फोरम नेपाल भन्छः राजपा एक्लै दौडिएर प्रथम हुन खोज्यो

- नेपाली सन्देश

६ साउन, सप्तरी । २३ फागुन ०७३ सप्तरीका लागि कालो दिन बनेर आएको थियो । यस दिन जिल्लाको मलेठमा प्रहरीले चलाएको गोली लागेर पाँच जनाको ज्यान गएको थियो भने दर्जनौं घाइते भएका थिए । यो घटनापछि सप्तरी झण्डै दुई सातासम्म तनावग्रस्त बन्यो ।

तत्कालीन नेकपा एमालेले मेची–महाकाली राष्ट्रिय अभियान प्रारम्भ गर्न लाग्दा मधेशी मोर्चाले सप्तरीमा हुन नदिने जनाएको थियो । शुरुमा एमालेको सभा राजविराजको राज रंगशालामा हुने तय भए पनि मोर्चाको अवरोध गर्ने निणयपश्चात एमालेले मलेठ नजिकैको गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा गर्ने निर्णय गरेको थियो । तर मधेशी मोर्चाले त्यहाँ पनि हुन नदिने जनाएको थियो ।

 

२०७२ सालमा भएको मधेश आन्दोलनका क्रममा प्रहरीको गोली लागेर मान्छे मरिरहँदा तत्कालीन एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिएको दुई वटा अभिव्यक्तिविरुद्व मधेशी मोर्चाको आक्रोश थियो । एउटा, “एक गाछीबाट एउटा आँप झर्दैमा केही नहुने । र, अर्काे मानव साङ्लो बनाउँदा माक्खे साङ्लो । यो दुई अभिव्यक्तिविरुद्वको आक्रोशमा मधेशी मोर्चा (राजपाभित्रका तत्कालिन ६ दल र फोरम नेपाल) आन्दोलनकै शुरुवात गरेका थिए । झन् एमालेले आफ्नो अभियानका क्रममा सप्तरीमा कार्यक्रम गर्ने जनाएपछि मोर्चा, सप्तरी चिढिएका थिए ।

मोर्चाले हुनै नदिने र एमालेले कार्यक्रम गरेर छाड्ने अडान लिए । मोर्चाले पनि यथाशक्य रोक्ने प्रयास गरे, तर सकेनन् । एमालेको कार्यक्रम पनि सकिनै लाग्दा एक्कासि प्रहरीले गोली चलायो, जसबाट पाँच जना मलेठका पिताम्बर मण्डल, संजन मेहता, वीरेन्द्र महतो, प्रसवनीका आनन्द साह र जमुनी मधेपुराका इनर यादवको ज्यान गयो ।

घटनाबारे हालै राष्ट्रिय मानवअधिकार आयोगले प्रतिवेदन सार्वजनिक भएको छ । प्रतिवेदन यथार्थमा आधारित नभएको भन्दै राजपा, सप्तरीले आन्दोलन शुरु गरिसकेको छ । मलेठ घटनाकै बलमा विभिन्न ६ दल मिलेर बनेको राजपा आन्दोलन शुरु गरिसक्दा पनि त्यसबेलाका यी ६ दलका सहयात्री संघीय समाजवादी फोरम नेपाल भने मौन अवस्थामा छ, मलेठ घटनाको प्रतिवेदनबारे ।

मलेठ घट्ना हुँदा संघीय समाजवादी फोरमसहित राजेद्र महतो नेतृत्वको सदभावना, महन्थ ठाकुर नेतृत्वको तराई, मधेश लोकतान्त्रिक पार्टी, शरतसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेश समाजवादी पार्टी, महेन्द्र राय यादव नेतृत्वको तराई मधेश सदभावना पार्टी र अनिल झा नेतृत्वको नेपाल सदभावना पार्टी आन्दोलनमा थिए ।

मलेठ घटनाभन्दा पहिला ०७२ सालमा भएका तेस्रो मधेश आन्दोलनका पनि सहयात्री थिए यी दल र यसका नेता–कार्यकर्ताहरु । बीचमा स्थानीय तहको निर्वाचनमा अलग देखिएका यी दुई दल प्रतिनिधी र प्रदेशसभाको निर्वाचनमा गठबन्धन बनाएरै चुनाव लडेका थिए । तर, अहिले मलेठ् घटनाको प्रतिवेदन सार्वजनिकपछि सँगै आन्दोलन लडेका यी दुई दल पुनः दुई बाटोमा देखिएका छन् ।

राजपा एक्लै दौडेर पहिलो हुन खोज्यो

मलेठ घट्नाको प्रतिवेदन सार्वजनिक भएपछि राजपाले आन्दोलन शुरु गरिसकेको छ । उसका नेता–कार्यकर्ताले प्रतिवेदन जलाउनेदेखि घटनास्थलमा एक घण्टा धर्ना दिइसकेका छन् । यद्यपि, फोरमले यो प्रतिवेदन सन्दर्भमा कुनै किसिमको प्रतिक्रिया हालसम्म सार्वजनिक गरेको छैन । फोरम नेपाल, सप्तरीको भनाइ छ, ‘राजपा एक्लै दौडेर पहिलो हुन खोजेको छ ।’

मानवअधिकार आयोगको प्रतिवेदनप्रति फोरम नेपाको पनि तीव्र असन्तुष्टि छ । फोरम नेपालका जिल्ला अध्यक्ष दिनेश यादव आयोगको प्रतिवेदन बिल्कुलै गलत र झूठो भएको बताउँछन् ।

‘आयोगजस्तो संवैधानिक निकायले सत्य, तथ्य कुरालाई बाहिर ल्याउँछ भन्ने विश्वास थियो । तर झूठो प्रतिवेदन तयार गरेर आयोगले आफ्नो विश्वसनियता गुमाएको छ’, यादवले भने ।

मलेठ घटनामा सँगै आन्दोलन गरेका फोरम नेपालका अध्यक्ष यादव भने राजपाले एक्लै दौडेर पहिलो हुने प्रतिक्रिया दिँदै उनीहरुको पछि लाग्ने कुरा नभएको बताए ।

फोरम नेपाललाई मतलव भएन: राजपा

राजपा नेपाल, सप्तरीका नेता–कार्यकर्ताहरुले आन्दोलनमा सँगै सहभागी भए पनि फोरम नेपाललाई अब कुनै मतलव नदेखिएको प्रष्ट हुँदै गएको प्रतिक्रिया दिएका छन्

मलेठ घट्नाकै कारण मधेशवादी दललाई मजबुत बनाएको बताउँदै राजपाका सह–महासचिव गजेन्द्र मण्डलले यो घटनाको प्रतिवेदन उल्टो बनाएकै कारण आफूहरु आन्दोलनमा उत्रेको बताए ।

Sun-Jul-2018, 02:32 am मा प्रकाशित, 61 जनाले हेर्नुभयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *