छाेरी स्वीकार्दै एक कोरियाली दम्पतीले गरे नेपाली युवतीको कन्यादान

- नेपाली सन्देश

साेल- दक्षिण कोरियाको राजधानी साेल नजिकै रहेकाे दोङ्देमुनस्थित ज्योती रेष्टुरेन्टमा शनिबार हिन्दु परम्पराअनुसार विवाह चलिरहेको थियो। विवाहमा बेहुला-बेहुली थिए लमजुङका राजेशजंग हमाल र काभ्रेकी समान्ता हमाल।

विदेशमा नेपालीकाे संख्या र समुदाय विस्तार भइरहेकाेले पनि नयाँ सम्बन्ध स्थापित हुने क्रम बढ्दाे छ। कतिपयले यतैकाे प्रेम-सम्बन्धलाई विदेशमा गएर वैवाहिक सम्बन्धमा रुपान्तरण गर्ने गरेका छन् भने कतिपयले विदेशमा सम्पर्क र भेटघाट भई स्थापित सम्बन्धलाई नेपालमा आएर पनि वैवाहिक सम्बन्धमा परिणत गर्ने गरेका छन्। यसबाहेक पछिल्लाे समय भने विदेशमै सम्पर्क भई उतै विवाह गर्ने चलन बनि बढेकाे छ।

राजेश र समान्ता राेजगारीका लागि इपिएस परीक्षा दिई सरकारी काेटामा काेरिया पुगेका हुन्। काेरियामै परिचय भई माैलाएकाे प्रेम सम्बन्धलाई उनीहरुले विवाहमा परिणत गर्दै शनिबार एकअर्काले जीवनसाथीकाे रुपमा स्वीकार गरेका हुन्।

यसबाहेक अचम्मकाे कुरा त के छ भने विवाह विशुद्ध हिन्दु नेपाली परम्पराबाट हुँदै थियाे। जसका लागि दुबै पक्षका व्यक्तिकाे उपस्थिति आवश्यक रहन्छ। त्यसमाथि जन्ती र कन्यादन दिने व्यक्ति मुख्य मानिन्छन्। राजेश र समान्ताकाे बिहेमा जन्ती नेपाली भए पनि कन्यादान दिने व्यक्ति भने नेपाली थिएनन्। समान्ताकाे अभिभावक बन्दै एक काेरियाली दम्पतीले उनकाे कन्यादान गरिदिएका छन्।

हाे समान्ताका अभिभावक नेपालबाट उपस्थित हुन नसकेपछि कन्यादान दिन उपस्थित थिए उनले काम गर्दै आएको कृषि फार्मका सञ्चालक काेरियाली दम्पती।

कन्यादान गर्ने काेरियाली दम्पतीकाे थप राेचक कुरा के छ भने समान्ताकी ‘साहुनी’ विशुद्ध नेपाली पहिरन लगाएरै कन्यादनका लागि विवाह स्थलमा उपस्थित भएकी थिइन्। छोरी स्वीकार्दै कन्यादान दिन आएकी उनले घाँटीमा नौगेडी, हातमा चुरा, लेहेंगा तथा ब्लाउज लगाएकी थिइन्। उनका पतिले भने सर्ट पाइन्ट लगाएका थिए।

उनीहरु मण्डपमै बसेर नेपाली पण्डितले भनेअनुसार विधिपूर्वक कन्यादानमा सहभागी थिए। ३ छोराका अभिभावक कोरियाली दम्पतीको कृषि फार्ममा काम गर्दै आएकी समान्तालाई आफूहरुले छोरीसरह मान्दै आएको उनीहरुले बताए।

काेरियाली दम्पतीकाे साे व्यवहारले समान्तालाई अभिभावककाे कमी महशुस भएन भने नेपाली र काेरियालीबीचकाे सांस्कृतिक सम्बन्ध थप बलियाे बनेकाे उपस्थित नेपालीहरुले बताएका छन्।

विवाहमा बेहुला पक्षबाट करिब २० जन्ती सहभागी थिए। काेरियाली दम्पतीले जन्तीलाई टिकाटाला गरेर बिदाई गरेका थिए।

Sun-May-2019, 07:45 am मा प्रकाशित, 108 जनाले हेर्नुभयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *