स्कुल-कलेजले विद्यार्थीको सुत्ने समय त चोर्दै छैन?

- नेपाली सन्देश

नयाँ स्कुल। नयाँ शैक्षिक वर्ष। नयाँ माहोल।

सबथोक नयाँ भन्दैमा हाम्रा नानीबाबु रमाइरहेका छन् भन्ने ग्यारेन्टी छैन।

धेरै स्कुलमा धपेडी पनि धेरै छ। एकाबिहानै दौडधुप। स–साना केटाकेटी ७ बजे आँखा मिच्दै स्कुलबस कुरिरहेका हुन्छन्। कति त स्कुलै पुगिसक्छन्।

छिटो उठ्न छिटो सुत्नुपर्यो। यसो गर्ने मान्छे स्वस्थ हुन्छ भनेर स्कुलमा पढाइन्छ। व्यवहारमा अमल गर्न गाह्रो। आमाबाबुसँगै धेरै केटाकेटी राति ढिला सुत्छन्। पहिले घरमा एउटा टेलिभिजन हुन्थ्यो। झर्को लाग्दो कार्यक्रम भए केटाकेटी काखैमा निदाइदिन्थे।

अचेल त ल्यापटप, ट्याब, हात–हातमा मोबाइल। मन भुल्ने बाटो अनेक छन्। जति भुल्छ मन, उति भाग्छ निद्रा।

अबेरसम्म उल्लूसरी जागा आँखा कुखुराको डाँकसँगै जागोस् कसरी?

नानावली विदा दिने हाम्रा स्कुलमा निद्राविदाको नियम पनि त छैन!

थाकेका आँखालाई जोरजबर्जस्ती तन्काउँदै स्कुल नपुगी धर छैन। त्यही भएर अचेल हाम्रा केटाकेटी निद्राग्रस्त छन्। दुर्गमका बालबालिका पोषण नपाएर कुपोषणग्रस्त, सुगमका सुत्न नपाएर निद्राग्रस्त।

कम्तीमा आठ घन्टा सुत्नुपर्छ रे। केटाकेटीलाई दस घन्टा। यो स्कुल, कलेजमै पढाइन्छ। त्यही स्कुल, कलेजले हाम्रा नानीबाबुलाई सुत्ने समय दिएको खोइ?

निद्रासम्बन्धी अनुसन्धान गर्ने ‘अमेरिकन एकेडेमी अफ स्लिप मेडिसिन’ ले कक्षा ९ देखि १२ सम्मका विद्यार्थीको सुताइ अध्ययन गरेको थियो।

अध्ययनअनुसार प्रत्येक चारमा तीन जनाले आठ घन्टा सुत्न पाएका छैनन्। निद्रा नपुग्नु सुखद खबर होइन। यसले स्वास्थ्य, करिअर, पढाइ र सोच्न सक्ने क्षमतामा हानी पुर्याउँछ। राम्ररी ननिदाएका केटाकेटीले कक्षामा ध्यान दिन सक्दैनन्। उनीहरूको स्मरणशक्ति कमजोर हुँदै जान्छ। यसले पढाइमै नकारात्मक असर पार्छ।

अनिँदो केटाकेटीमा भावनात्मक समस्याहरू पनि आउँछन्। मानसिक रोगको जोखिम बढ्छ। मोटाउने समस्या देखिन्छ। मधुमेह, तनाव, मुटुका रोग र क्यान्सरको सम्भावना बढाउँछ।

अब त तपाईं झस्किनुभयो होला नि!

अनिँदो अवस्थाले ल्याउने यी जोखिमपछि अब यसका कारणबारे चर्चा गरौं।

हाम्रा केटाकेटीलाई किन निद्रा पुर्याउन गाह्रो भइरहेको छ? अभिभावक र स्कुल–कलेजले कसरी मद्दत गर्न सक्छन्?

सबभन्दा पहिला, शरीर विज्ञानको आधारभूत तथ्य। किशोरावस्थामा शारीरिक परिवर्तनहरू आउँछन् भन्ने सबैलाई थाहा छ। त्यसैमध्ये एक हो, निद्रा।

सानो उमेरका केटाकेटी छिटो सुत्छन्। छिटै ब्युँझन्छन्। किशोरावस्था लागेपछि त्यति छिटो निद्रा पर्दैन। छिटो ब्युँझन पनि सक्दैनन्। राति अबेरसम्म जागा बस्छन् र ढिलासम्म सुत्छन्।

छोराछोरीको यस्तो बानीले कति आमाबाबुलाई दिक्क लाग्ला। कतिले त गाली नै गर्लान्। यो उनीहरूको आलस्य होइन। शारीरिक परिवर्तनको उपज हो। किशोरावस्थामा मस्तिष्कले प्रकाशसँग गर्ने प्रतिक्रिया फेरिन्छ। अत्याधुनिक उपकरणहरूले यसमा थप प्रभाव पार्छ। धेरै किशोरहरू अचेल अबेरसम्म स्क्रिनको उज्यालोमा बस्छन्। चाहे त्यो ल्यापटप होस्, या मोबाइल।

प्यू रिसर्च सेन्टरको यस वर्षको प्रतिवेदनअनुसार १३ देखि १७ वर्ष उमेरका ९५ प्रतिशत केटाकेटी स्मार्टफोन चलाउँछन्। सन् २०१२ मा ३७ प्रतिशत थियो भने २०१५ मा ७३।

रोग नियन्त्रणसम्बन्धी एक सर्वेक्षणअनुसार माध्यमिक स्कुलमा पढ्ने ४३ प्रतिशत केटाकेटी रातको औसत तीन घन्टाभन्दा बढी ल्यापटप चलाउँछन्। चाहे त्यो स्कुलकै काम गर्न होस् वा भिडियो गेम खेल्न।

नयाँ पुस्तालाई स्क्रिनमा झुम्याउने अनेक बहाना छन्। ‘नेटफ्लिक्स’ र ‘युट्युब’ को लोकप्रियता बढ्दो छ। फेसबुक, इन्स्टाग्राम, स्न्यापच्याटजस्ता सामाजिक सञ्जालमा समय यसै बित्छ। यसले औसत दिनको छ घन्टाभन्दा बढी समय आँखा स्क्रिनमा टाँसिएकै हुन्छ।

स्क्रिन र निद्रा एकअर्काका दुश्मन। पानी बाराबार। एउटा झुल्किए, अर्को बेपत्ता। बढी समय स्क्रिनमा बिताउनेलाई निद्रा नलाग्ने त्यही भएर हो। मन भुलेपछि आँखामा निद्रा आओस् कसरी! भागेको निद्रा सजिलै फर्कोस् कसरी!

निद्रा नपर्नु भनेको आराम गर्ने समय घट्नु मात्र होइन। हाम्रो शरीरले निद्रा लगाउन एक प्रकारको हर्मोन उत्पादन गरिरहेको हुन्छ, जसलाई ‘मेलाटोनिन’ भनिन्छ। यो हर्मोनले ‘सुत्ने बेला भयो है’ भनेर मस्तिष्कलाई सन्देश दिन्छ। सन्देश पाएपछि आँखा लोलाउन थाल्छन्। मस्तिष्कको सक्रियता घट्दै जान्छ।

केही गरी हर्मोन उत्पादनमा गडबडी भयो भने निद्रा खल्बलिन्छ। नयाँ पुस्ताको समस्या यही हो।

अध्ययनअनुसार एलइडी, टिभी, ट्याबलेट र स्मार्टफोनबाट निस्कने निलो प्रकाशले निद्रा लगाउने हर्मोनलाई दबाइदिन्छ। अबेरसम्म स्क्रिनको प्रकाशमा बस्दा मस्तिष्कलाई रात परेको अनुभूति हुँदैन। मस्तिष्कले रातलाई दिउँसै ठान्छ। फलस्वरुप, शरीरले ‘मेलाटोनिन’ हर्मोन उत्पादन गर्दैन। हर्मोन गडबड भएपछि आँखामा निद्रा पर्दैन।

यसको समाधान, अभिभावकले केटाकेटीका लागि स्क्रिन (टिभी, ल्यापटप, ट्याब, मोबाइल) समय तोक्दिनुपर्छ। हरेक दिन निश्चित समय मात्र स्क्रिनको उज्यालोमा बस्न प्रेरित गर्नुपर्छ। सुत्ने समयभन्दा एक घन्टाअगाडि कोठामा उज्यालो प्रकाश कम गर्नुपर्छ। यो बेला एलइडीको चम्किलो प्रकाश बन्द गर्नु हाम्रो निद्राको लागि फाइदाजनक छ।

स्क्रिनको उज्यालोको समस्यालाई अझ बढाउने काम गर्छ, स्कुल–कलेजमा एकाबिहानै लाग्ने कक्षाले।

सन् २०१५ को तथ्यांकअनुसार ८६ प्रतिशत माध्यमिक विद्यालय बिहान साढे ८ बजे सुरु भइसक्छन्। दसमध्ये एउटा माध्यमिक विद्यालयमा साढे ७ बजेभन्दा अगाडि नै पहिलो घन्टी लागिसक्छ।

यति छिट्टै स्कुल लागेपछि केटाकेटी र किशोरहरू ६ बजे आँखा मिच्दै उठिसक्नुपर्छ। उनीहरूलाई तयार पार्न आमाबाबु ४ बजे जाग्नुपर्छ। यो त्यस्तो समय हो, जब चौबीस घन्टामा हाम्रो मस्तिष्क सबभन्दा कम सक्रिय हुन्छ।

बिहान स्कुल गइरहेका केटाकेटीको चाल हेर्नुस् त!

अधिकांश शिथिल र सुस्त देखिन्छन्। कुनै ऊर्जा हुन्न। खरायोझैं उफ्री–उफ्री स्कुल जानुपर्ने उनीहरू कछुवा गतिमा हुन्छन्। पाइलामा गह्रौं ढुंगाको भारी बोकेर हिँडेजस्तै।

दोष उनीहरूको होइन। दोष त्यो समयको हो, जब उनीहरूलाई स्कुल ढाकिन्छ।

बालरोगसम्बन्धी अमेरिकी एकेडेमीले सन् २०१४ मा एउटा सिफारिस गरेको थियो, जसमा निम्नमाध्यमिक र माध्यमिक तहको पढाइ साढे ८ बजेभन्दा अगाडि सुरु नगर्न भनिएको छ। यो प्रस्ताव अमेरिकन मेडिकल एसोसिएसन तथा अन्य थुप्रै स्वास्थ्य संगठनहरूले स्वीकार गरेका छन्।

स्कुल–कलेजमा ढिला पढाइ सुरु हुन थाले विद्यार्थीले धेरै समय सुत्न पाउँछन्। उनीहरूको निद्रा पुग्छ। निद्रा पुगेपछि फुर्तिलो भएर स्कुल जान्छन्। हाजिरी बढ्छ। विद्यार्थीको एकाग्रता बढ्छ। पढाइ सुध्रिन्छ। जाँचको नतिजा राम्रो हुन्छ। महत्वपूर्ण कुरा त, निद्रा नपुगेर कक्षामै झप्प निदाउने समस्या सुल्झन्छ। यसले समग्रमा शैक्षिक उपलब्धि बढ्छ।

साढे ८ बजेपछि स्कुल खोल्दा एक दशकभित्र राष्ट्रिय अर्थतन्त्रलाई कम्तिमा ८३ अर्ब अमेरिकी डलरको योगदान पुग्ने आरएएन्डडी कर्पोरेसनको अध्ययनले देखाएको छ।

ब्रुकिङ्स इन्स्टिच्युसनले ढिला स्कुल खुल्दा जीवनभरको आम्दानीमा औसत १७ हजार ५ सय डलर वृद्धि हुने हिसाब निकालेको छ।

यिनै विभिन्न अध्ययनका आधारमा सन् २०१४ यता अमेरिकाका थुप्रै राज्यले स्कुल खुल्ने समयबारे कानुन पारित गरेका छन्। क्यालिफोर्नियाले अगस्टमा पारित गरेको कानुन एक कदम अगाडि छ। त्यहाँ सन् २०२१ सम्म निम्नमाध्यमिक र माध्यमिक तहका सबै स्कुल साढे ८ वा त्योभन्दा ढिलो सुरु हुनुपर्ने कानुन बनेको छ।

स्कुलको समय परिवर्तन निम्ति सन् २०११ देखि काम गर्दै आएको संस्था ‘स्टार्ट स्कुल लेटर’ का टेयरा जिपोरिन स्निडर क्यालिफोर्नियाको उक्त कानुनलाई ‘कोशेढुंगा’ मान्छिन्।

क्यालिफोर्नियाका गभर्नर जेरी ब्राउनले भने स्थानीय अधिकारीको विरोधका बाबजुद उक्त कानुन तत्काललाई फिर्ता लिएका छन्। यसले केटाकेटीको मानसिक र शारीरिक स्वास्थ्यप्रति बेवास्ता गरेको भन्दै आलोचना भइरहेको छ।

‘बिहान–बिहानै स्कुल खोल्ने चलन अस्वीकार्य हुँदै गएको छ। यो कानुनले त्यही भावना प्रतिविम्बित गर्छ,’ उनले भनिन्, ‘केटाकेटी र किशोरहरूको हितमा ल्याइएको यो कानुन ढिलोचाँडो पारित हुन्छ।’

यो परिवर्तनमा विद्यार्थीका अभिभावकको पनि महत्वपूर्ण भूमिका रहन्छ।

सामुदायिक अभियन्ता, निद्रासम्बन्धी शोधकर्ता, स्वास्थ्यकर्मी र शिक्षाविद्हरूले स्कुल सुरु हुने समयलाई लिएर उठाउँदै आएको एजेन्डामा अभिभावक पनि समाहित हुनुपर्छ।

आफ्ना नानीबाबुको स्वास्थ्यको पहिलो सरोकार उनीहरूकै हो। यसमा उनीहरूको आफ्नै स्वास्थ्य पनि जोडिएको छ। बिहान साढे ८ बजेभन्दा अगाडि स्कुल सुरु हुनुहुन्न भन्नेमा अभिभावक तर्फबाट पनि जोडदार आवाज उठ्नुपर्छ।

(यो लेख हामीले न्यूयोर्क टाइम्सबाट साभार गरेका हौं। लेखक विज्ञान शिक्षक र पत्रकार हुन्।)

Tue-Oct-2018, 02:05 am मा प्रकाशित, 38 जनाले हेर्नुभयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *