मनकारी ट्याक्सीचालक : अशक्त, बेसहारालाई नि:शुल्क यात्रा

- नेपाली सन्देश

१ जेठ, पोखरा । ट्याक्सी नम्बर ग १ ज ४९०९ । यसको पछाडि लेखिएको छ, ‘५० दिन भूकम्प पीडित, १०५ दिन वृद्धवृद्धाको नि:शुल्क ट्याक्सी सेवापछि अब आउने दिन नेत्रहीनका लागि ।’

यो ट्याक्सीको स्टेरिङ समातेर रामबजार हुँदै पोखरा परिक्रमा गरिरहन्छन् चेत आले । अरु ट्याक्सी चालकभन्दा उनी फरक खालका ग्राहकको खोजीमा हुन्छन् । उनी पैसावाला होइन, दुखी र बेसहारालाई यात्रा गराउन आतूर हुन्छन् । त्यो पनि नि:शुल्क ।

२०७२ सालमा गएको भूकम्पले जमिनमात्रै हल्लाएन, थुप्रैको ज्यान लियो । घरबास उठायो । हजारौं घाइते बने । गोरखाको बारपाक केन्द्र बनाएर गएको भूकम्पको क्षति पोखराले भने त्यति बेहोरेन । तर, भूकम्प प्रभावित गोरखा, लमजुङ, धादिङ लगायतबाट ल्याइएका घाइतेले पोखराका अस्पताल भरिए ।

त्यही मौकाको पाइदा उठाउँदै कैयौं ट्याक्सी चालक ग्राहक ठग्ने धन्दामा पनि लागे । तर, चेतको मन भने दुखिरह्यो, छटपटिइरह्यो । भूकम्प पीडितको चोटमा आफूले कसरी थोरै भए पनि मल्हम लगाउने भनेर सोच्न थाले । एक ट्याक्सीचालकलाई भूकम्पले समाजसेवा गर्न प्रेरणा दियो । यस्तो बेला पैसा कमाउनेतिर लाग्ने होइन, सकेको सहयोग गर्नुपर्छ भनेर उनी उद्वेलित बने ।

‘ट्याक्सीले कमाउने अरु बेला आउँछ, यो बेला मैले नि:शुल्क सेवा गर्नुपर्छ,’ उनले आफैंलाई सम्झाए ।

७ वर्षदेखि ट्याक्सी हाँक्दै आएका उनले त्यसपछि भूकम्पका घाइतेलाई पोखराका अस्पतालहरुमा र सुरक्षित ठाउँमा जैलान नि:शुल्क सेवा सुरु गरे । त्यतिबेला पोखरामा ५ सयभन्दा बढी भूकम्प पीडितलाई सहयोग गरेको चेत बताउँछन । उनी राहत बोकेर पनि घरघर पुगेका थिए ।

‘सुरुमा अस्पतालहरुमा ‘नि:शुल्क ट्याक्सी चाहिएमा’ भनेर आफ्नो फोन नम्बर टिपाएँ,’ चेतले भने, ‘त्यसपछि लगातार कल आउन थाले । रातदिन नभनि निशुल्क सेवा दिएँ । अहिले पनि त्यो सम्झिँदा खुसीले ढक्क छातस् फुल्छ ।’

गोरखाका भूकम्प पीडितलाई पोखराको तमु छोँज धींमा राखिएको थियो । अस्पतालदेखि त्यहाँ पु¥याउने र निको हुनेलाई आफन्त वा घरसम्म पु¥याउने काममा पनि उनी खटिए ।

भूकम्प पीडितलाई त्यसरी निस्वार्थ सहायता गर्दा आलेलाई कतिपयले उल्टै आलोचना गर्थे ।

‘देशविदेशबाट धेरैले सह्राहना गर्नुभयो । तर, कतिपयले चाहिँ कुनै संस्थाको पैसा खाएर चर्चा कमाउन खोजेको आरोप पनि लगाए,’ गम्भीर भावमा उनी सुनाउँछन् ।

कतिपय शुभचिन्तकले पनि ‘सेवा गर्न ट्याक्सी किनेको हो र खुरुक्क कमाउनतिर लाग’ भन्ने खालको सुझाव दिए । तर, उनी कहिल्यै आफ्नो सेवाभावबाट विचलित भएनन् ।
‘मभन्दा सयौं गुणा धनी मान्छे छन् समाजमा । के सबै धनी मान्छेले सहयोग गरेका छन् ? के सबै धनी मान्छेले नि:शुल्क दिएका छन् ?’ उनी प्रश्न गर्छन्, ‘सहयोग भाव पैसाले होइन, संवेदनाले पैदा हुन्छ । जब अरुको दुखमा आफ्नो आँखा भिज्छ, त्यतिबेला स्वतः यस्ता भाव उब्जिन्छ ।’

लाहुरे छोडेर खाडी हुँदै ट्याक्सी चालक

आले पूर्व भारतीय सैनिक हुन् । उनीमात्रै होइन, उनको सिंगै परिवार ‘लाहुरे’ पृष्ठभूमिको छ । उनका बाबु र भाइ ब्रिटिस आर्मी हुन् । चेत पनि १९ वर्षमा भारतीय सेनामा भर्ती भए । उनले १० वर्ष जागिर खाएर स्वदेश फर्किए ।

‘केही व्यक्तिगत र केही पारिवारिक कारणले स्वेच्छिक अवकाश लिएको थिएँ,’ आले पुराना दिन सम्झिन्छन्, ‘नेपाल आइसकेपछि परिवारसँग समय बिताउँला भन्ने थियो । तर त्यसबेला द्वन्द्वकाल भएकाले बाँच्नै गाह्रो भएपछि खाडी गएँ ।’

उनी साउदी, कतार मलेसिया हुँदै इराकसम्म पुगे । खाडीको तातो घाममा उनले १२ वर्ष सेक्युरिटी गार्डको काम गरे ।

आले खाडीको बसाइ सिध्याएर नेपाल फर्किए । परिवार पूख्र्यौली थलो स्याङ्जा छोडेर पोखरा रामबजार झरिसकेको थियो । लाहुरे हुँदादेखि खाडीमा पसिना बगाउँदासम्मको कमाइले उनले पोखरामा घर जोडेका छन् ।

स्वदेश फर्केर पनि खाली बस्न उनलाई मनै लागेन ।

‘फौजमा हुँदा ड्राइभिङ ट्रेनिङ लिएको थिएँ । आफूले जानेको काम त्यही थियो,’ उनी भन्छन्, ‘त्यसपछि ट्याक्सी किनेर चलाउन थालेँ ।’ करिब ७ वर्ष पहिले आफैं ट्याक्सी किनेका थिए उनले, २२ लाख रुपैयाँमा ।

‘ट्याक्सी मेरो व्यवसाय गर्ने बाटो थियो । तर मेरो भित्री रहर त सामाजिक सेवा नै हो,’ आले खुल्न चाहे, ‘धेरै वर्ष ट्याक्सी चलाए पनि भूकम्प पीडितलाई नि:शुल्क सेवा गर्दा मलाई औधी सन्तुष्टि मिल्यो । त्यसपछि थाहा पाएँ, खुशी त यसमा रहेछ ।’

चेतले ५० दिनसम्म भूकम्प पीडितहरुलाई नि:शुल्क ओसारे । तर, उनको समाजसेवाको भोक मरेन । त्यसपछि उनले वृद्धवृद्धाका लागि समय छुट्याए, १ सय ५ दिन । उमेर समूह छुट्याए, ९० वर्षमाथि ।

‘९० वर्ष उमेर हदबन्दी छुटयाए पनि ५० वर्षदेखि १ सय ५ वर्षसम्मका वृद्धवृद्धालाई ओसार्ने काम गरें,’ उनले सम्झिए, ‘बाटोमा वृद्धवृद्धा ट्याक्सीमा जान रुचि देखाए भने सहयोग गरिहाल्थें । भाडा दिन खोज्दा लिन्न । मैले आफ्नै बाआमा सम्झिएर सहयोग गरेको हुँ भन्दा अचम्म मान्थे ।’

उनले सशुल्क पनि ट्याक्सी नचलाएका होइनन् । खाली बुढाबुढी र असक्तसँग शुल्क लिँदैनथे ।

एकपटक कुनै पत्रिकामा उनको कामबारे समाचार छापिएछ । एउटी वृद्धाले त्यो समाचार पढिछन् । कुद्दै गएर छोरालाई सुनाइछिन्, ‘छोरा हेर् त, हामी बुढाबुढीलाई फ्रिमा ट्याक्सी चलाँछन् रे यिनी बाबुले ।’ छोरालाई पत्यार लागेनछ । आमाको कुरालाई नकार्दै भनेछन्, ‘ह्या आमा, यस्ता कुरा चर्चाका लागि मात्रै हुन्छन् । ठगहरु !’
संयोगवश त्यही दिन बिहान ती आमाछोरा नै आलेको गाडीमा चढ्न पुगेछन् । गन्तव्यमा पुगेर जब आमाले भाडा दिन खोजिन्, उनले लिन मानेनन् ।

‘त्यसपछि बल्ल ती युवा विश्वस्त भएर मलाई अंकमाल गर्दै धन्यवाद दिए,’ आलेले भने ।

कति जना वृद्धवृद्धालाई नि:शुल्क सेवा दिइयो उनलाई थाहा छैन । त्यसको लेखाजोखा पनि राख्दैनन् । सेवा हिसाबकिताबमा हुँदैन भन्ने लाग्छ उनलाई ।

०००

केही दिनअगाडि काठमाडौंमा ट्याक्सी चालकले बाटोमै बिरामी फालेर भागेको सुन्दा चेत आलेको मन कटक्क खायो । निकै दिनसम्म उनी दिक्क बनिरहे ।
‘ट्याक्सी चालकको मानवता कहाँ हरायो होला ?’ उनी एक्लै भुट्भुटिन्थे, ‘कसरी मान्छे यतिसम्मको निर्दयी हुन्छ ?’

एक व्यक्तिको निर्दयताले आफ्नो पेशा नै बदनाम हुने अवस्थाले उनलाई थप पिरोलेको थियो । कोमल हृदयका आले आफ्नो पेशालाई व्यवसायभन्दा बढी सेवा ठान्छन् ।
‘सेवा गर्न ठूलो मान्छे हुनुपर्छ र ?’ अनलाइनखर पोखराको कार्यालयमा गफिदै आलेले प्रश्न गरे । अनि उत्तर पनि आफैंले दिए, ‘पर्दैन । बरु ठूलो छाति चाहिन्छ ।’

‘ट्याक्सी चलाउने भनेको मुख्यरुपमा कमाउनकै लागि हो । तर, त्यतिसम्म निर्दयी हुनुभएन नि । आफ्नो सानो सहयोगले कसैको ज्यान बच्छ, कसैलाई ठूलो खुसी मिल्छ भने म किन पैसामात्रै हेरुँ । त्यो बेला मलाई पनि खुसी मिल्छ,’ उनले सुनाए ।

आलेले गरेको सेवाबाट उनको परिवार पनि खुसी नै छन् । २ छोराछोरी, श्रीमती र आमासँग बस्दै आएका उनी ट्याक्सीबाट महिनामा सरदर ३०÷३५ हजार कमाउँछन् । भन्छन्, ‘मेरो कामदेखि परिवार खुसी छन् । कहिल्यै यस्तो नगर भन्दैनन् ।’

पछिल्लो समयमा आले नयाँ अफर लिएर आएका छन् । उनको अबको सेवा ‘दृष्टिविहीनका लागि’ केन्द्रित हुनेछ । बाटोमा कष्टसाथ हिँडिरहेका दृष्टिविहीनहरु देख्दा उनीहरुलाई सहज यात्रा गराउने सोच उनमा पलाएको हो ।

केही ठगले बिगारे

आलेले पोखराका सडकमा ट्याक्सी गुडाएको ७ वर्षमा थुप्रै समस्या र अपमानको पनि सामना गरे । कालो नम्बर प्लेटको ट्याक्सी गुडाउँदै हिँड्दा कतिले ‘ठग’ बिल्ला भिराउँछन् ।

‘न मैले कसैलाई अहिलेसम्म ठगेको छु । न कसैलाई ट्याक्सीमा राखेर दुख दिएको छु, तर पनि ट्याक्सीचालक भन्नेबित्तिकै ठग र फटाहाजस्तो व्यवहार गर्छन्,’ उनको दुखेसो छ, ‘यस्तो हुँदा बहुत दुख लाग्छ । मिहिनेतको रोटी खानेलाई मान्छेहरु कति सजिलै ठग भनिदिन्छन् ।’

अन्य पेशामाजस्तै ट्याक्सी क्षेत्र पनि समस्या नभएका होइनन् । तर, सबैलाई एउटै डालोमा हालेर प्याच्च भनिदिँदा दुख लाग्ने उनी बताउँछन् ।

‘कतिपय ठग्नेहरु पनि होलान् । कति ट्याक्सीमा छुटेका समान फिर्ता नगर्ने पनि होलान्,’ उनले भने, ‘तर, सबै त त्यस्ता हुँदैनन् नि । जस्तो केही घुस खाने कर्मचारी होलान्, भ्रष्टाचार गर्ने नेता होलान्, मनलागी सोध्ने पत्रकार पनि होलान् । अनि मैले सबै कर्मचारी, नेता, पत्रकारलाई चोर, घुस्याहा भन्ने ?’

मूल्य समायोजन हुनुपर्छ

पोखरामा सबैभन्दा ठूलो समस्या मिटरमा ट्याक्सी नचलाउनु हो । आलेलाई पनि यो सबैभन्दा ठूलो समस्या लाग्छ । मिटरमा चलाउनका लागि मूल्य समायोजन हुनुपर्ने उनको पनि माग छ ।

‘एउटा मिनिबसमा चढ्नेबित्तिकै अहिले तपाईंले १५ रुपैयाँ तिर्नुपर्छ । ट्याक्सीमा १४ रुपैयाँबाट सुरु हुन्छ,’ चेत भन्छन्, ‘अनि अहिलेको महंगी, ट्याक्सी मर्मत गर्नुपर्दा, सामान फर्न पर्दा अकासिएको मूल्य कसरी थेग्नु ? कसरी बाँच्नु ?’

धेरै वर्षअगाडि कायम गरिएको ट्याक्सीको भाडादर समायोजन हुनुपर्छ भन्दा थुप्रै पटक दुख र सास्ती खेपेको उनले सुनाए ।

‘हामी मिटरमा चलाउन तयार छौं । मिटरमा जानबित्तिकै धेरै कुरा सहज हुन्छन् । यात्रुसँग बार्गेनिङ गर्नै पर्दैन । एउटा मापदण्ड तोकौं, भाडादर समायोजन गरौं,’ आलेले भने, ‘देशमै काम गर्छु, जीवन धान्छु, परिवार पाल्छु भन्ने श्रमिकलाई बिस्थापित गर्ने नीति त सरकारले लिनु भएन नि ।’

Thu-May-2019, 09:02 am मा प्रकाशित, 75 जनाले हेर्नुभयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *