पहिरोले घर पुरिँदा एकै घरका दुई आमा छाेरीको ज्यान गएको छ ।

- नेपाली सन्देश

ओखलढुंगा , २८ असार । ओखलढुंगामा घरमाथिबाट आएको पहिरोले घर पुरिँदा एकै घरका दुई आमा छाेरीको ज्यान गएको छ । जिल्लाको मोलुङ गाउँपालिका ७ पात्लेमा घरमाथिबाट आएको पहिरोले घर पुरिँदा घरभित्र रहेका ४० वर्षीया पुटी शेर्पा र उनका छारी १० वर्षीया याङ्जी शेर्पाको
ज्यान गएको हो ।

शनिबार बिहान करिब १० तिर घरमाथिबाट एक्कसी खसेको पहिरोले घर पुरेपछि घरभित्र रहेका उनीहरुको ज्यान गएको मोलुङ गाउँपालिका ७ पात्लेका वडा अध्यक्ष हेम कुमार सुनुवारले बताए । पानी पर्न रोकिएपछि शेर्पाका श्रीमान घरबाहिर निस्किएको ५ मिनेटमै घरमाथिको सडक हुँदै आएको पहिरोले आमा छोरीको मृत्यु भएको हो। घरभित्र एउटै खाटमा आमाछोरी सुतिरहेको अवस्थामा पहिरोले पुरिएको वडा अध्यक्ष सुनुवारले बताए । शेर्पाका श्रीमान घरबाहिर निस्किएकाले बाच्न सफल भएका छन् ।

ढुंगा र माटोले बनेको घर पहिरोका कारण पुर्ण रुपमा ध्वस्त भएको छ । पहिरोले घर पुरिएपछि वडा अध्यक्ष सुनुवारसहित २ सय जना स्थानीयको सहयोगमा उद्धार गर्ने क्रममा एउटै खाटमा दुई आमाछोरीको शव फेला परेको हो।

शेर्पा परिवारमा श्रीमानसहित तीन जना बस्दै आएका थिए । यता निरन्तरको वर्षाका कारण सिद्धिचरण नगरपालिका ६ मा गुन बाहादुर श्रेष्ठकी श्रीमती बेपत्ता भएकी छन् । उनको खोजी कार्य जारी रहेको स्थानीयले जनाएका छन् । बाढीका कारण शुक्रबार मात्रै ओखलढुंगामा दुई जनाको मृत्यु भएको थियो ।

Sun-Jul-2019, 05:09 pm मा प्रकाशित, 135 जनाले हेर्नुभयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *