फोहोर अभिभावकले फाल्छन्, बालबालिकाले उठाउँछन्

- नेपाली सन्देश

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर यस क्षेत्रकै एक भौगलिक र विकासका दृष्टिकोणले सुविधा सम्पन्न सहर हो।

संघीयता कार्यान्वयनसँगै प्रदेश सरकार गठन भएपछि प्रदेशको स्थायी राजधानीका रूपमा यो सहर स्थापित छ।

प्रदेश होस् वा स्थानीय, दुइटै बलियो सरकार प्रदेशका हिसाबले यो सहरमा छन्। सरकारका र सरकारसँग सम्बन्धित प्राय:जसो ठूला कार्यक्रमहरू पनि यही सहरमा सम्पन्न हुने गर्दछन्। प्रदेशको राजधानी भन्नेबित्तिकै ‘एक व्यवस्थित सहर’ मानिसको मनस्थितिमा पर्न सक्छ । तर, यो सहरमा फोहोरको हालत भने जस्ताको तस्तै छ।

यही सहरमा केही सामाजिक संघ/संस्थाहरूको सहकार्यमा भदौको दोस्रो शनिबार सरसफाइसम्बन्धी चौथो अभियान चल्यो। एकाबिहानै अभियानका क्रममा घरमा बस्नेहरूले घरअगाडि खुला रूपमा थुपारेको फोहोर स–सना बालबालिकाले उठाए। केही मानिस बालबालिकासँगै फोहोर उठाउन लागे भने अधिकांश फोहोर थुपार्नेहरू नै बालबालिकाले फोहोर उठाएको हेरिरहे।

सिंगो प्रदेशको राजधानीका रूपमा स्थापित सहरको यो हालत मानिस सचेत नहुनुले भन्दा पनि सचेत मानिसले नै बुझ पचाउनुले भएको हो। आफ्नो भान्सा, सुत्ने कोठादेखि आँगनसम्मको फोहोरहरू प्लास्टिक वा कुनै नदेखिने खालको भाँडोमा जम्मा गरेर एकठाउँमा राख्नुपर्ने भए पनि घरको अगाडि सडकको छेउ वा नालीमा फालिदिने चलन राजधानीमा बस्नेहरूमा समेत कायमै देखिन्छ।

वीरेन्द्रनगरभित्र पनि मुख्य बजार क्षेत्र पर्ने वडा नं. ६ को कार्यालयको सहकार्यमा विङ्स फाउण्डेसन, फ्युचर नेपाललगायत विभिन्न सामाजिक संघ–संस्थाहरूले साउनको दोस्रो सातादेखि ‘क्लिन सुर्खेत, ग्रीन सुर्खेत’ अभियानको सुरूवात गरेका छन्।

वीरेन्द्रनगरलाई सफा र सुन्दर वातावरणसहितको सहरका रूपमा चिनाउने उद्देश्यका साथ सुरू गरिएको अभियानअन्तर्गत प्रत्येक शनिबार बजारमा फोहोर उठाउनुका साथै फोहोर थुपार्नेहरूलाई सचेत गराइन्छ।

तर, अभियान सञ्चालन भएको चौथो हप्तासम्म हालत उस्तै रह्यो। सुरूदेखि अभियानमा सहभागी विद्यार्थी, स्वास्थ्यकर्मी, जनप्रतिनिधि, नागरिक समाजका अगुवालगायतले ‘जम्मा भएको फोहोर बाहिर नदेखिनेगरी जम्मा गरेर राख्नू अनि फोहोर लिन गाडी आएमा फाल्नू’ भनेर सम्झाएको बचन खेर गएको छ। सुरूको हप्ताबाट आफ्नै हातले फोहोर उठाएका अभियानकर्ताहरू चौथो हप्ता पनि निरन्तर थुप्रिएको फोहोर उठाउनमा व्यस्त रहे।

यता, अभियानमा साथ दिइरहेको वडा नं. ६ का अध्यक्ष मोतिप्रसाद कँडेलले नागरिकले आफैंलाई मुर्खजस्तो बनाएको महशुस भएको बताउँछन्।

‘मैले अध्यक्ष बनेदेखि हालसम्म यो १५ महिनासम्म फोहर व्यवस्थापनका लागि मानिसहरूलाई सम्झाउने कार्यमा लागें,’ अध्यक्ष कँडेलले भने, ‘सम्झाएर मान्ने अवस्था पाइनँ उल्टै आफू पो मुर्खजस्तो बनेँ त ।’

स्थानीयलाई भनिरहनुभन्दा पनि एउटा दबाब पर्ने खालको काम गर्न ‘क्लिन सुर्खेत, ग्रिन सुर्खेत’ अभियान चलाएको अध्यक्ष कँडेलले बताए। सधैँ आफूहरूले सरसफाइमा ध्यान दिऔं भन्दा धम्काएको जस्तो हुने भएकाले अभियानमा सहभागी बालबालिकाले उनीहरूकै अगाडि फोहोर उठाइदिए उनीहरूलाई लज्जाबोध हुने अपेक्षाले बालबालिकाको साथ लिएर अभियान चलाइएको उनको भनाइ छ ।

अझैं केही समय फोहोर व्यवस्थापन गर्न व्यापारी तथा घर मालिकहरूलाई सम्झाउने र यदि अटेर गरेमा उनीहरूले तिर्ने सम्पत्ति कर वृद्धि गरेर भए पनि जरिवाना असुल गर्ने अध्यक्ष कँडेलले बताए।

अभियानका समन्वयकर्ता विंग्स फाउण्डेसनका अध्यक्ष एवम् बाल रोग विशेषज्ञ डा. नवराज केसीले नगरलाई सफा बनाउन आफूहरूले अभियानलाई निरन्तरता दिएको बताए ।

‘नगर सफा भएको खण्डमा नगरवासीको स्वास्थ्य पनि राम्रो हुन्छ, त्यसले यहाँको वातावरण पनि सफा राख्न मद्दत पुग्ने भएकाले यो अभियान चलाएका  हौं,’ डा. केसीले भने, ‘यो अभियानलाई सबैले माया गर्नुहुनेछ र सक्रियातापूर्वक भाग लिनुहुनेछ भन्ने अपेक्षा छ।’source:ratopati

Sun-Sep-2018, 11:07 am मा प्रकाशित, 78 जनाले हेर्नुभयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *