होमवर्क नगरेको भन्दै सरले आँखा सुन्निने गरी लठ्ठीले हिर्काए।

- नेपाली सन्देश

रुपन्देही सम्मरीमाई गाउँपालिका-६ मार्चवारका मोहम्मद देवान ज्ञानदीप बोर्डिङ स्कुलमा कक्षा ५ मा पढ्छन्।

गत बुधबार देवान सधैंझै विद्यालय गए। तर त्यो दिन उनले एउटा विषयको कापी लान छुटाएछन्।

कापी लान छुटाएपछि उनको होमवर्क छुट्यो।

शिक्षक शैलेन्द्र बराईले होमवर्क नगरेको भन्दै उनलाई गाली गरे। उनले  गालीमात्रै गरेनन् मोहम्मदलाई लठ्ठीले हिर्काए।

बराईले हानेको लठ्ठी मोहम्मदको आँखामा लाग्यो।

‘त्यो दिन मैले फेयर कापी लग्न बिर्सेको थिएँ,’ उनले सेतोपाटीसँग भने,’पछि सरले आखाँमा चोट लाग्ने गरी लठ्ठीले हान्नुभयो।’

शिक्षकको कुटाइले १३ वर्षीय देवानको बाँया आँखा सुनिएको छ, निलो भएको छ।

विद्यालयका प्रधानाध्यापक सुरेन्द्र बराईका अनुसार विद्यार्थीले कापी नल्याएपछि शिक्षकले कक्षाबाट निस्कन भनेका थिए।

देवान कक्षाबाट निस्कन नमानेर उल्टै शिक्षकसँग बाझ्न खोजेपछि शिक्षकले पिटेको उनले स्वीकारे।

‘होमवोर्क गरेको थिएन अनि कक्षाबाट बाहिर निस्की केही गर्दिनँ भन्नुभएको थियो शिक्षकले,’ उनले भने,‘उसले शिक्षकको कलर समातेछ अनि कुट्नुभयो।’

घटनापछि देवानलाई प्रध्यानाधापक बराईले भैरवहास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्समा उपचार गराउन लगेका थिए।

उपचारमा डाक्टरले सात दिनको औषधी दिएको र सामान्य सुन्निएको बराईले बताए।

‘विद्यार्थी अलि रिसालु स्वभावको थियो घरको चकचक गर्ने बानीले गर्दा यस्तो हुन पुग्यो,’ उनले भने।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले भने यसबारे उजुरी नआएकाले कारबाही प्रकृया अघि नबढेको बताएको छ।

‘निवेदन आउन पर्ने आएको छैन, आज हुलाकबाट उजुरी पठाएको छ भन्ने सुनिएको छ,’ जिल्ला प्रहरी कार्यालयका डिएसपी खड्ग खत्रीले भने,‘उजुरी कसरी आएको छ त्यही अनुसार कारबाही हुन्छ।’

पीडितहरू मिडियामा आए  पनि तर प्रहरी कार्यालयमा नआएकाले समस्या भएको डिएसपी खत्रीले बताए।

२०७६ पुष २०, आईतवार १६:१८ गते मा प्रकाशित, 69 जनाले हेर्नुभयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *