असार २० गते नेपाली कांग्रेसले माइतीघरको निषेधाज्ञा तोड्यो । नेविसंघ पूर्वअध्यक्ष पौडेलको नेतृत्वमा निषेधाज्ञा तोड्ने

- नेपाली सन्देश

२५ असार, काठमाडौं । यही असार २० गते नेपाली कांग्रेसले माइतीघरको निषेधाज्ञा तोड्यो । नेविसंघ पूर्वअध्यक्ष पौडेलको नेतृत्वमा निषेधाज्ञा तोड्ने कार्यक्रममा नेविसंघ वर्तमान अध्यक्ष नैनसिंह महर नेतृत्वको समूह सहभागी भएन ।

माइतीघरमा निषेधाज्ञा तोडिरहँदा महर भने डा. गोविन्द केसी र गंगामाया अधिकारीका माग पूरा गर्ने पहल गरिदिन अनुरोधसहित मानवअधिकार आयोगको कार्यालय पुल्चोकमा ज्ञापन पत्र बुझाउन गएका थिए ।

 

आज सोमबार महरको नेतृत्वमा माइतीघर मण्डलाको निषेधाज्ञा तोड्ने कार्यक्रम छ । तर, सो कार्यक्रममा रामचन्द्र पौडेल–कृष्णप्रसाद सिटौला समूहका नेविसंघ नेता–कार्यकर्ताहरु सहभागी हुने छैनन् । किनभने माइतीघरको प्रदर्शनको समयसँग जुध्ने गरी महामन्त्री कुन्दन काफ्ले समूहले वाल्मिकी विद्यापीठमा अलग्गै बैठक आयोजना गरेको छ ।

नेविसंघ अध्यक्ष महरले माइतीघरको प्रदर्शन पूर्वनिर्धारित भएको र वाल्मिकीको कार्यक्रमबारे जानकारी नभएको दावी गर्दछन् । उता काफ्लेले महामन्त्रीले बैठक आह्वान गर्दा अध्यक्ष महरले विरोधको कार्यक्रम गरेर जग हसाएको टिप्पणी गर्छन् ।

गुटबन्दीले ग्रस्त नेपाली कांग्रेसको भ्रातृ संगठनमा यस्तो बिचित्रको विरोध केही दिनयता जारी छ । यसअघि मूल्य वृद्धिको विरोधमा नेविसंघले सरकारविरुद्ध प्रदर्शन गरेको थियो । त्यो विरोध प्रदर्शन पनि गुटैपिच्छे फरक–फरक थियो । गुटगत मानसिकताले एकअर्कालाई निषेधको राजनीति गर्दा सरकारलाई दबाव दिने उद्देश्यले हुने गरेका नेविसंघका प्रदर्शन प्रभावकारी पनि हुन सकेका छैनन् ।

महाधिवेशन अगाडि मारामार

पौडेल–सिटौला पक्षले संस्थापन पक्षलाई काउन्टर दिन भन्दै समानान्तर गतिविधि जारी राखेको छ । यसअघि अध्यक्ष महरलाई नै स्पष्टिकरण सोधिएको थियो भने सुन्दरीजलस्थित वीपी कोइराला संग्रहालयमा एकै स्थानमा दुवै समूहले जिल्ला सभापतिहरुको भेला तथा प्रशिक्षण आयोजना गरेका थिए । यद्यपि पार्टी नेतृत्वको हस्तक्षेप पछि दुवै समूहले कार्यक्रम स्थगित गरे ।

अबको एक महिनामा नेविसंघको वर्तमान कार्यसमितिको कार्यकाल समाप्त हुन्छ । किनभने आगामी साउन २३ गते महाधिवेशन भएको दुई वर्ष पूरा हुन्छ । अध्यक्षलाई थप तीन महिना कार्यकाल थप्न पाउने अधिकार विधानमा छ । त्यसपछि कार्यसमिति स्वतः भंग हुन्छ ।

नेविसंघको आगामी महाधिवेशनको परिणामलाई आ–आफ्नो पक्षमा पार्ने दाउमा नेताहरु छन् । तर, हालसम्म भएका सबै भ्रातृ संस्थाको महाधिवेशनमा पराजित भएको देउवा समूहलाई नेविसंघको नतिजा पनि सुखद नहुने आकलन गर्न सकिन्छ । त्यसैले महाधिवेशन नगराउने नियतका साथ अध्यक्ष महर अगाडि बढेको आरोप महामन्त्री कुन्दन काफ्ले नेतृत्वको समूहको छ ।

महामन्त्री काफ्ले भन्छन्– हामी महाधिवेशन समयमा सम्पन्न गर्न अनवरत रुपमा लागिरह्यौं । तर अध्यक्ष ज्यू बिगार्न लाग्नुभयो । महाधिवेशन नगराउने कुनियतले नै जथाभावी मनोनयन गरेको सुनिँदै आएको छ । जसलाई हामी बहुमत सदस्यहरुले खारेज गरिसकेका छौं ।

यसअघि असार २० गते वाल्मिकीमा बसेको काफ्ले नेतृत्वको समूहको बैठकले अध्यक्ष महरबाट भएका नियुक्तिलगायतका सबै निर्णयहरु खारेज गरेको भन्दै विज्ञप्ति सार्वजनिक भएको थियो । सो विज्ञप्तिमा महामन्त्री काफ्लेसहित उपाध्यक्षहरु प्रकाश राना, नविन राई, डिल्लीराम सुवेदी र रामप्रसाद अधिकारीको हस्ताक्षर छ ।

नेविसंघ प्लेग्राउण्ड बन्यो: अध्यक्ष महर

नेविसंघ अध्यक्ष महर भने विधानले आफूलाई दिएको अधिकारअनुसार नै संस्थागत निर्णय गरेको बताउँछन् । तर, केही स्वार्थी समूहले गर्दा सिर्जना हुने गरेको उनको भनाइ छ ।

उनी यसलाई पार्टी भित्रको ह्याङ ओभर भातृसंस्थामा प्रतिविम्वित भएको टिप्पणी गर्छन् । ‘पार्टीका हरेक एक नेतासँग निकट एकजना–दुईजना केन्द्रीय सदस्यहरु संगठनभित्र छन्,’ अध्यक्ष महर भन्छन्, ‘पार्टीमा केही कुरा नमिल्नेबित्तिकै प्लेग्राउण्डका रुपमा नेविसंघलाई प्रयोग गरेर समस्या खडा गरिन्छ र आफ्नो स्वार्थपूर्ति गरिन्छ ।’

Mon-Jul-2018, 04:49 am मा प्रकाशित, 54 जनाले हेर्नुभयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *