ब्रिटिस आर्मी र सिंगापुर पुलिसमा भर्ती खुल्यो

- नेपाली सन्देश

काठमाडौँ — ब्रिटिस आर्मी मुख्यालयले ब्रिटिस र सिंगापुर ‘रिक्रुट इन्टेक २०२१’ भर्ती खुलाएको छ । उसले कोभिड–१९ ले गर्दा गत वर्षको इन्टेकमा अन्तिम छनोटबाट बाहिरिएकालाई मात्र यो अवसर दिएको छ । ब्रिटेनको ब्रिगेड अफ् गोर्खाजका निम्ति ४ सय ३२ जना र सिंगापुर पुलिस फोर्समा १ सय २० जनाको छनोट गरिने ब्रिटिस आर्मी मुख्यालयले वेबसाइट आर्मी डट एमओडी डट युकेमा उल्लेख छ ।

ब्रिटिस आर्मी भर्ती छनोट पोखरामा भएको डोको बोकाइमा सहभागी प्रतिस्पर्धी । तस्बिर सौजन्य : द गोर्खा ब्रिगेड एसोसियसनको फेसबुकबाट

‘प्रिय सम्भावित रिक्रुटहरू, जो रिक्रुट इन्टेक २० क्षेत्रीय र केन्द्रीय छनौटमा उपस्थित भए, जनवरी २०२१ मा हुने रिक्रुट इन्टेक २१ को केन्द्रीय छनोटमा बोलाइने हरेक पी.आर. हरूलाई हामी फोन सम्पर्क गर्नेछौं,’ ब्रिटिस गोर्खा भर्ती २०२१ प्रक्रिया सम्बन्धी जारी सूचनामा छ, ‘रिक्रुट छनोट विभागका एक कर्मचारीले तपाईंलाई ३ देखि १४ अगष्ट २०२० को बीचमा तपाईंको ब्रिटिस र सिंगापुर पुलिसमा भर्ती इच्छुक निश्चित गर्न फोन सम्पर्क गर्नु हुनेछ ।’ गत वर्षको अन्तिम छनोटबाट बाहिरिएकाहरूलाई सम्पर्कमा रहन भनिएको छ ।

ब्रिटिस आर्मी मुख्यालयका कर्णेल (महासेनानी) तथा ब्रिटिस गोर्खा नेपालका कमाण्डर रिचार्ड गुडम्यानले यसअघि कोभिड–१९ महामारीको कारण प्रत्यक्ष रूपमा यस वर्षको ‘रिक्रुटिङ’ मा फेरबदल गरिएको जनाएका थिए । ‘रजिस्ट्रेसन र क्षेत्रीय छनौट सम्भव नभएका कारण यस वर्ष हामीले नयाँ आवेदकहरूको मूल्यांकन गर्न पाउने छैनौं,’ उनले भनेका थिए ।

ब्रिटिस आर्मी र सिंगापुर पुलिस फोर्समा भर्ती छनोटका निम्ति धरान र पोखरामा रजिस्ट्रेसन फारम भराएर क्षेत्रीय छनोट गरिन्थ्यो । क्षेत्रीय छनोटमा परेकाहरूलाई पोखरामा केन्द्रीय तथा अन्तिम छनोटमा प्रतिस्पर्धा गराउने गरिन्छ । कोभिड–१९ ले गर्दा यो पटक इन्टेक–२०२० केन्द्रीय छनोट स्पर्धाबाट बाहिरिएका युवालाई मात्र अवसर दिइएको छ ।

‘मलाई तयारी रहनु भनेर ब्रिटिस क्याम्पबाट फोन आइसकेको छ,’ गत वर्ष अन्तिम अन्तर्वार्ताबाट बाहिरिएका चम्पादेवी गाउँपालिका–५ ओखलढुंगाका धावा तामाङले कान्तिपुरसित भने, ‘पोहोर सायद शिक्षामा केही कमजोर भएकोले अन्तिम लिस्टमा परेको थिइनँ । यो पटक शारीरिक र शैक्षिक तयारी गर्नु भन्नु भएको छ ।’ हाल काठमाडौंमै रहेका तामाङ भर्ती हुनका निम्ति हरेक विषय थाहा भएकाले त्यसैअनुसार जुटेको जनाए । साथै, उनी भर्ती हुन जानुअघि कक्षा १२ को परीक्षा दिन पाउने आशामा समेत छन् ।

त्यसैगरी रुकुम मुसिकोट नगरपालिका–१ का कमल बोहरा गत वर्ष पोखराको अन्तिम छनोटबाट बाहिरिएका हुन् । ‘वेबसाइट हेरेर ब्रिटिस आर्मीमा भिड्न पाउने जानकारी पाएको छु,’ आफूलाई आधिकारिक ठाउँबाट कुनै जानकारी नपाएको उल्लेख गर्दै उनले भने, ‘कोभिड–१९ ले गर्दा काठमाडौंमा तालिम लिन जान पाएको छैन । घरमै बसेर तयारी गर्दैछु ।’ उनी प्रारम्भिक र क्षेत्रीय छनोटमा भिड्न नपरेकोमा खुसी लागेको बताउँछन् ।

पोखरामा हुने केन्द्रीय छनोटमा शारीरिक छनोटमा २ हजार मिटर दौड, १५ किलोको डोको बोकाइ, २० किलोको बोरा उचालेर बोक्ने, ४ किलोको मेडिसिन बल थ्रो (फ्ँयाक्ने) लगायत पर्दछन् । शैक्षिक छनोटमा अंग्रेजी भाषातर्फ सुनाइ, बोलाइ, लेखाइ, पढाइ, गणित (हिसाब), मेडिकल टेस्ट र अन्तिम अन्तर्वार्ता हुने गरेको छ ।

‘इन्टेक–२०२०’ मा प्रतिस्पर्धीमध्ये अन्तिम चरणबाट करिब २ हजार ५ सय जना बाहिरिएको अनुमान गरिएको छ । त्यसमध्ये एनआरए (नो री–एप्लाई/पुन: आवेदन दिन नपाउनेमा) परेकाले भर्ती हुन पाउने पर्ने छैनन् । ‘मेडिकल टर्म, अनुशासन, कागजात जस्ता विभिन्न कारणहरू पर्छन्,’ राजधानीको क्लास रूम एकेडेमीका प्रबन्ध निर्देशक विनोद राई भन्छन्, ‘उनीहरू अन्तिम छनोटबाटै बाहिरिएका भए पनि फेरि भिड्न पाउँदैनन् । ती कारणहरू ब्रिटिस आर्मी छनोट रेकर्डमा रहिसकेको हुन्छ ।’ गत वर्षको रेकर्डअनुसार पुन: आवेदन दिन नपाउने (एनआरए)मा परेका पूर्वबाट २ सय ४७ र पश्चिमबाट ३ सय २४ जना छन् ।

ब्रिटिस गोर्खा सैनिकको इतिहास सन् १८१५ देखि २०२० सम्म आइपुग्दा २०६ वर्ष पुगेको छ । नेपाली युवा भर्ती हुने क्रम जारी छ । बेलायतले ब्रिटिस गोर्खा सैनिक भर्ती हुनेको संख्या बढाएको छ । सन् २०१८ सम्म ३ सय २० जनाको दरले भर्ती गथ्र्यो । गत वर्षबाट ४ सय ३२ जना भर्ती लिन थालेको छ । अहिले ब्रिटिस गोर्खामा फस्ट रोयल गुर्खा रेजिमेन्ट (वानआरजीआर) र सेकेन्ड रोयल गुर्खा रेजिमेन्ट (टुआरजीआर) मात्र रहेका छन् । सन् २०२१ देखि ‘थ्री आरजीआर’ थप्ने नीति लिएपछि क्रमश: नेपालबाट भर्ती संख्या बढाउन थालेको जनाइएको छ ।source:kantipur.com

Sat-Aug-2020, 07:20 am मा प्रकाशित, 111 जनाले हेर्नुभयो

Leave a Reply