नेपालमा जेठ ६ गतेबाट यस्तो लकडाउन परिबर्तन गर्ने तयारीमा

- नेपाली सन्देश

कोभिड—१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरिय समन्वय समितिले लकडाउनको मोडालिटी परिवर्तन गर्ने तयारी गरेको छ । स्वास्थ्य क्षेत्रका विज्ञहरुसँग आज गरेको छलफलपछि समितिले जोखिम क्षेत्र छुट्याएर लकडाउनको मोडालिटी परिवर्तन गर्नेगरी मन्त्रिपरिषद्लाई सिफारिस गर्ने तयारी गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण विडारीले बताए। लकडाउनको समिक्षा गर्दै समितिले उच्च जो खिममा रहेका क्षेत्र, मध्यम जोखिममा रहेका क्षेत्र र न्यून जोखिममा रहेका क्षेत्रको पहिचान गरी मोडालिटी परिवर्तन गर्ने तयारी गरेको बिडारीले पत्रकारहरुलाई बताए।

त्यसैगरी समितिले अध्ययन वा अन्य कामको सिलसिलामा जापान र हङकङमा बस्दै आएका तर लकडाउनका कारण नेपालमै रहेका नागरिकलाई चार्टर्ड उडानमार्फत् पठाउने निर्णय पनि गरेको छ । सचिव विडारीले जापान जानबाट रोकिएका ६०० र हङकङको आइडीप्राप्त नागरिकलाई स्वास्थ्य परीक्षण, अध्यागमन प्रकृया पुरा गरी पठाउने निर्णय भएको बताए।

समितिले आजै स्वास्थ्यक्षेत्रका विज्ञहरुसँग छलफल गरेको थियो। अहिलेको अवस्था र लक डाउनको मोडालिटी परिवर्तन गरी कसरी जनजीवन सहज बनाउन सकिन्छ भन्ने विषयमा गरिएको छलफलमा विज्ञहरुले परीक्षण, कन्ट्याक्ट ट्रेसिङको दायरा बढाउनुपर्ने, क्वारेन्टाइनको व्यवस्थापन राम्रोसँग गर्नुपर्ने सुझाव दिएका छन् ।आत्तिनुपर्ने अवस्था नभएपनि सचेत हुनुपर्ने, विदेशबाट आउनेहरुको सवालमा सम्बन्धित स्थानीय तहहरुमा क्वारेन्टाइनको उचित व्यवस्थान गर्नुपर्ने सुझाव दिइएको नेपाल चिकित्सक संघका अध्यक्ष लोचन कार्कीले बताए।

सरकारले लकडाउन जेठ ५ गतेपछि पनि थप गर्ने तयारी गरेको छ । कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिमा रहेका एक मन्त्रीकाअनुसार संक्रमितको संख्या बढ्दै गएकाले लकडाउनलाई कायमै राख्ने सम्भावना छ । यसबारे सम्भवत भोलि समितिमा थप छलफल हुनेछ र मन्त्रिपरिषदमा प्रस्ताव जानेछ ।

समितिले शुक्रबार कोरोना भाइरस संक्रमणको सम्भावित जोखिम र लकडाउन कसरी व्यवस्थित बनाउने भनेर जनस्वास्थ्य विज्ञ लगायतसँग छलफल गरेको थियो । ‘संक्रमितको संख्या बढ्यो भनेर आत्तिनु हुँदैन । भएर नभेटिनुभन्दा भेटिएको राम्रो हो भन्ने विज्ञहरुको सुझाव रह्यो’ एक मन्त्री भन्छन् ।

लकडाउन सुरु गर्नुअघिको तुलनामा सरकारको तयारी राम्रो रहेको तर यो पर्याप्त नभएको विज्ञहरुले बताएका छन् । उनीहरुले फ्रान्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मीको सुरक्षामा बढी जोड दिएका छन् ।डाक्टर, नर्सहरुलाई क्वारेन्टाइनमा राख्नुस् । एउटा टोली काममा हुँदा दुई वटा ब्याकअपमा राख्नुस् । कम्युनिकेसन राम्रो होस् भन्ने सुझाव पनि आएका छन्’ एक मन्त्रीले भने ।

Mon-May-2020, 05:47 pm मा प्रकाशित, 139 जनाले हेर्नुभयो

Leave a Reply