अन्नपूर्ण गाउँपालिकाका अध्यक्षले लकडाउनको बेला यस्तो सल्लाह दिए।

- नेपाली सन्देश

अन्नपूर्ण गाउँपालिका वडा नं. १ का लले विकलाई गाउँपालिका अध्यक्ष युवराज कुँबरले सोधे, ‘दाइ राहत आवश्यक भए भन्नु है । ’ लले विकले युवराजलाई जवाफ दिएछन्, ‘मलाई किन चाहियो राहत ? घरमा ५ मुरी धान, एकसुली मकै र ४ मुरी कोदो छ चाहिन्छ भने ल लैजाउ भाइ । ’

कोरोना भाइरसले संसारभर आँधीहुरी ल्याइदियो । भाइरसबाट बच्न लकडाउनको अवधारण आयो । ज्यामी मजदुरी गरी खानेलाई आपत आइपर्‍यो।

 विपत्को मलम बनेर राहत आयो । हुने खानेहरूले अनलाइनबाट समान मगाउन थाले । गरिखानेहरू राहतको लाइनमा लामवद्ध भए।
महानगरपालिकामा राहत वितरणको रमिता नै देखियो । पहिला खाद्यन्य वितरण गरियो । लकडाउन थपिदै जाँदा मानिसहरूले भोकविरुद्ध आवाज उठाउन थाले । वितरण प्रणालीमा त्रुटी देखिँदा भात पकाएर घर घरसम्म पुराउने उपाय खोजियो । स्वयम् पक्यहरूले दिग्दारी माने । थाल बोकेर भात खान जाने परिपाटी आयो । यो पनि सफल  हुन सकेन । राहत वितरण कार्य जनप्रतिनिधिलाई घाँडो भयो ।

महानगरमा रहेकाहरू महाव्याधीको रोगले भन्दा पनि भोकले मरिन्छ कि भन्ने त्रासमा रहँदा कास्कीको उत्तर पश्चिम अवस्थित अन्नपूर्ण गाउँपालिका अन्नले भरिपूर्ण भएको दावी गर्छन गाउँपालिकाका अध्यक्ष युवराज कुँबर ।

स्कुलले जीवनदेखि विद्यार्थी राजनीतिमा होमिएका सादगी स्वभावका युवराज वि.सं. २०५४ मा नेपाल विद्यार्थी संघ कास्कीको उपाध्यक्ष भए । पार्टी राजनीतिमा लागेको १९ वर्षपछि स्थानीय तहको निर्वाचन भयो । अन्नपूर्ण गाउँपालिकाको अध्यक्षमा चुनिएर कास्की जिल्लाको लालकिल्लालाई धावा बोलिदिए । नेविसंघको उपाध्यक्षबाट २३ वर्षपछि युवराज गाउँपालिकाको अध्यक्ष भए । गाउँलाई चिनेका युवराजले आफ्नो ठाऊँ बनाउने प्रतिवद्धता लिए ।

‘खाना नफालौ’ अभियानका हिमायती युवराजले सित्तैमा राहत बाँड्ने अभियानको विरोध गरे । महानगरतिर राहतको रकम हिनामिना हुँदा उनले राहत रकमलाई सदुपयोग गरे । वास्तवमा मागी खाने भन्दा गरिखाने परिपाटी बसाल्न चाहन्छन् र भन्छन्, ‘खाना नपाए काम गर पैसा र अनाज लैजाऊ ।’ सम्वादकै क्रममा गण्डकी प्रदेश मुख्यमन्त्रीको कार्यालयबाट फोन आयो र फोन उठाउँदै उनले भने, ‘हाम्रो गाउँपालिकालाई राहत आवश्यक छैन् भैगो थप पैसा नपठाउनुहोस् ।’

गाउँपालिकावासीलाई राहत आवश्यक छैन र ? भन्ने प्रश्नमा युवराज भन्छन्, ‘चैत्र १० गतेसम्म सबैले काम गरिरहेका थिए, भोलिपल्टबाट लकडाउन घोषणा भयो । सित्तैमा राहत नबाड्ने भन्ने सवाल हो, राहतलाई श्रमसँग जोड्न खोजेका हौं ।’ गाउँपालिकाका वडा नं. ७, ८, ९, १० र ११ दुई हजार मिटर उचाईमा छन्, त्यहाँको उत्पादनले नपुग्ने भएकाले बेसाहा खानुपर्ने हो । सर्वदलीय बैठक राखेर राहत बाँडिहाल्नु पर्ने अवस्था नरहेको ठहर गरेर उनले राहतलाई श्रमसँग जोडेका हुन् ।

पहिलो चरणमा आएको ५ लाख उनले नगद बाँडेनन् । गाउँपालिकाले १० लाख थपेर खाद्यसंस्थानबाट ३० किलोको १ हजार बोरा चामल १३ सय १० का दरले छुटमा किनेर गर्जो टार्नेलाई दिए । जसको बजार भाऊ प्रतिबोरा २ हजारभन्दा बढी थियो ।

अन्नपूर्ण गाउँपालिकाका किसानलाई उनले गत वर्ष नै उत्पादनमा लाग्न प्रेरित गरे । हरेक वडामा कोदो सङ्कलनका लागि ५० हजारदेखि १ लाखसम्म गाउँपालिकाले पेश्की दियो । सुर्का र बारीमा कोदो रोप्ने अभियान थालनी गरे । अहिले पनि प्रत्येकका घरमा ४/५ मुरी कोदो मौज्दात छ । मुरीको ४ हजार पर्ने कोदो अहिले गाउँपलिकासँग ५ सय मुरीभन्दा बढी छ ।

युवराजले कोदो उत्पादन गर्न मात्रै होइन त्यसको भण्डारणमा पनि जोड दिए र धेरै कोदो फलाउन किसानलाई पुरस्कृत गर्ने संस्कारको पनि विकास गरे । उत्कृष्ट कृषकलाई ५ हजार, ३ हजार र २ हजारका दरले पुरस्कार दिएर हौस्याए । गाउँका एक किसानले ३५ मुरी कोदो उत्पादन गरेर भण्डारण गरेका छन् । कोदोको महिमामा जोड दिँदै युवराज भन्छन्, ‘कोदो सुपर फुड हो, १ सय वर्षसम्म पनि यो कुहिदैन् र किराले पनि खाँदैन्, भातमा भन्दा बढी शक्ति कोदोमा छ । ’ कोदो किनवेचको पैसा बाहिर गएको छैन्, प्रत्यक्ष किसान समक्ष पुगेको उनको दावी छ ।

लकडाउनका बेला शैक्षिक संस्था बन्द हुँदा उनले शिक्षकहरूलाई प्रत्येक वडाबाट वैदेशिक रोजगारमा जानेको तथ्याङ्क उर्तान लगाए । प्रतिवेदन देखाउँदै १८ सय युवा रोजगारका लागि मुलुकबाहिर रहेको जानकारी दिए । भोलि विदेशबाट फर्किनेलाई स्वास्थ्य परीक्षण र कामको योजना उनले बनाइसकेका छन् ।

गाउँपालिकाले आफ्नै नर्सरीमा तयार गरेको ५० हजार कागतीका विरुवा, दालचिनी र आँखे टिम्मुरका १ हजार विरुवा किसानलाई दिन राखेको बताए । त्यसकालागि उनले कार्यकक्षबाट हामीलाई नर्सरीमा पुराए । राहतमा उनी प्रष्ट छन्, युवराज भन्छन्, ‘राहत त प्रकोपले अस्तव्यस्त हुँदा दिने हो, गाउँमा हार्दिकता छ , ऐंचोपैचो चल्छ, सहरको जस्तो भोकमरी छैन्, यो त कृत्रिम भातमरी हो । ’

Mon-May-2020, 07:55 am मा प्रकाशित, 183 जनाले हेर्नुभयो

Leave a Reply