धनुषाकाे खजुरीसम्म अाइपुग्याे रेल

- नेपाली सन्देश

जनकपुरधाम : जयनगर–जनकपुर–बर्दिबास ब्रोडगेज रेलमार्गको पहिलो परीक्षण सञ्चालन बुधबार भारतीय पक्षबाट गरिएको छ ।

निर्माणाधीन रेलमार्गअन्तर्गत पहिलो चरणमा भारतको जयनगरदेखि कुर्थासम्म र जयनगरबाट खजुरीसम्म ८.५ किलोमिटर रेल सञ्चालन गरिएको हो । भारतीय रेल सञ्जालबाट जोडेर भारतबाटै उपलब्ध इन्जिन नेपालको खजुरीसम्म परीक्षण सञ्चालन गरिएको रेल तथा मेट्रो विकास आयोजना साइट कार्यालय जनकपुरका प्रमुख विनोद ओझाले जानकारी दिए । भारतीय रेल्वेकै चालक र प्राविधिकको रेखदेखमा १० किलोमिटर प्रतिघण्टा भित्रैको गतिमा रेल परीक्षण सञ्चालन भएको थियो ।

पहिलो चरणमा इन्जिन चलाएपछि दोस्रो चरणमा मालबोगी चलाएर पनि परीक्षण गरिएको हो । कात्तिकसम्म भारतीय पक्षले कुर्थासम्म रेल गुडाउने लक्ष्य राखेको छ ।

हाल निर्माणाधीन ६९ किलोमिटरको ब्रोडगेज मार्गमध्ये तीन किमि भारतमा र बाँकी खण्ड नेपालमा पर्छ । पहिलो चरणमा भारतको इरकोन कम्पनीले जयनगरदेखि धनुषाको कुर्थासम्म ३५ किलोमिटर रेलवे ट्र्याकका साथै अन्य पूर्वाधार करिब तयार पारिसकेको छ । जयनगर–कुर्थाखण्डमा ट्र्याक ओछ्याउनेदेखि पुल–पुलेसा, रेल स्टेसन, हल्ट निर्माणजस्ता सिभिलतर्फका काम करिब पूरा भइसकेको जनकपुरस्थित रेल विभागको कार्यालयले जनाएको छ । जनकपुरदेखि कुर्थासम्म अक्टोबरदेखि रेल सञ्चालन गर्ने लक्ष्य छ ।

यस्तै, दोस्रो चरणमा मार्च २०१९ देखि धनुषाको कुर्थादेखि महोत्तरीको बिजलपुरासम्म १७ किमि र त्यही वर्षको डिसेम्बरसम्म बिजलपुरादेखि बर्दिवाससम्म १७ किमि रेलमार्ग सञ्चालनमा ल्याउने लक्ष्य छ । भारत सरकारले इन्जिन र डिब्बा उपलब्ध नगराउने भएपछि नेपाल सरकारले भाडामा लिएर भए पनि रेल सञ्चालन गर्ने तयारी गरिरहेको छ ।

कुल ७० किलोमिटर रेलमार्ग निर्माणका लागि भारत सरकारले सात सय करोड रुपैयाँ सहयोग गरेको छ ।

Thu-Aug-2018, 10:59 am मा प्रकाशित, 50 जनाले हेर्नुभयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *