फोहोर व्यवस्थापन आफैंबाट

- नेपाली सन्देश

मैले बनाएको फोहोर आफैं व्यवस्थापन गर्नुपर्छ भनेर लाग्ने हो भने करिब ७५ प्रतिशतलाई घरभित्रै थान्को लगाउन सकिन्छ ।

काठमाडौँ — काठमाडौं, कीर्तिपुरमा हामी गृहिणीले महिला समूह बनाएका छौं । समूहमा ६० जनाभन्दा बढी सदस्य छौं । हामी पुन: प्रयोग गर्न सकिने खालका चिज जम्मा गर्छौं। पुनर्नवीकरण गर्ने संस्था ‘डोको’लाई बेच्छौं । संस्था हाम्रै टोलमा फोहोर लिन आउँछ । हामीलाई पैसा पनि दिन्छ ।

पैसा टोल सरसफाइ र अन्य सामाजिक काममा प्रयोग गर्छौं । यसबाट नगरको फोहोर व्यवस्थापनमा सहयोग पुगेको छ ।

बढ्दो सहरीकरणसँगै निम्तिएका चुनौतीमध्ये एक हो, फोहोर व्यवस्थापन । फोहोर आफै उत्पन्न हुने वस्तु होइन । हामी उपभोक्ताले वस्तु उपभोग गर्दा बाँकी रहेको र फ्याँक्न राखेको वस्तु फोहोर हो । यसको कुनै मूल्य हुँदैन भन्ने हामीलाई लाग्छ । मैले बनाएको फोहोर मैले नै व्यवस्थापन गर्नुपर्छ भन्ने सोच हामीसँग छैन । यस्तो सोच हुने हो भने फोहोर आम्दानीको स्रोत बन्न सक्छ । करिब ७५ प्रतिशत फोहोर घरभित्रै व्यवस्थापन गर्न सकिन्छ ।

फोहोर व्यवस्थापनको जिम्मेवारी नगरपालिकाको मात्र होइन, आफ्नो पनि हो भन्ने सोच विकास हुनुपर्छ । हरेक व्यक्तिले आफ्नो घरबाट निस्कने फोहोरलाई घरमै वर्गीकरण गरी घटाउने, पुन:प्रयोग गर्ने र प्रशोधन गर्ने पद्धति विकास गर्नसके व्यवस्थापनमा सहज हुन्छ । हामी जे गर्छौं, हाम्रा सन्ततिले त्यही सिक्छन् । मेरो घर नजिकै सानो खोला छ । गतवर्ष सरसफाइ गरेर खोला चिरीच्याट्ट पारिएको थियो । एक वर्ष नबित्दै फोहोरको डंगुर लाग्यो । निजी गाडीमा फोहोरको बोरा ल्याएर खोलामा फ्याँक्ने गरेका छन् । देखेका बेला कैयौंपटक सम्झाएकी छु । तर केही परिवर्तन हुन सकेन ।

फोहोरका प्रकार र हामीले प्रयोग गर्ने चिजमा आएको परिवर्तन फोहोर बढ्नुको मुख्य कारण हो । जस्तै– पहिले हामी भोजभतेरमा दुनाटपरी प्रयोग गर्थ्यौं, जुन सजिलै कुहिन्थे । अहिले तिनलाई कागज तथा प्लाष्टिकका थाल, कचौरा, प्लेटले प्रतिस्थापन गरेका छन् । यसले वातावरणलाई समेत असर गरेको छ । हामीले बच्चालाई दिने चकलेट, कुरकुरे, लेजजस्ता खाद्यवस्तुले बच्चाको स्वास्थ्यमा मात्र असर गरेको छैन, वातावरणमा समेत प्रदूषित गरेको छ ।

बच्चाहरूले स्कुलमा पेन्सिल तिखारेको फोहोर, कागजका टुक्रा डस्टबिनमा राख्न सिक्छन्, डस्टबिन नभए झोलामा बोकेर ल्याउँछन् । घरमा आएपछि जहाँतहीँ फाल्छन् । किनकि घरमा हामीले उनीहरूलाई डस्टबिनमा राख्न सिकाएका छैनौं वा स्कुलमा गुरुहरूले घरमा पनि फोहोर जथाभावी फ्याँक्नुहुन्न भनेका छैनन् ।

भन्ने गरिन्छ, घर पहिलो पाठशाला हो । हामीले व्यावहारिक शिक्षा घरबाटै सुरु गर्नुपर्छ । एकजना व्यक्तिले घरबाट निस्कने फोहोरलाई कुहिने र नकुहिनेगरी छुट्याउँदा व्यवस्थापनमा धेरै फरक पर्छ । व्यक्तिले गरेको यो सानो कदमले राज्यलाई फाइदा पुग्छ ।

सहरमा फोहोर दिएबापत संकलकलाई मासिक ३ सयदेखि ३ सय ५० रुपैयाँ तिर्ने गरिन्छ । फोहोर व्यवस्थापनमा आफैं जुटे त्यो रकम जोगिन्छ र थप प्रत्यक्ष–अप्रत्यक्ष आम्दानी हुनसक्छ । घरबाट निस्कने कुहिने फोहोरलाई विभिन्न विधिबाट मल बनाउन सकिन्छ । व्यावहारिक सीप हरेक घरमा पुर्‍याउनसके फोहोरको मात्रा स्रोतबाटै घटाउन सकिन्छ । मल प्रयोग गरी छतमा सामान्य गमला, बाल्टी र बोरामा तरकारी उत्पादन गर्न सकिन्छ । नकुहिने फोहोरलाई जम्मा गरी बिक्री गरेर आम्दानी गर्न सकिन्छ । यस्ता फोहोर किनेर लैजाने संघ–संस्था छन् । उनीहरूसँग समन्वय गर्न सकिन्छ । कुहिने फोहोर पनि धेरै भए बेच्न सकिन्छ ।

सहरी क्षेत्रमा यत्रतत्र टोल सुधार समिति, महिला समूह छन् । तिनले फोहोर व्यवस्थापनमा अगुवाइ गर्न सक्छन् । यस्तो ज्ञान व्यक्ति, छिमेकी, टोल, वडा गर्दै बाँड्दै जानुपर्छ । फोहोर व्यवस्थापनमा काम गर्ने संघ–संस्थाले चेतना बढाउने खालका गतिविधिलाई तीव्रता दिनुपर्छ । फोहोर व्यवस्थामा व्यक्ति–व्यक्ति लागे ‘एकले थुकी सुकी, सयले थुकी नदी’लाई चरितार्थ गर्न सकिन्छ । फोहोर उत्पादक नै व्यवस्थापनमा लाग्ने हो भने सहर दुर्गन्धित हुँदैन, सुन्दर पनि बन्छ ।

लीला खनाल

Wed-Oct-2018, 02:50 am मा प्रकाशित, 43 जनाले हेर्नुभयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *