राष्ट्रपति भण्डारी आज कतार जानुहुँदै

- नेपाली सन्देश

गोरखापत्र समाचारदाता

काठमाडौँ, कात्तिक १२ गते । राष्ट्रपति विद्यादेवी भण्डारीको सोमबारदेखि हुन लागेको मित्रराष्ट्र कतारको भ्रमणलाई सरकारले स्वीकृत गरेको छ । प्रधानमन्त्रीको निवास बालुवाटारमा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उहाँको भ्रमणलाई स्वीकृत गरेको हो ।
कतारका राष्ट्राध्यक्ष शेख तमिम विन हमाद अल थानीको निमन्त्रणामा राष्ट्रपति भण्डारी कात्तिक १२ देखि १५ गतेसम्म तीन दिनका लागि कतार जान लाग्नुभएको हो ।
उहाँसँग परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्रसचिव शंकरदास वैरागीसहित राष्ट्रपति कार्यालय र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरूको समेत सहभागिता रहने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
भ्रमणको मुख्य उद्देश्य नेपाल र कतारबीचको दुई पक्षीय सम्बन्ध र सहयोग सुदृढ गर्ने रहेको सूचना तथा सञ्चार प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिनुभयो । उहाँकाअनुसार राष्ट्रपति भण्डारी कतार भ्रमणमा रहँदा कृषि तथा पशुपन्छी विकास सम्बन्धी समझदारीपत्र, स्वास्थ्य, सुरक्षा सहयोग, प्रेस तथा सूचना, कूटनीतिक राहदानी बाहक दुवै देशका नागरिकहरूलाई प्रवेषाज्ञा छुट दिने जस्ता महत्वपूर्ण समझदारीपत्रमा हस्ताक्षर हुनेछ ।
भ्रमणको अवसरमा कतारस्थित राजदूत रमेशप्रसाद कोइरालाले १२ गते अपराह्न रात्रीभोजको आयोजना गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । राष्ट्रपति भण्डारी १५ गते बिहीबार स्वदेश फर्कनु हुनेछ ।
त्यसैगरी नेपाल र मलेशिया सरकारबीच कामदार भर्ना, रोजगारी र पुनस्र्थापनासम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गर्न श्रममन्त्री गोकर्ण विष्टलाई अख्तियारी दिने निर्णय बैठकले गरेको प्रवक्ता बाँस्कोटाले जानकारी दिनुभयो । दुई पक्षीय बैठकमा मलेसियाका मानव संशाधनमन्त्रीको पनि सहभागिता रहने उहाँले बताउनुभयो ।
सरकारले विद्युतीय पत्राचार व्यवस्थापन निर्देशिका जारी गरेको छ । प्रवक्ता बाँस्कोटाका अनुसार सरकारी निकायमा विद्युतीय पत्राचार व्यवस्थापन निर्देशिका नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय बैठकले गरेको हो । अब सबै सरकारी निकायमा त्यही निर्देशिका अनुसार विद्युतीय पत्राचार हुने उहाँले जानकारी दिनुभयो ।

Mon-Oct-2018, 01:57 am मा प्रकाशित, 36 जनाले हेर्नुभयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *