पारिश्रमिक कम वृद्धि गरेकामा महासंघको आपत्ति

- नेपाली सन्देश

काठमाडौँ — नेपाल पत्रकार महासंघले सञ्चारकर्मीको न्यूनतम तलब पारिश्रमिक निर्धारण समितिको सिफारिसभन्दा कम वृद्धि गरिएकोमा आपत्ति जनाएको छ । समितिले श्रमजीवी पत्रकारको पारिश्रमिक ५० प्रतिशत बढाउन सिफारिस गरे पनि सरकारले २५ प्रतिशत मात्र बढाएको थियो ।‘महासंघ, श्रमजीवी पत्रकार, मिडिया सञ्चालक र सरकारी पक्षसमेत रहेको न्यूनतम पारिश्रमिक निर्धारण समितिले श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक २९ हजार ५ सय बनाउन गरेको सिफारिस लत्याउँदै २४ हजार ५ सय रुपैयाँ मात्र बनाउने सरकारको निर्णयप्रति महासंघ दु:ख प्रकट गर्छ’, महासचिव रमेश विष्टद्वारा बिहीबार जारी विज्ञप्तिमा छ ।

महासंघले समितिको सिफारिसअनुसार न्यूनतम पारिश्रमिक पुनरवलोकन गर्न सरकारसित माग गरेको छ । केही सञ्चारमाध्यमले श्रमजीवी पत्रकारलाई समयमा पारिश्रमिक उपलब्ध नगराएकामा समेत महासंघले आपत्ति प्रकट गरेको छ ।

‘विजयादशमीअगावै श्रमजीवी पत्रकारको बाँकी पारिश्रमिक उपलब्ध गराउन र श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गर्न/गराउन महासंघ सञ्चारमाध्यम र सरकारलाई आग्रह गर्छ, श्रमजीवी पत्रकार ऐन लागू नगर्ने सञ्चारमाध्यमविरुद्ध महासंघ कठोर ढंगबाट प्रस्तुत हुन बाध्य हुने स्पष्ट पार्न चाहन्छौं’, विज्ञप्तिमा छ ।
Fri-Oct-2018, 01:59 am मा प्रकाशित, 31 जनाले हेर्नुभयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *