मेलम्ची र कुलेखानीका ठेकेदार कम्पनीले पाए तनहुँ जलविद्युतको ठेक्का

- नेपाली सन्देश

१० साउन, काठमाडौं । तनहुँ हाइड्रोपावर लिमिटेडले १४० मेगावाट जडित क्षमताको तनहुँ जलविद्युत आयोजनाको मुख्य निर्माण कार्यहरुको निर्माण कम्पनीहरु छनोट गरेको छ । यो कम्पनीमा मेलम्ची खानेपानी आयोजनाको सुरुङ र कुलेखानी तेस्रो तथा तामाकोसी आयोजनामा निर्माणको काम गर्ने कम्पनीहरु छानिएका छन् ।

आयोजनाको नदी फर्काउने, बाँध लगायतका पहिलो प्याकेजका संरचना (हेड वर्क्स) निर्माणका लागि सबैभन्दा कम बोलकबोल गर्ने इटालियन कम्पनी सिएमसी छनोट भएको छ । यो कम्पनी अहिले मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माण गरिरहेको कम्पनी हमो ।

कम्पनीसँग २० अर्ब ६४ करोड ५२ लाख रुपैयाँ (प्रोभिजनल सम र मूल्य अभिबृद्धि करसहित)मा खरिद सम्झौता हुने छ ।

आयोजनाको सुरुङ, विद्युत गृह निर्माण र हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालन लगायतका दोस्रो प्याकेजका काम गर्न सबैभन्दा कम बोलकबोल गर्ने चिनियाँ कम्पनी सिनो हाइड्रो कर्पोरेसन लिमिटेड छनोट भएको छ ।

यो कम्पनी कुलेखानी तेस्रो  र तामाकोसी जलविद्युत आयोजनाको सिभिल निर्माण गरेको कम्पनी हो । यो कम्पनी माथिल्लो मर्स्याङ्दी-ए जलविद्युत आयोजनाको प्रवर्द्धक पनि हो ।

यो कम्पनीसँग ११ करोड ४१ लाख ८९ हजार अमेरिकी डलर तथा रु ३ अर्ब ८३ करोड १४ लाख (मूल्य अभिबृद्धि करबाहेक)मा खरिद सम्झौता हुने छ ।

तनहुँ हाइड्रोपावर लिमिटेडले गत ७ साउनमा बोलपत्रको नतिजा सार्वजनिक गरी छनोट भएका निर्माण कम्पनीलाई कार्यसम्पादन जमानत सहित खरिद सम्झौताका लागि आउन पत्राचार गरेको छ । दुवै कम्पनीले ८ साउनमा पत्र बुझिसकेका छन् ।

पत्र बुझेको २८ दिनभित्र कम्पनीहरुले कार्यसम्पादन जमानत सहित खरिद सम्झौताका लागि आउनु पर्ने तनहुँ हाइड्रो पावर लिमिटेडका प्रवन्ध-सञ्चालक प्रदिप कुमार थिकेले बताए ।

‘खरिद सम्झौता भएको दुई महिनापछि काम सुरु गर्ने र सम्पूर्ण निर्माण कार्य डिसेम्बर २०२३ भित्र सक्ने लक्ष्य लिइएको छ,’उनले भने ।

तनहुँ हाइड्रोपावर लिमिटेडले १९ माघ २०७३मा पहिलो र दोस्रो प्याकेज निर्माणका लागि पूर्व योग्यतामा छनोट भएका कम्पनीहरुलाई बोलपत्र प्रस्ताव पेश गर्न आहृान गरेको थियो । पहिलो प्याकेज निर्माणका लागि पूर्व योग्यतामा छनोट भएका ५ कम्पनीहरुमध्ये ३ वटाले र दोस्रो प्याकेजका लागि पूर्व योग्यतामा छनोट भएका ३ वटा कम्पनीहरुमध्ये दुई वटाले बोलपत्र पेश गरेका थिए ।

आयोजनाको तेस्रो प्याकेज अन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माण गर्न निर्माण कम्पनी छनोटका लागि २८ असारमा बोलपत्र आहृान गरिएको छ । नेपाल विद्युत प्राधिकरण र तनहुँ हाइड्रोपावर लिमिटेडबीच विद्युत खरिद-बिक्री सम्झौता सम्पन्न भइसकेको छ ।

आयोजनाको कुल लागत अमेरिकी डलर ५० करोड ५० लाख (प्रशारण लाईन, ग्रामिण विद्युतिकरण तथा निर्माण अवधिको व्याज समेत) रहेको छ ।

यसमध्ये एसियाली विकास बैंक(एडीबी)ले अमेरिकी डलर १५० मिलियन, जापान अन्तराष्ट्रिय सहयोग नियोग (जाइका)ले अमेरिकन डलर १८४ मिलियन, युरोपियन इन्भेस्टमेन्ट बैंक -ईआईबी)ले अमेरिकन डलर ८५ मिलियन र नेपाल सरकार/नेपाल विद्युत प्राधिकरणले अमेरिकी डलर ८७ मिलियन व्यर्होने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।

यसको लागि सम्बन्धित दातृ निकायहरु र नेपाल सरकारबीच ऋण सम्झौताहरु तथा नेपाल सरकार र प्राधिकरण एवं प्राधिकरण र यस कम्पनीबीच सहायक ऋण सम्झौताहरु सम्पन्न भइसकेका छन् ।

Thu-Jul-2018, 10:04 am मा प्रकाशित, 62 जनाले हेर्नुभयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *