आर्थिक चलखेलमा लाग्ने प्रहरीलाई कारबाही गर्न प्रहरीकै टोली परिचालन

- नेपाली सन्देश

काठमाडौंका केही प्रहरी अधिकारीले विभिन्न ब्यक्ति तथा ब्यवसायीसँग पैसा असुली गर्ने गरेको गुनासो आएपछि महानगरीय प्रहरी परिसर काठमाडौंले मातहतका प्रहरीमाथि निगरानी थालेको छ।

काठमाडौंका केही प्रहरी अधिकारीले आर्थिक चलखेल गर्ने गरेको गुनासो पछि परिसरले विषेश टोलीनै परिचालन गरेको छ। उक्त टोलीले काठमाडौंका प्रहरीको निगरानी गर्नेछ।

काठमाडौं प्रहरीका एसएसपी वसन्त लामा र परिसरकै एसपी अशोक सिंहले प्रत्येक प्रहरी कार्यालयमा पुगेर व्रिफिङ गर्ने गरेका छन्।

‘काठमाडौंका केही प्रहरी अधिकारीले रकम उठाउने गरेको भन्ने गुनासो आयो,’ परिसर प्रमुख एसएसपी लामाले सेतोपाटीसँग भने, ‘म आफैं प्रत्येक कार्यालयमा पुगेर निर्देशन दिने गरेको छु, गलत काम गर्ने प्रहरीलाई छुट हुँदैन।’

सबैले नराम्रो काम नगरेको भन्दै उनले प्रहरी सक्रियताकै कारण पछिल्लो समयमा काठमाडौंमा चोरी ठकैतीका घटना शून्यमा झरेको दाबी गरे। ‘केही ब्यक्तिले रकम उठाउने गरेको उजुरी आएको छ, हामीले आन्तरिक छानबिन सुरु गरेका छौ, दोषि पाइए कारबाही गरेरै छोड्छौ,’ उनले थपे।

लामाका अनुसार काठमाडौंका नाकामा रहेका प्रहरी अधिकारी, बौद्ध महाराजगंज, बालुवा खानी, ढुंगा खानी भएका क्षेत्रमा प्रहरीले निगरानी बढाएको छ।

त्यसैगरी काठमाडौं प्रहरी मातहतका मुद्दा शाखामा पनि प्रहरी निगरानी बढाइएको छ।

आन्तरिक सुधृढिकरण अन्तर्गत प्रहरीले केही दिनअघि मात्र काठमाडौंको नागढुंगा र नाग्लेभारेका सबै प्रहरी परिर्वतन गरेको थियो।

नागढुंगा र नाग्लेभारेमा केही समस्या देखियो, गुनासो सुनियो त्यहाँ भएका सबै प्रहरीलाई फिर्ता बोलाएर हामीले आन्तरिक छानबिन थालेका छौ,’ एसएसपी लामाले भने।

त्यसैगरी परिसरले सोमबार मात्र प्रहरी वृत्त कमलपोखरीका एक सई माथि आन्तरिक अनुसन्धान थालेको छ।

सेवाग्राहीबाट घुस मागेको भन्ने उजुरी परेपछि परिसरले छड्के चेकजाँच गरी ती प्रहरीलाई परिसरमा झिकाएर सोधपुछ थालेको परिसरले जनाएको छ।

‘नागरिक सेवा र कानुन कार्यान्वयन गर्न बसेका प्रहरी कर्मचारीले आर्थिक चलखेल गरेमा छुटकारा पाउने कुरै छैन,’ परिसरका एसपी अशोक सिहंले भने, -गल्ती नगरून् भन्नकै लागि हामीले प्रत्येक कार्यालयमा पुगेर सचेत गराएका छौ, यती गर्दा गर्दै गल्ती गर्नेलाई ठाँउका ठाँउ कारवाही हुन्छ त्यसको सुरुवात हामीले गरिसकेका छौ।’

Mon-Oct-2018, 04:03 pm मा प्रकाशित, 41 जनाले हेर्नुभयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *