‘नेयमारलई बिदाइ’ भन्दै बेल्जियमको जितमा अर्जेन्टिनाका समर्थकको खुसीयाली

- नेपाली सन्देश

काठमाडौं । शुक्रबारको खेलमा बेल्जियमले ब्राजिलमाथि जित हासिल गरेसँगै अर्जेन्टिनाका समर्थकहरुले खुसीयाली मनाएका छन् । अन्तिम १६ को खेलमा फ्रान्ससँग हारेर बाहिरिएको लियोनेल मेस्सीको टोलीका सामर्थकहरुले दक्षिण अमेरिकी प्रतिस्पर्धी ब्राजिलको हारमा खुसीयाली मनाएका हुन् ।

रसियामै रहेका अर्जेन्टिनाका समर्थकहरुले शुक्रबार मस्को फ्यान पार्कमा खुसी मनाएका हुन् । उनीहरुले ‘नेयमारलई बिदाइ’ भन्ने गीत गाउँदै खुसी साटासाट गरेका थिए । इटालियन लोक गीतको भर्सनमा उनीहरुले नेयमारको गीत बनाएका थिए ।

उनीहरु यसअघि नेयमारले खेल मैदानमा धेरै नाटक गरेको भन्दै आलोचना गर्दै आएका थिए । यस्तोमा नेयमारले आफ्नो टोलीलाई रुस विश्वकपमा सेमिफाइनलको बाटो देखाउन नसकेका हुन् । शुक्रबार ब्राजिलले अन्तिम समयमा केही राम्रो मौका बुनेको थियो । साथै आक्रमणको केही राम्रो प्रयास गरेको थियो तर उसले हारलाई टार्न भने सकेन ।

नेयमारलाई यसपटकको उपाधि आफ्नो टोलीलाई दिलाउँदै साबित गर्ने मौका रहेकोमा बेल्जियमसँगको हारसँगै उनको सपना चार वर्षको लागि धकेलिएको हो ।

शुक्रबारको खेलमा ब्राजिलका फर्नान्डिन्होले गरेको आत्मघाती गोलबाट अग्रता लिएको बेल्जियमका लागि केभिन डि ब्रुयनले दोस्रो गोल गरेका थिए । खेलको दोस्रो हाफमा सब्स्टिच्युट खेलाडी रेनाटो अगस्टोले गोल गर्दै ब्राजिललाई खेलमा फर्काउने प्रयास गरेका थिए । त्यसपछि खेलमा कुनै गोल हुन सकेन र बेल्जियम २–१ गोलले विजयी भयो ।

यससँगै मेस्सीजस्तै नेयमार पनि आफ्नो टोलीलाई विश्वकपको उपाधि दिलाउनबाट वञ्चित भएका छन् । यसले अर्जेन्टिनाका समर्थकहरुलाई अन्तिम १६ मा व्यहोरेको हारको पीडामा केही राहत मिलेको हो ।

Sat-Jul-2018, 12:07 pm मा प्रकाशित, 36 जनाले हेर्नुभयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *