‘हाम्रो सम्पदा मासेर बलिउडलाई रेड कार्पेट!’

- नेपाली सन्देश

गाडी नै गाडीले भरिने भारतको मुम्बईस्थित नागपाडा इन्टरसेक्सन।

यो इन्टरसेक्सनमा अचेल मान्छेको भीड देखिन्छ। गाडी गुड्ने ठाउँ घटाएर हिँड्ने ठाउँ बनाइएको छ। डिभाइडरहरू राखिएका छन्। रङ लगाएर धेरै क्षेत्र खुला बनाइएको छ।

मुम्बईकै मिथचौकी इन्टरसेक्सन नागपाडाभन्दा कम छैन। रुखासुखा लाग्ने यो ठाउँ अहिले रंगीन छ। पहिले जताततै गाडी छिर्थे। अब रंगीन क्षेत्रमा छिर्न पाउँदैनन्। यो ठाउँ पैदलयात्रुका लागि हो।

भारतले धमाधम गाडी गुड्ने सडक घटाएर पैदलयात्रु हिँड्ने बाटो बनाइरहेका बेला हामी के गर्दैछौं?

हामीकहाँ पछिल्लो समय भएका पेटी र मौलिक घर मासेर फराकिला सडक बनाउने क्रम तीव्र छ। अर्थात्, गाडीलाई हाइहाइ, मान्छेलाई बाइबाइ।

भक्तपुर मध्यपुर थिमीको उदाहरण लिउँ।

केही दिनअघि मात्र सानोठिमीमा सडक फराकिलो पार्न २ सय ५१ वर्ष पुरानो पाटी र ढुंगेधारामाथि डोजर चलाउने प्रयास भयो। मध्यपुर थिमिस्थित ‘पुरानो बाटो सडक विस्तार पीडित संघर्ष समिति’ को विरोधपछि काम रोकिएको छ।

यसपालि त २ सय ५१ वर्ष पुरानो सम्पदा मासिनबाट जोगियो, तर के थाहा, काठमाडौंको सोह्रखुट्टे पाटीमा जस्तै यहाँ पनि रातारात डोजर चलाइने हो कि?

‘पुरातत्व विभागले नै सय वर्ष पुरानो कुनै पनि सम्पदा मास्न नपाइने भनेको छ। त्यो नियम पालना गर्नु पर्दैन?’ समितिका अध्यक्ष महेश कारंजितले भने, ‘सडक विस्तार नाममा के हाम्रा सम्पदा मास्न पाइन्छ?’

‘हाम्रो यहाँको नेवार बस्ती सम्पदाभन्दा कम छैन। सडक विस्तार नाममा यी कुरा बेवास्ता गर्नुभएन,’ उनले भने।

समितिले विरोध गरेकै दुई वर्ष भइसक्यो। सडक विस्तार नाममै त्यो बेला ऐतिहासिक ‘द्योः जो’ हिटी र सँगैको फल्चा (पाटी) विनास गरिएको थियो। त्यसलाई उत्खनन् गरेर ब्युँताउन सकिने स्थानीय बताउँछन्। अहिले आएर सम्बन्धित निकायको ध्यान सम्पदा ब्युँताउन त कता हो, भएका पनि मास्नेतिर बढी केन्द्रित दखिन्छ।

कारंजितका अनुसार भक्तपुर, मनोहरादेखि निकोसेराको खस्याङखुसुङ खोलासम्म बाटो विस्तार गर्ने सरकारको योजना छ। हाल यहाँका बाटा करिब ९ मिटर फराकिला छन्। विस्तार गरी २२ मिटर बनाइने छ।

यी बाटामा मौलिक घर छन्। मन्दिर, पाटी र ढुंगेधारा छन्। योजनाअनुसार बाटो बढाउँदा यी सबै मासिन्छन्।

संघर्ष समितिले केही महिनाअघि सर्वोच्चमा मुद्दा दायर गरेको थियो। सडक विस्तारका लागि धनीको इच्छाविपरित उसको घर र जग्गा प्रयोग गर्न नमिल्ने भनी सर्वोच्चको पूर्णपाठमा व्याख्या छ।

यसविपरित यहाँ स्थानीयको इच्छाबेगर मनोहरादेखि सानोठिमीसम्मको बाटो खन्ने काम भइरहेको छ। त्यसैबीच पर्ने ‘युवा क्लब’, स्थानीयले पुज्दै आएको मन्दिर लगायत संरचना भत्काइएका छन्। अन्य संरचना पनि भत्काउँदै बाटो विस्तार गर्ने क्रम जारी छ।

पुरानो बाटो पर्ने ढुंगेधारा र पाटीको बारेमा लेखिएको शिलालेख। 

कारंजित भने यहाँको बाटो विस्तार गर्नुपर्ने आवश्यकता नै देख्दैनन्।

‘यो बाटोमा ९ नम्बरको मात्रै गाडी गुड्छ। त्यसैले, सीमित बस छन्। बाटो जाम भएर समस्या आएको पनि छैन,’ उनले भने, ‘यहाँ सडक विस्तार होइन, व्यवस्थापनको मात्रै जरुरी छ।’

‘सडकमा भएका खाल्डाखुल्डी, अव्यवस्थित पार्किङ, सडक–पेटीमा खोलिएका पसल मात्रै हटाउने हो भने सडक आफैं फराकिलो हुन्छ,’ उनले भने।

पुरानोबाटो भनेर चिनिने यो मार्गमा बस्ती कम छ। जनसंख्या धेरै छैन। भएका थोरै गाडी पर्याप्त छन्।

त्यसमाथि सडक भनेको सवारी साधन गुड्ने ठाउँ मात्र होइन। यहाँ विभिन्न किसिमका क्रियाकलाप पनि हुन्छन्।

हाल सडक विस्तार क्रममा खनिएको सानोठिमीको बाटोमा मान्छे हिँड्ने बाटो पर्याप्त थियो। सडक छेउमा भएको खुला स्थानमा साना केटाकेटी निस्फिक्री खेल्थे। व्यायाम गर्ने, कराते सिक्ने, दौडन मिल्ने फराकिलो ठाउँ थियो। छेउछेउमा रूख छन्। सडक पेटीछेउ कुलो थियो। बर्खाको पानी बग्दै खोलासम्म पुग्थ्यो। हाल ढलको पाइप बिछ्याइँदै छ।

सडक विस्तारका नाममा ज्यादति भइरहेको स्थानीय बताउँछन्।

‘सडक विकास होइन्, पूर्वाधार मात्रै हो। कहाँ सडक विस्तार गर्ने भनेर अनुसन्धानै नगरी जथाभाबी बढाएर हुन्छ?’ स्थानीय कृष्ण चित्रकारले भने, ‘वर्षौंअघि विकास भइसकेको सभ्यता मासेर सडक विस्तार गर्न उचित हुँदैन।’

सडक विस्तार क्रममा बिना मुआब्जा नागरिकको घरजग्गा अतिक्रमण गर्न हुन्न। त्योसँगै स्थानीयको पुनर्वास योजना गर्नुपर्छ। व्यवसायीलाई पुनर्स्थापना गराउनुपर्छ। ऐतिहासिक बस्ती मास्न हुँदैन। सम्पदा जोगाउनेमा ध्यान दिइनुपर्छ। यी सबै कुरामा समान्वय भए मात्रै सडक विस्तार योजना अघि बढाउनुपर्ने स्थानीय बताउँछन्।

विरोध हुँदाहुँदै सम्पदा मासेर सडक फराकिलो पार्न खोज्नुको कारण आगामी पुस–माघमा हुने भनिएको जी–सिने अवार्ड हो भन्ने स्थानीयको भनाइ छ। प्रस्तावित अन्तर्राष्ट्रिय रंगशाला जाने बाटो पनि यही हो।

यो वर्ष भक्तपुरको सानोठिमीमा बलिउडको पुरस्कार वितरण कार्यक्रम ‘जी सिने अवार्ड’ गर्ने भनिएको छ। जी टेलिभिजन नेटवर्कका सञ्चालक सुभाष चन्द्रले गत साउनमा जी सिने अवार्ड नेपालमा हुने घोषणा गरेका थिए। आउँदो पुस–माघमा हुने कार्यक्रममा करिब तीन हजार सहभागी आउने अनुमान छ।

त्यो कार्यक्रम सम्पन्न गर्न वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र असमर्थ छ। त्यसैले ठिमीस्थित नागरिक उडड्यन प्राधिकरणको १ सय ८९ रोपनी जग्गामा प्रिफ्याब भवन बनाउने तयारी छ। सहभागीहरू यही बाटो हुँदै कार्यक्रम स्थलसम्म पुग्ने सहरी विकास मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद दवाडी बताउँछन्।

स्थानीयको भने यसमा आपत्ति छ।

‘बलिउडका कलाकारहरूलाई रेड कार्पेट ओछ्याउन हाम्रा सम्पदा मास्ने?’ अध्यक्ष कारंजितले भने, ‘भारतीय कार्यक्रम होस् कि नहोस् हामीलाई मतलब छैन। तर, सयौं वर्षदेखि बसेका व्यक्तिको घर भत्काउनु उचित हुँदैन।’

भारतको मुम्बईमा गाडीभन्दा मान्छे हिँड्ने बाटोलाई प्राथमिकता दिइएको छ। यहाँ भने मुम्बईकै कार्यक्रमको निम्ति सम्पदा भत्काएर सडक फराक पार्नु उदेकलाग्दो छ।

सम्पदै मासेर फराक बनाइएको सडकमा गुड्न जी सिनेमाका सहभागीलाई पनि रहर नहोला!

Mon-Oct-2018, 03:35 pm मा प्रकाशित, 49 जनाले हेर्नुभयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *