पाइने व्यवस्था, ग्राहकलाई सजिलै सामान हात लगाउन खटाइएका कर्मचारी, सामानका मूल्य सहजै बुझिने प्राइस ट्याग, नजिकै राखिएका एटीएम मेसिन, एटीएम कार्डबाट सजिलै पैसा तिर्न सकिने लगायत सुविधाको उपलब्धताले यस्ता स्टोरमा ग्राहकको घुइँचो बढ्न थालेको अनुमान गरिन्छ । ‘मध्यम र उच्च वर्गका मान्छेलाई सुविधा दिने र मनोवैज्ञानिक रूपमै प्रभाव पार्ने भएकाले यस्ता स्टोरमा ती वर्गका ग्राहकको आकर्षण बढ्न थालेको हो’, समाजशास्त्री ईश्वरी भट्टराई बताउँछन् ।

‘फक्स न्युज’मा २०१३ जुलाई १२ मा प्रकाशित ‘हाउ स्टोर्स गेट यु टु बाइ मोर विदाउट यु रियलाइजिङ इट’ शीर्षकको लेखमा भनिएको छ– ‘डिपार्टमेन्ट स्टोरको वातावरण एकदमै प्रभावशाली हुन्छ, जसले तत्काल आवश्यक नभएको सामान पनि खरिद गर्ने बनाउँछ ।’ टेक्सस विश्वविद्यालयका मनोवैज्ञानिक तथा ‘स्मार्ट थिंकिङ’ किताबका लेखक आर्ट मार्कम्यानलाई उधृत गर्दै फक्स न्युजले भनेको छ, ‘सामानहरू सजिलै भेटियो वा देखियो भने ग्राहक त्यसतर्फ आकर्षित हुन्छन् । खास आवश्यकता नभए पनि ती सामान आफूलाई चाहिएको महसुस गर्न थाल्छन् ।’

स्टोर राखिएको ठाउँले समेत व्यापारमा फरक पार्ने बताउँछन् स्टोर सञ्चालक मिनबहादुर गुरुङ । स्टोर खोल्नुअघि तोकिएको ठाउँबारे अध्ययन गर्ने गरेका छन् उनले । बसोबासको घनत्व, त्यहाँ रहेका परिवारका औसत आय लगायत विषयमा अन्दाज गरेर मात्रै स्टोर खुल्ने गरेको बताउँछन् । ‘उपयुक्त ठाउँमा खोलिएको स्टोरमा ग्राहकको उपस्थिति बाक्लो हुन्छ,’ उनले भने, ‘त्यहाँभित्र सेवासुविधा, सजावट अत्यावश्यक हुन्छ । त्यसो नगर्ने हो भने सामान्य किराना पसलमा जानु र स्टोरमा आउनुबीच फरक नै रहँदैन ।’

समाज अध्येता र स्टोर सञ्चालकले भनेजस्तै अनुभव सुनाउँछन् डिपार्टमेन्ट स्टोरका ग्राहकहरू । धापासीकी पूजा काफ्ले मेघा बैंककी कर्मचारी हुन्, जो महिनामा दस पटकभन्दा बढी डिपार्टमेन्ट स्टोर जाने गर्छिन् । ‘एकथोक सामान लिन गयो, अरु–अरु थोक पनि किन्न मन लाग्छ । किनेपछि पैसा खर्च हुने नै भयो,’ उनले भनिन्, ‘स्टोर पुगेपछि सबै सामान लान पाए हुन्थ्यो जस्तो लाग्छ ।’

एकपटक स्टोर पुग्दा आधा घण्टाभन्दा बढी समय बिताउँछन्, कोटेश्वर बस्ने सुजित पाण्डे । ‘कहिलेकाहीँ त सबै सामान आवश्यक छ जस्तो लाग्छ र गाह्रो पर्छ, पैसा छैन भने अर्काे पटक आएर किन्ने गरेको छु ।’

विलियम एपलबौम र रिचार्ड एफ. स्पियरले ‘अमेरिकन मार्केटिङ एसोसियसन’का लागि तयार पारेको अनुसन्धानमुलक लेख ‘कन्ट्रोल्ड एक्सपेरिमेन्टेसन इन मार्केटिङ रिसर्च’ मा ग्राहक र डिपार्टमेन्ट स्टोरबीचको व्यापारिक सम्बन्ध केलाइएको छ । ‘एउटा ग्राहकले स्टोरका सबै सामान एकै पटक किन्दैन । आर्थिक समस्या पनि हुन सक्छ । तर विस्तार–विस्तार एकपछि अर्काे सामान किन्दै जान्छ,’ अनुसन्धानमा भनिएको छ, ‘नयाँ आएका र परिष्कृत उत्पादनहरूले ग्राहकलाई आकर्षित गर्छ । स्टोरहरू पनि त्यही चाहन्छन् ।’

मुख्य ग्राहक मध्यमवर्गीय महिला

स्टोर सञ्चालकका अनुसार स्टोरमा अधिक संख्यामा आउने ग्राहक महिला छन् । क्रयशक्ति राम्रो भएका यस्ता महिलाहरू भान्सामा चाहिने सामाग्री, सजावटका सामान, कपडा र खाद्यान्न खरिद गर्न आउँछन् । ‘महिलाको तुलनामा पुरुष कमै आउँछन्,’ माया बजारका राजन चक्रधर भन्छन्, ‘हाम्रो समाजका पुरुष भान्सामा खासै काम गर्दैनन् । त्यसैले उनीहरूलाई घरमा के सामान आवश्यक छ भन्ने थाहा हुँदैन ।’

गोर्खा डिपार्टमेन्ट स्टोरका सञ्चालक बलराम आचार्यको अनुभव पनि त्यस्तै छ । ‘सामान किन्न सचेत हुने हुनाले स्टोरहरूमा महिलाको संख्या बढी देखिएको होला,’ उनले भने, ‘पुरुष ग्राहक आउँदै नआउने होइनन् तर महिलाको संख्या एकदमै धेरै छ ।’

डिपार्टमेन्ट स्टोरको इतिहासलाई महिलाको स्वतन्त्रतासँग पनि जोड्ने गरिन्छ । ‘हाउ नाइन्टिन्थ सेन्चुरी वुमन युज्ड डिपार्टमेन्ट स्टोर्स टु गेन दियर फ्रिडम’ शीर्षक लेखमा एरिन ब्लेकमोर भन्छिन्, ‘उपभोक्तावादले स्वतन्त्रता पनि दिलाउँछ भनेर सोच्नु अहिले अमिल्दो कुरा लाग्छ । तर १९औँ शताब्दीमा डिपार्टमेन्ट स्टोर मध्यम र उच्च वर्गका महिलाका लागि नयाँ अवसर बनेर देखाप¥यो । सहरी क्षेत्रमा खुलेका स्टोरहरूमा महिलाको चाप हुन्थ्यो । सामान किन्ने निहुँमा उनीहरू घुम्न पाउँथे । स्टोरहरूमा जाने भनेपछि घरबाट बाहिर निस्कँदा पुरुषको साथ लागेर जानु पर्दैनथ्यो । यसले महिलाहरूलाई पहिलेभन्दा स्वतन्त्र र शक्तिसम्पन्न पनि बनाउँदै लग्यो ।’

काठमाडौंमा यसरी ‘स्वतन्त्र भएर’ स्टोर धाउन मन पराउने महिलाको संख्या बढ्न थालेको छ । नेपालजस्तो पितृसत्तात्मक समाजमा ग्रोसरी सामान किन्न हिचकिचाउने पुरुष पनि हिजोआज स्टोर पुगेर घरभित्र चाहिने सामान किन्न थालेका छन् । महिला होइन, डिपार्टमेन्ट स्टोरले खासगरी मध्यम र उच्च वर्गलाई आफ्ना ग्राहकको रूपमा बुझेको समाजशास्त्री भट्टराई बताउँछन् । उनी भन्छन्, ‘जति मान्छेको क्रयशक्ति बढ्दै गयो त्यति नै बजारले भिन्नभिन्न रूपमा यस्ता स्टोरको विकास गर्छ, जहाँ गएर ग्राहकले सपिङको मजा लिन सकोस् र समय व्यतित गर्न सकोस् ।’ क्रयशक्ति नभएका तल्लो वर्गका मान्छे यस्ता स्टोरमा पस्ने आँट नगर्ने र पसे पनि आफूलाई तदनुकूल गर्न नसक्ने भट्टराईको भनाइ छ ।

यस्तो छ डिपार्टमेन्ट स्टोरको इतिहास

सवा दुई सय वर्षअघिको ‘हार्डिङ, होवेल एन्ड कम्पनी’लाई विश्वको पहिलो डिपार्टमेन्ट स्टोरका रूपमा चिनिन्छ । लन्डनको पलमल स्ट्रिटमा सन् १७९६ मा खुलेको यो स्टोरलाई चार भिन्न भागमा विभाजन गरिएको थियो । कपडा, खाद्यान्न, गहना, पफ्र्युम, घडी, टोपी र अन्य सजावटका सामान बेच्न राखिन्थ्यो । जोनाथन ग्लान्सीले बीबीसीका लागि तयार पारेको ‘डिपार्टमेन्टल स्टोरको इतिहास’ लेखमा यही कम्पनीलाई पहिलो डिपार्टमेन्ट स्टोर भएको दाबी गरेका छन् ।

१८औँ शताब्दीमा सुरु भएको औद्योगिक क्रान्तिपश्चात यस्ता डिपार्टमेन्ट स्टोरहरूले बजार पाए । एस्ली लेनले सन् २०१५ मा द नेसनलमा छापिएको ‘द राइज एन्ड रिलेभेन्स अफ द डिपार्टमेन्टल स्टोर’ शीर्षक लेखमा भनेका छन्, ‘औद्योगिक क्रान्तिसँगै मध्यमवर्गीय परिवार बढ्न थाल्यो । उनीहरूलाई कमाएको पैसा खर्च गर्ने ठाउँ चाहिएको थियो । मध्यमवर्गीयले सुविधायुक्त सामान किन्न पैसा खर्च गर्न थाले । यही परिवेशमा खुलेको हो– हाडिङ, होवेल एन्ड कम्पनी ।’ यद्यपि सन् १७३४ मा डेर्बीमा खुलेको ‘बनेट’लाई पहिलो डिपार्टमेन्ट स्टोरको रूपमा चिनाउनेहरू पनि छन् ।

औद्योगिक क्रान्ति चल्दै गर्दा पेरिसमा पनि डिपार्टमेन्टल स्टोर खुल्न थालिसकेका थिए । फिलिप स्टिड म्यानले लेखेको ‘द चेन्जिङ डिपार्टमेन्ट स्टोर विल्डिङ, १८५०–१९४०’ शीर्षक जर्नल लेखमा भनेका छन्, ‘१८७४ मा खोलिएको ‘औ बोन मार्से’ त्यसबेला सबैभन्दा सफल र ठूलो डिपार्टमेन्टल स्टोर थियो, जसका पाँचवटा भवन थिए । सन् १८४० मा पेरिसमा रेल रोडको स्थापना भएसँगै डिपार्टमेन्ट स्टोरमा कारोबारका लागि मानिसहरू विभिन्न ठाउँबाट आउँथे ।

‘आर्नाेल्ड कन्स्ट्याबल एन्ड कम्पनी’लाई अमेरिकाको पहिलो डिपार्टमेन्ट स्टोर मानिन्छ । १८२५ मा स्थापना भएको यो स्टोर १ सय ५० वर्षपछि १९७५ मा बन्द भयो । यसका मालिक आरोन अर्नाेल्ड थिए । इसाडोर बार्मासेफ्बले ११ फेब्रुअरी १९७५ का दिन ‘द न्युयोर्क टाइम्स’मा लेखे, ‘आर्नाेल्ड कन्स्ट्याबल एन्ड कम्पनी सुरु भएको १ सय ५० वर्षपछि बन्द भयो । यो अमेरिकाको सबैभन्दा पुरानो डिपार्टमेन्ट स्टोर थियो ।’ आर्नाेल्डले सहरका अन्य भागहरूमा पनि स्टोरहरू खोलेका थिए ।

त्यस्तै, अमेरिकामा १८४६ मा अलेक्जेन्डर टर्नी स्टेवार्टले ‘मार्बल प्लेस’ नामक व्यापारिक स्थान खोले । यसपछि भने अमेरिकामा डिपार्टमेन्ट स्टोरको संख्या बढ्न थालेको थियो । अलेक्जेन्डर टर्नी स्टेवार्टलाई अमेरिकाको डिपार्टमेन्ट स्टोरको इतिहासमा छुटाउन नहुने नामका रूपमा लिइन्छ । उनले सन् १८६२ मा न्युयोर्कमा ‘ड्राइ गुड्स’ स्टोर खोलेका थिए । सफलता हात पारेपछि उनले सन् १८४८ मा ‘मार्बल ड्राइ गुड्स’ नामक नयाँ डिपार्टमेन्ट स्टोर चलाए । सन् १८६२ मा त उनले डिपार्टमेन्ट स्टोर नै चलाउनका लागि ठूलो भवन बनाए । इन्साइक्लोपेडिया डटकमले भनेको छ, ‘डिपार्टमेन्ट स्टोरका लागि खोलिएको यो भवनलाई त्यतिबेलाको सबैभन्दा ठूलो व्यापारिक (रिटेल) भवन मानिन्छ ।’

विश्वभरि एकपछि अर्काेगर्दै डिपार्टमेन्ट स्टोरको खोल्ने क्रम बढ्दै गयो । १९ औँ शताब्दीको मध्यतिरबाट अस्ट्रेलिया, चिली, हङकङ, डेनमार्कमा पनि धमाधम यस्ता स्टोर खुल्न थाले ।

अब डिपार्टमेन्टल स्टोर विश्व बजारका लागि कुनै नौलो रहेन । संसारमा झकिझकाउ डिपार्टमेन्ट स्टोरहरू खुलेका छन् ।

संसारका सुन्दर र उत्कृष्ट १० डिपार्टमेन्ट स्टोर

लि बोन मार्च (पेरिस)

सेलफ्रिज (लन्डन)

बर्गडर्फ गुडम्यान (न्युयोर्क)

गम (मस्को)

इलुम्स बोलिघस (कोपनहेगन)

इसेतान (कंगो)

ग्यालरिज लाफायट्टे (पेरिस)

हारोड्स (लन्डन)

कौफौस डेस वेस्टन (बर्लिन)

नोरडिस्का कम्पानियन्ट (स्टकहोल्म)

स्रोतः सीएनएन, ६ अप्रिल २०१७

Sat-Jul-2018, 02:41 am मा प्रकाशित, 85 जनाले हेर्नुभयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *