खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई प्रहरीले चन्दा उठाएको आरोपमा साउन २२ मा पक्राउ गरेको थियो

- नेपाली सन्देश

काठमाडौं–नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दोस्रो वरियतामा रहेका नेता तथा पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई प्रहरीले चन्दा उठाएको आरोपमा साउन २२ मा पक्राउ गरेको थियो । प्रकाण्डसँगै चालक मानबहादुर श्रेष्ठ र सहयोगी हिराचन्द्र आचार्य पनि पक्राउ परेका थिए ।

पक्राउ गरेपछि महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता मोहनकुमार थापाले विभिन्न उद्योगपति, व्यवसायीसँग अवैध रुपमा सात करोडभन्दा बढी चन्दा असुल गरेको भन्दै पक्राउ गरिएको जानकारी दिएका थिए । पक्राउ परेकालाई चन्दा ऐन, २०३० बमोजिम मुद्दा दर्ता गरी काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भएको थियो ।

सर्वोच्च अदालतले विहिवार विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई थुनामुक्त गर्न आदेश जारी गर्यो । न्यायाधीश केदारप्रसाद चालिसे र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले विश्वकर्मालाई सर्वोच्च अदालतको रजिष्ट्रारको रोहबरमा छाड्न आदेश दिएको थियो । लगत्तै उनलाई प्रहरीले पक्राउ गरेको थियो ।
यसअघि पनि सर्वोच्चको आदेशपछि प्रकाण्डलाई प्रहरीले यसैगरी पक्राउ गरेको थियो ।

भदौ १ गते न्यायाधीशहरू चोलेन्द्रशम्शेर राणा र तेजबहादुर केसीको संयुक्त इजलासले सर्वाेच्च अदालतका मुख्य रजिष्ट्रार राजन भट्टराई र नेपाल बार एशोसिएसनका अध्यक्ष शेरबहादुर केसीको रोहवरमा छाड्न आदेश दिएको थियो । तर, सर्वोच्च अदालतको आदेश आएकै राति पुनःविश्वकर्मा पक्राउ परेका थिए ।

विभिन्न उद्योगपति, व्यवसायीसँग अवैध रुपमा सात करोडभन्दा बढी चन्दा असुल गरेको भनाईमा कति दम छ ? प्रहरीले आखिर सात करोड बढीको चन्दाको अंक कुन आधरमा भन्यो ? प्रहरीले सर्वोच्च अदालतमा बुझाएको डकुमेन्टमा यस्तो विवरण छ ।

रातोपाटीलाई प्राप्त डकुमेन्टमा विप्लव नेतृत्वको नेकपाको आयस्रोतको विवरण छ, जहाँ विभिन्न व्यक्ति र संस्थाबाट सो पार्टीले चन्दा संकलन गरेको उल्लेख छ । त्यसो भए उक्त डकुमेन्ट प्रहरीले कहाँबाट प्राप्त गर्यो त ? स्रोतका अनुसार उक्त डकुमेन्ट प्रहरीले प्रवक्ता प्रकाण्ड पक्राउ गर्दा उनी चढेको गाडीबाट प्राप्त गरेको थियो । त्यही आधारमा प्रहरीले सो पार्टीका नेता प्रकाण्डले सात करोडभन्दा बढी चन्दा असुल गरेको दावी गरेको हो । प्रकाण्ड सो पार्टीका आर्थिक विभाग प्रमुख पनि हुन् ।

आखिर कहाँबाट उठेको थियो सात करोड चन्दा ? 

प्रहरीले सर्वोच्च अदालतमा बुझाएको डकुमेन्टमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको २०७२ चैत्रदेखि २०७५ असारसम्मको आयविवरण उल्लेख छ । चन्दादाताको नाम उनीहरुको व्यक्तिगत सुरक्षालाई ख्याल गर्दै हामीले यहाँ प्रकाशित गरेका छैनौँ ।
विवरणमा एक जनाले एक्लै एक करोड रुपैयाँ सहयोग गरेका छन् । दश लाख चन्दा दिने व्यक्ति र संस्थाहरुको संख्या पनि ठूलै छ । पाँच लाख चन्दा दिनेहरुको सूची पनि लामै छ । विवरणमा दश हजार देखि २० लाखसम्म चन्दा उठेको उल्लेख छ । त्यसो त नेपालमा हरेक साना ठूला राजनीतिक दलले विभिन्न कार्यक्रमदेखि चुनावसम्मका लागि ठूलो रकम चन्दाबापत लिने गरेका छन् ।

डकुमेन्टमा व्यक्तिगतदेखि संस्थागत प्राप्त सहयोग रकमको रेकर्ड छ । विभिन्न उद्योग, होटल, रेष्टुरेन्ट, अस्पताल, हाइड्रो कम्पनी, क्यासिनो, इन्सरेन्स कम्पनी, विभिन्न व्यवसायी घराना, हाउजिङ, सिमेन्ट उद्योग, रक्सी उद्योग, औषधि उद्योग, कर्पोरेट मिडिया हाउस, एजनजिओ÷आइएनजीओ, वैक, सहकारी, फाइन्नासबाट सहयोग प्राप्त भएको उल्लेख छ । यी संस्थाले अन्य राजनीतिक दललाई समेत चन्दा दिने गरेका छन् ।

डकुमेन्टमा ठेकेदारले धेरै रकम उपलब्ध गराएका छन् । केन्द्रीय आर्थिक विभागको रेकर्डमा सो पार्टीको विभिन्न व्यूरोबाट प्राप्त रकमको पनि उल्लेख छ । उक्त रकमसहित २०७२ चैत्रदेखि २०७५ असारसम्म सो पार्टीको आयसात करोड ७६ लाख, १४ हजार चार सय ४४ रुपैयाँ छ । विवरण अनुसार दुई बर्ष भन्दा बढी समयमा संकलन भएको रकम हो । र, यो प्रकाण्ड एक्लैले नभएर उनको पार्टीका अन्य नेता–कार्यकर्ताले देशभरबाट संकलन गरेको रकम हो ।

अवधिमा सो पार्टीले पाँच करोड, ४१ लाख, १८ हजार चार सय ४४ रुपैयाँ खर्च गरेको छ । सानो संगठनको यो पार्टीको यो खर्च आफैमा अस्वभाविक छ । विवरण अनुसार असार मसान्तसम्म यो पार्टीको बचत दुई करोड, ३४ लाख, ९६ हजार रुपैयाँ छ ।

यो पार्टीलाई यूरोपदेखि गल्फ देशसम्मबाट सहयोग आएको छ । त्यसबाहेक जापान र कोरियासम्मबाट पनि सहयोग आएको छ । हालै सरकारको कारवाहीमा परेको भीएनएलका मालिकले पनि पाँच लाख रुपैयाँ चन्दा बुझाएका छन् । धेरै ठेकेदारले १० लाख देखि २० लाखसम्म चन्दा दिएका छन् । बहालवाला सांसदले पनि विप्लवको पार्टीलाई चन्दा बुझाएका छन् ।

प्रकाण्ड पक्राउ परेको तीन दिनपछि गृहमन्त्री रामबहादुर थापाले अपराध गरेको आधारमा प्रकाण्ड पक्राउ परेको बताएका थिए । ‘बादल भनेको गृहमन्त्री हो । गृहमन्त्रीको काम भनेको अपराधीहरूलाई नियन्त्रण गर्नु हो। त्यसकारण अपराधीहरुलाई नियन्त्रण गर्ने प्रक्रियामा ती घटना हुने गर्छन् । निश्चित रुपमा उनीहरु अपराधी हुन् । जसले कानुन उल्लंघन गर्छ, जसले विधि उल्लंघन गर्छ, त्यसलाई हामी अपराधी भन्छौँ । प्रकाण्डलाई समात्नुका पछाडि चन्दा आतक र ध्वंसाात्मक गतिविधिमा यो समूह लागेको छ, राज्य विरुद्ध लागेको छ । उनी वारेन्टेड पनि थिए । यसै सन्र्दभमा उनी गिरफ्तार भएका हुन् । ’ साउन २५ गते बादलले चितवनमा पुगेर प्रतिक्रिया दिएका थिए ।

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आफ्ना नेता पक्राउको विरोधमा ५ दिने विरोधका कार्यक्रम घोषणा गरेको थियो । आन्दोलनका कार्यक्रम अन्तगर्त सो पार्टीले साउन २९ गते नेपाल बन्द गरेको थियो ।

विप्लवको कडा चेतावनी
सर्वोच्चको आदेशपछि पनि नेकपा प्रवक्ता प्रकाण्डलाई प्रहरीले फेरि पक्राउ गरेपछि  महासचिव विप्लव आक्रोशित बनेका छन् । उनले बिहिबार राती जारी गरेको विज्ञप्तिमा श्रृङ्खलाबद्ध गिरफ्तारी नरोके सरकारविरुद्ध सशक्त संघर्ष गर्ने चेतावनी दिएका छन् ।  विप्लवले भनेका छन्, ‘सरकारले श्रृङ्खलाबद्ध गिरफ्तारी तुरुन्त रोकोस् र गिरफ्तार सबै कमरेडहरुलाई ससम्मान रिहा गरोस् भन्ने हाम्रो पार्टी जोडदार माग गर्दछ । अन्यथा सरकारविरुद्ध सशक्त संघर्ष गर्न बाध्य हुनेछौं ।’
विप्लवले प्रहरीले पार्टीका नेता तथा कार्यकर्तालाई दिनदिनै  अपहरणको शैलीमा पक्राउ गरी वेपत्ता बनाउने काम गरिहरेको समेत आरोप लगाएका छन् ।  भदौ ५ मा पक्राउ परेका केन्द्रीय सदस्य चन्द्रबहादुर खड्का ‘असल’ लाई पक्राउ गरी वेपत्ता बनाएको नेकपाको दाबी  छ । यस्तै पोलिटब्यूरो  सदस्यहरु पदम राई, ओम पुन, कृष्ण धमला, मोहन कार्की केन्द्रीय सदस्यहरु किरण राई, दीपेश राई, देवनारायण शाह, टेकबहादुर केसीलगायत दर्जनौं नेता कार्यकर्ता पक्राउ परेको नेकपाले जनाएको छ ।

Fri-Aug-2018, 04:00 am मा प्रकाशित, 147 जनाले हेर्नुभयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *