तीन मुख्य डिफेन्डर घाइते, नेपाली टोली संकटमा

- नेपाली सन्देश

बंगलादेशमा जारी बंगबन्धु कपको पहिलो खेलमा नेपाली टोली ताजिकिस्तानसँग २-० ले पराजित भएको छ । मंगलबार सिल्हेटमा भएको खेलमा नेपाल पराजित त भयो, सँगसँगै मुख्य खेलाडीको चोटले झनै समस्यामा पारेको छ ।
कप्तान विराज महर्जन पहिलो हाफमा नै घुँडामा चोट लागेपछि मैदानबाट बाहिरिएका थिए । सामान्यतया राइट ब्याक खेल्ने उनलाई प्रशिक्षक बालगोपाल महर्जनले लेफ्ट ब्याकको भूमिकामा उतारेका थिए । पेनाल्टी क्षेत्रभित्र कर्नर डिफेन्ड गर्ने समयमा उनी दुखाइ बढेपछि मैदानमा नै ढलेका थिए । उनलाई स्ट्रेचरमा राखेर मैदान बाहिर लागिएको थियो । उनको स्थानमा प्रशिक्षक महर्जनले सुमन अर्याललाई मैदानमा पठाएका थिए ।

डिफेन्डर आदित्य चौधरी पनि चोटका कारण नै परिवर्तित हुनु पर्यो । विपक्षीले बल तान्न जाँदा उनलाई लडाएपछि जिउ भुइंमा परेका कारण उनको कुम दुखेको हो । आदित्यको स्थानमा देवेन्द्र तामाङ मैदान प्रवेश गरेका थिए । त्यस्तै खेलको २० मिनेट बाँकी समय रहँदा अनन्त तामाङ पनि चोट बोक्दै मैदान बाहिरीए । उनको तिघ्राको मांशपेसीमा केहि समस्या देखिएपछि फिजियोले उनलाई परिवर्तन गर्न सुझाव दिए ।
अनन्तको स्थानमा प्रशिक्षक महर्जनले भरत खवासलाई मैदानमा छिराएका थिए । नेपाल २-० ले पछाडी पारेको स्थितिमा भरतलगायत खेलाडीलाई आक्रामक रणनीति अपनाउन अगाडी बढाएका हुन् । तीनै खेलाडीको भिन्नै चोट भएका कारण सबैको रिपोर्ट आएपछि उनीहरुको स्थितिबारे भन्न सकिने बुझिएको छ । प्रारम्भिक जाँच हेर्दा आदित्यको चोट सामान्य देखिन्छ भने विराज र अनन्तले विश्राम लिने सम्भावना छ ।

नेपालले अर्को खेलमा प्यालेस्टाइनको सामना गर्दैछ । उक्त खेलका लागि प्रशिक्षक महर्जनले धेरै परिवर्तन गर्ने सम्भावना रहेको छ । मंगलबारको फितलो प्रदर्शनले पनि नेपालको अर्को चरण पुग्ने सम्भावना कमजोर भएको छ । नेपाललाई अर्को चरण पुग्न प्यालेस्टाइनविरुद्ध हार टारेर अर्को खेलको नतिजा कुर्नुपर्ने हुन्छ ।

Wed-Oct-2018, 05:16 pm मा प्रकाशित, 53 जनाले हेर्नुभयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *