ब्लड क्यान्सर पीडित धनुषास्थित जनकपुर कि ३५ वर्षीया पिंकी कुमारी साहको आर्थिक अभाव

- नेपाली सन्देश

काठमाडौं । ब्लड क्यान्सर पीडित धनुषास्थित जनकपुर उपमहानगरपालिका–१ कि ३५ वर्षीया पिंकी कुमारी साहको आर्थिक अभावका कारण उपचारमा गर्न समस्या परेको उनका परिवारले जनाएका छन् । गएको वैशाख ३१ गते छोरीलाई जन्म दिएकी उनको काठमाडौंस्थित निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल)मा उपचार भइरहेको छ । चार महिनादेखि सिभिल अस्पतालमा उपचाररत पिंकीको अझै १० महिना उपचार गर्नुपर्ने चिकित्सकले बताएका पिंकीका श्रीमान् रोशन कुमार साहले ओएसनेपाललाई जानकारी दिए ।

गएको फागुन ३१ गते सिभिलमा भर्ना भएकी उनलाई ब्लड क्यान्सर (एपीएमएल) भएको हो । जसको उपचार गर्न लाखौं रुपैयाँ लाग्ने रोशनले जानकारी दिए । उनकाअनुसार पिंकीको उपचारमा हालसम्म २२ लाख भन्दामाथि सकिएको र अझै १५–२० लाख रुपैयाँ लाग्ने छ । तर, यत्रो रकम जुटाउन नसक्ने भएपछि साह परिवार तनावमा परेका छन् । हालसम्म जसोतसो ऋण धन गरेर उपचार गरेको जानकारी दिएका रोशनले अहिले पैसा नभएको र उपचार गर्न कठिन रहेको बताए । गहभरी आँशु पार्दै रोशनले श्रीमतीको उपचार गर्न ऋण समेत नपाएको दुखेसो पोखे ।

डेढ महिनाकी छोरी घरमा पठाएर कहिले अस्पताल त कहिले भाडामा लिएको कोठामा बस्दै उपचार गर्दै आएकी पिंकीलाई आफ्नो रोगको भन्दा पनि छोरीको चिन्ताले सताइरहेको पति रोशनले जानकारी दिए । दुधे छोरीलाई आफ्नो काखबाट टाढा राख्नु पर्दाको पीडा शब्दमा वर्णन गर्न नसकिने पिंकीले आफ्नो पीडा सुनाइन् ।

‘बाँचेर छोरी हुर्काउने इच्छा भए पनि उपचार गर्न पैसा अभावले के हुने हो यसै भन्न सकिएन’, उनले भनिन्, ‘कसैले आर्थिक सहयोग गरे मेरी छोरीले आमाको काख पाउने थिइन्।’ पैसाको जोहोका लागि धेरैसँग हात थाप्दा पनि नपाएपछि निराश बनेका पिंकीका श्रीमान रोशनले पनि श्रीमतीको उपचारमा आर्थिक सहयोग गरिदिन सबैमा अपिल गरेका छन् । सहयोगका लागि उनले आफ्नो मोबाइल नम्बर ९८०८५३८१७२ दिएका छन् । एनएमबी बैंक जनकपुर शाखामा रहेको रोशन कुमार साहको खाता नम्बर ०३०२४९००७२०५०२०००००१ मा रकम जम्मा गरिदिएर सहयोग गर्न पति रोशनले सबैमा आग्रह गरेका छन् ।

source . Insider media

Tue-Oct-2019, 02:42 pm मा प्रकाशित, 212 जनाले हेर्नुभयो

Leave a Reply