चिनियाँ अनुदानकाे तेल तीन वर्षपछि बिक्री

- नेपाली सन्देश

काठमाडौँ — चीन सरकारले २०७२ को भूकम्पमा अनुदानवाफत दिएको खाने तेल तीन वर्षपछि बिक्री भएको छ । तेल बिक्री नभएर गोदाममै सडेपछि सोमबार कच्चा प्रदार्थका रुपमा बिक्री भएको हो ।‘अनुदान स्वरुप प्राप्त तेल सोमबार बिक्री गरेका छाैं,’ खाद्य सस्थानका अञ्चल प्रमुख सुरेन्द्र बिष्टले भने। भूकम्पपछिको पुननिर्माण तथा राहतका चीन सरकारले प्रतिबद्धता जनाएअनुसार १० हजार ६ सय लिटर तेल अनुदान स्वरुप सरकारलाई उपलब्ध गराएको थियो।

५३ वटा ड्रममा पठाएको उक्त तेल गोदाममै सडेको हो। ती ड्रमहरुमा लेवल उल्लेख छैन। सबै चिनियाँ अक्षरमा लेखिएकाले केको तेल भन्ने नै जानकारीमा नभएको संस्थानको दाबी छ। त्यसपछि संस्थानले थप परीक्षणका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा पठाएको बिष्टले बताए। ‘तेल परीक्षण गर्दा खान नमिल्ने देखिएको थियो,’ उनले भने।

विभागले संस्थानलाई पठाएको पत्रअनुसार सामान्तया शून्य दशमलव ५ भन्दा कम ‘एसिड भ्यालु’ भएको तेलमात्र उपभोग्य गुणस्तरको हुन्छ। तर प्रयोगशाला परीक्षणका क्रममा उक्त तेलको एसिड भ्यालु १ दशमलव ५ थियो। जसले गर्दा बिक्रीमा समस्या भएको संस्थानको दाबी छ।

तेल खान अयोग्य भएपछि बिक्री/लिलामीका लागि ३ पटक सूचना प्रकाशित गरेपनि कसैले चासो नदिएपछि मूल्य घटाएर पून सूचना प्रकाशित गरेको थियो। ‘लिलाम गर्न न्यूनतम ८० रुपैया निर्धारण गरेका थियाैं। तर, व्यवसायीले रुची देखाएनन्,’ उनले भने, ‘अहिले प्रतिलिटर ४५ रुपैयामा बिक्री भएको छ।’ उक्त तेल मध्यपुर ठिमीका दशरथ अर्यालले खरीद गरेका छन्। खान अयोग्य भएकाले साबुन उद्योग, कुखुराको दाना, बत्ती बाल्न, इट्टाभट्टामा प्रयोग गर्न सकिने जनाइएको छ।
Mon-Oct-2018, 03:49 pm मा प्रकाशित, 50 जनाले हेर्नुभयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *